काठमाडौं: फिल्म 'सेतो सूर्य'को फेरि नेपाल प्रदर्शन हुने भएको छ। अस्करको विदेशी भाषातर्फ उत्कृष्ट फिल्मको लागि प्रतिस्पर्धा गरिरहेको फिल्म काठमाडौंका मल्टिप्लेक्सहरुमा देखाइने भएको हो।
फिल्मका निर्देशक दीपक रौनियारले ट्विट गर्दै फिल्मको पुन: रिलिज बारे जानकारी दिएका हुन्। फिल्म डिसेम्बर ८ अर्थात मङ्सिर २२ गते देखाइने जनाइएको छ। अस्कर नजिकिंदै गर्दा दीपक रौनियार लगायत फिल्म युनिटले नेपाल साथै विदेशमा पनि प्रचार प्रसार तिब्र पारेको छ। निर्देशक हाल काठमाडौंमा छन्। सेतो सूर्य ७० भन्दा बढी फिल्म महोत्सवहरुमा प्रदर्शन भैसकेको छ।
सन् २०१६ मा प्रदर्शन भएको सेतो सूर्यलाई दीपक रौनियारले लेखन तथा निर्देशन गरेका हुन्। सोसियो पोलिटिकल ड्राममा दयाहाङ राई, रबिन्द्र सिंह बानियाँ, आशा मगराती, अमृत परियार, सुमी मल्ल लगायतको अभिनय रहेको छ।Very happy to share – a year after it's original release,White Sun will be returning to theaters in Kathmandu from Dec 8. @QFXCinemas pic.twitter.com/jMOj4E9Ciy
— Deepak Rauniyar (@deerauniyar) November 22, 2017
८८ मिनेट लामो फिल्म सेतो सूर्यले फ्रिवर्ग फिल्म अवार्डमा मात्र ४ विधामा अवार्ड हात पारेको थियो। यस्तै पाल्म स्प्रिङ फिल्म महोत्सवमा ग्रान्ड जुरी अवार्ड, भेनिस फिल्म फेस्टिभलमा इन्टरफिल्म र बेस्ट गरी दुई अवार्ड र सिंगापूर फिल्म फेस्टिभलमा बेस्ट एसियन फिल्म अवार्ड हात पारेको थियो।
सेतो सूर्यको सहभागिता रहने ९०औं संस्करणको अस्कर २०१७ को ११ सेप्टेम्बरमा सुरु भएर सन् २०१८ को ४ मार्चमा सक्किनेछ। अन्तिम कार्यक्रम क्यालिफोर्नियामा हुनेछ।