PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्ः प्रचण्ड



पहिलोपोस्ट

देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्ः प्रचण्ड

काठमाडौँ :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका सबै छोराछोरी नै आफ्ना लागि छोराछोरीसरह भएको बताएका छन्। 

आज आफ्नै निवास लाजिम्पाटमा आयोजना गरिएको स्व प्रकाश दाहालको श्रद्धाञ्जलीसभामा प्रचण्डले देशका सबै युवा–युवती हाम्रा छोरा प्रकाश जस्तै रहेको र तिनको समुन्नत भविष्यका लागि हामीले अझ धेरै मेहनत गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेको बताए। 

प्रचण्डको लिखित मन्तव्यमा भनिएको छ, ‘प्रकाशको मृत्युपछि नेविसंघ, अनेरास्ववियू र अखिल (क्रान्तिकारी) सँगै युवा संगठनले पनि म र मेरो परिवारलाई संयुक्त सान्त्वना दिए र ‘हामी सबै तपाईंका छोराछोरी हौँ’ भनेर हाम्रो आत्मबल बढाए। प्रकाश अब छैनन्। तर, देशका हरेक युवा–युवतीमा हामीले प्रकाशलाई देखेका छौं।’ 

आफ्नो पारिवारिक शोकमा आमरुपमा प्राप्त भएको ऐक्यवद्धता हाम्रा लागि धेरै महत्वपूर्ण रहेको भन्दै उनले पीडामा साथ दिनेले खुशीमा साथ दिनुभन्दा धेरै महत्व राख्ने उल्लेख गरे। 

प्रचण्डले भनेका छन्,‘ तपाईँहरुको साथले हामीलाई एकमात्र पुत्रको वियोगको पीडा सहन र पीडासँग लड्न धेरै शक्ति मिलेको छ।’ 
शोकको यो घडीमा आफूले देशबाट मात्रै होइन विश्वभरिबाटै समवेदना र सान्त्वना पाएको, नेपालका सबै राजनीतिक दल र तिनको नेतृत्वले हामीलाई दिएको समवेदना र ढाडसप्रति ऋणी रहेको अध्यक्ष प्रचण्डको भनाइ छ । 

अध्यक्ष प्रचण्डको मन्तव्यमा भनिएको छ ‘ छिमेकी देश चीन र भारतबाट म र मेरो परिवारले निकै छिटो प्रेमपूर्ण समवेदना पायो। युरोप, अमेरिका, अष्ट्रेलिया, अफ्रिका र एसियाका विभिन्न देश अनि संसारभरिका थुप्रै कम्युनिष्ट पार्टीले यो शोकमा हाम्रो परिवारप्रति ऐक्यवद्धता र सहानुभूति देखाए। पेशागत, व्यावसायिक र सामाजिक संघसंस्थाले यो शोकमा हामीलाई सान्त्वना दिए। मंसिर ३ गते नर्भिक अस्पतालदेखि पेरिसडाँडा र आर्यघाटसम्म स्वतःस्फूर्त रुपमा उर्लिएको जनसागरलाई मैले प्रकाशले छोटो उमेरमा कमाएको प्रतिष्ठाको प्रमाण मानेको छु। ’ 
मंसिर ३ गते राति आकस्मिक हृदयघातबाट अध्यक्ष प्रचण्डका ३६ वर्षका छोरा प्रकाशको निधन भएको थियो। 

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, उद्योगी, व्यवसायी, पत्रकार, यहाँस्थित कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो। सहभागीले अध्यक्ष प्रचण्ड र उनको परिवारलाई समवेदना व्यक्त गरेका थिए। 





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell