
हवाना : संयुक्त राज्य अमेरिकासँग दुवै देशको सम्बन्ध विग्रिएको अवस्थामा उत्तर कोरिया र क्युबाले द्विपक्षीय सम्बन्धका साथै पछिल्लो समयमा विकसित विविध परिस्थितिजन्य विषयमा दुई देशबीच आवश्यक छलफल गरी अघि बढ्ने बताएका छन्।
क्युबाको भ्रमणमा रहेका उत्तर कोरियाली विदेशमन्त्री रि योङ हो र क्युबाली विदेशमन्त्रीको भेटवार्तापछि जारी भएको संयुक्त विज्ञप्तिमा यी दुई देशले आपसमा मिलेर अघि बढ्ने सहमति जनाएका बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले उत्तर कोरियाका विरुद्धमा आर्थिक नाकाबन्दी लगाएको छ। यतिमात्र नभएर उत्तर कोरियाका विरुद्धमा अमेरिकाले सेना पनि परिचालन गर्नसक्ने बताउँदै आएको छ।
उता क्युबासँग पनि पछिल्लो समयमा अमेरिकाको सम्बन्ध बिग्रिएको छ । क्युबासँगको सम्बन्धका कारण अमेरिकाले गत महिनामात्र क्युबामा रहेको अमेरिकी दूतावासबाट आफ्ना आधा कर्मचारी फिर्ता बोलाएको छ।
यस्तो अवस्थामा यी दुवै देशले एक भएर अघि बढ्ने सहमति गरेका हुन् । उनीहरुले कुनै पनि समस्याको समाधानका लागि दुई देशले आपसमा समन्वय गरेर आपसी सहयोगका साथ अघि बढ्ने बताएका हुन्।
सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै क्युबा र उत्तर कोरियाले भने असल कूटनीतिक सम्बन्ध कायम गर्दै आएका जनाइएको छ।
उत्तर कोरियाले पछिल्लो समयमा आणविक क्षेप्यास्त्र परीक्षण गरिरहेका कारण त्यसको विरोध गरिरहेको अमेरिकाका विरुद्धमा उत्तर कोरिया झन् कडा रुपमा प्रस्तुत हुने गरेको छ। यसकारण यी दुई देशको सम्बन्ध अहिले राम्रो छैन।
त्यसैगरी क्युबासँग अमेरिकाको झण्डै आधा शताब्दी लामो समयदेखि सम्बन्ध बिग्रिएको थियो। त्यस सम्बन्धमा अमेरिकाका निवर्तमान राष्ट्रपति बाराक ओबामाको प्रयासले सम्बन्ध पुनःस्थापना गरिएको थियो। तर ट्रम्प प्रशासन आएपछि भने त्यसले निरन्तरता पाउन सकेन। रासस/सिन्ह्वा