PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

मधेशी दलले नै लत्याए ‘मधेशवाद’



बीपी साह

मधेशी दलले नै लत्याए ‘मधेशवाद’

काठमाडौं : आफूलाई मधेशवादी दलको रुपमा परिचित गराउँदै आएका मधेश केन्द्रित दलहरुले नै ‘मधेशवाद’लाई लत्याएका छन्। मधेश केन्द्रित दुई दल संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले नै ‘मधेशवाद’ चर्चासमेत गर्न छाडेका हुन्।

२०४७ सालमा स्थापना भएको नेपाल सद्भावना पार्टीले मधेशवादलाई बहसका रुपमा अगाडि बढाएको भए पनि पहिलो मधेश आन्दोलनबाट उक्त 'वाद' स्थापित भएको थियो। 

उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम नेपालले संघीय समाजवादी पार्टीसँग एकीकरण गरेपछि मधेशवादका विषयलाई गौण मान्यो। पछिल्लो समय प्रतिनिधि सभा र प्रदेश सभा प्रयोजनका लागि फोरमले सार्वजनिक गरेको घोषणापत्रमा ‘मधेशवाद’ शब्दको समेत चर्चा गरिएको छैन।

त्यस्तै, सोही प्रायोजनका लागि राजपाले जारी गरेको घोषणापत्रमा समेत मधेशवादको चर्चा गरिएको छैन। राजपाको ५६ पृष्ठ लामो घोषणापत्रमा पार्टीको वैचारिक एवम् राजनीतिक आधारहरुको चर्चा गरिएको छ। यसमा विभिन्न विषयहरु उठाइएको छ तर ‘मधेशवाद’ शब्द भने गुमानाम छ। यतिसम्म कि सैद्धान्तिक रुपमा मधेशवादको चर्चा समेत गरिएको छैन। 

राजपाका अध्यक्ष मण्डलका अधिकांश नेताहरुले मधेशवादको बहस गर्दै आएका छन्। वादका लागि आवश्यक सम्पूर्ण कुराहरु मधेशमा रहेको भन्दै ‘मधेशवाद’ रहेको दाबी तत्कालीन सद्भावना पार्टीका अध्यक्ष एवं हाल राजपाका नेता राजेन्द्र महतोले गर्दै आएका थिए। 

राजपा संयोजक महन्थ ठाकुरले पनि मधेशवादको चर्चा गर्दै आएका हुन् तर घोषणापत्रको श्रेय ठाकुरले लिए पनि घोषणापत्रमा मधेशवादको चर्चा छैन। 

राजपाका महासचिव केशव झाले पहिलोपोस्टसँग भने, ‘हाम्रो पार्टीको आधार स्तम्भ नै मधेशवाद हो तर केही प्राविधिक कारणवस मधेशवादको व्याख्या–चर्चा हुन सकेको छैन।’

घोषणापत्र शीर्ष नेतृत्वको तहबाट निर्माण भएकाले मधेशवादको विषय छुटेको हुन सक्ने भन्दै झा पन्छिन खोजे।

राष्ट्रिय जनता पार्टीको घोषणा कार्यक्रममा प्रयोग भएका दस्तावेजमा पनि मधेशवादको चर्चा गरिएको थिएन। अहिले पार्टीको दस्तावेजहरु पनि मधेशवाद विहीन रहेको छ।

कतिपय स्थानमा राजपाका उम्मेदवारहरुले ‘मधेशवाद’को चर्चा आफ्नो अपीलमा गरेका छन्। तर, उनीहरुले पनि मधेशवादको ब्याख्या गरेका छैनन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell