रामचन्द्र पौडेलको चुनावी कार्यक्रममा सम्बोधन गर्दै थिए कांग्रेसका पूर्व सांसद अमरराज कैनी। कार्यक्रम थियो तनहुँकै डुम्रेमा। कैनीले पौडेलको पक्षमा भोटमात्र मागेनन्। छिमेकी जिल्ला गोरखामा उम्मेदवार रहेका डाक्टर बाबुराम भट्टराई किन चुनावमा जित्नुपर्छ भन्न पनि भ्याए। डुम्रे बजारमा कांग्रेसको एकल प्रचारमा देखिएको यो दृश्य गोरखामा उम्मेदवार बनेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको चुनावी छालको धिमा गति थियो – इपिसेन्टर त स्वभाविक रुपमा गोरखा नै हुने भयो।
राजधानीबाट १ सय ५ किलोमिटर एरियल डिस्टेन्समा छ यो इपिसेन्टर। यो दुरी हेलिकप्टरबाटै पार गरेर नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाबुरामविरुद्ध कडा भाषण दिन पुगे। चुनावी ज्वारभाटा कति चुलिएको थियो यसैबाट अनुमान गर्न कठिन छैन। शाह वंशको नेपाल एकीकरणको केन्द्रसँगै जनयुद्धको आधारभूमि र यतिखेर बाबुराम भट्टराई र नारायणकाजीको भिडन्तका कारण गोरखा सिनभन्दा बाहिर छैन। सबैको ध्यान खिच्न सफल गोरखामा जति चुनावी मेहनत सायदै कुनै जिल्लामा छ।
पहिलोपोस्ट टीम गोरखा पुग्दा नारायणकाजी उपल्लो बेल्टतिर चुनावी प्रचारमा थिए भने बाबुराम सदरमुकाम झरेका। यहाँको चुनावको रोचक पक्ष के थियो भने कांग्रेसका नेताहरु सबैभन्दा पहिले भाषणमा उत्रिएका देखिन्थे – बाबुरामको आवश्यकतामाथि चर्चा गर्न।
वाम गठबन्धनबाट गलहत्याइएका बाबुरामका सहयोगीहरु धेरै कांग्रेसी नै देखिए। बाबुरामको घरमा कालो झन्डा राख्ने अथवा नारायणकाजीविरुद्ध 'कुप्रचार' दुवै सक्रिय रहेको गोरखा कुनै पनि समय भूकम्पकै जस्तो भिडन्तको इपिसेन्टर बन्न सक्ने स्थिति देखिन्थ्यो। चुनावी संग्राम बाहुबलीको संग्राममा रुपान्तरण भयो भने को बलियो ?
बलियो को बाबुराम कि नारायणकाजी?
स्वस्थ चुनावी प्रतिस्पर्धाकै बीच पनि कार्यकर्ताबीच झडपका सम्भावना सधैँ ज्यूँदो रहन्छ। 'बाबुरामसँग हिँड्नेहरु यहीँ गोरखाका छन्- कान्ला कान्ला चिनेका,' एक स्थानीयले हामीलाई सुनाए, 'नारायणकाजीले मकवानपुरबाट ल्याएका छन्।'नारायणकाजी यसअघि मकवानपुरबाट चुनावी मैदानमा उत्रिएका थिए भने भट्टराई अहिलेसम्मका सबै चुनावमा गोरखाबाट।
चुनावी प्रतिस्पर्धाका बाबजुद दुवै नेता एकसाथ देखिए – प्रचण्डका छोरा प्रकाशलाई श्रद्धाञ्जलि दिन। चुनावी कठघरामा क्रुर भएर उत्रिएका बाबुराम र प्रचण्डले समवेदना प्रकट गरे, अंकमाल गरे – सँगै रोए पनि। 'मृत्यु' सत्यबोध पनि गरे। तर, यो सत्यबोध प्रतिस्पर्धाको मैदानमा सायदै हुनेछ।
चुनावी अभियानमा देखिएको एउटा सुखद पक्ष यही थियो – बाबुराम तलतिर हुँदा नारायणकाजी माथितिर र नारायणकाजी तलतिर हुँदा बाबुराम माथितिरको प्रचारमा। कार्यकर्ताको सक्रियता पनि त्यसैअनुरुप। स्थानीय चाहन्छन् – प्रचारका क्रममा दुईबीच जम्काभेट नहोस्।
दुवैलाई फलामको च्यूरा
पार्टीका हिसाबले बलिया उम्मेदवार नारायणकाजी नै हुन्। माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ता श्रेष्ठलाई विजयी गराउन सकेको बल खर्चेर भिडेका छन्। श्रेष्ठ आफू पनि सकेसम्म धेरै घर पुग्ने र बढी मतदातासँग प्रतिवद्धता जनाउन सक्रिय छन्।गर या मरको अवस्थामा रहेका बाबुरामसँग पनि चुनावमा जितको विकल्प छैन। दैनिक १८ घन्टा खटिएका छन् उनी। उनलाई पनि नेपाली कांग्रेसका नेता कार्यकर्ताले बलियो साथ दिइरहेका छन्। हरेक भाषणमा बाबुराम भट्टराईको आवश्यकतामाथि कांग्रेसीले प्रवचन दिँदै आएका छन्। छिमेकी जिल्ला र गोरखासँग जोडिएका बजारमा समेत कांग्रेसका कार्यकर्ताले बाबुरामका पक्षमा अभिमत दिँदा उनलाई गतिलै ढाडस मिलेको छ। बाबुरामका लागि बाहुबली कार्यकर्ता कांग्रेसले पनि जुटाएकै छ।
व्यक्ति कि पार्टी?
गोरखाको चुनावी मैदानमा यतिखेर व्यक्ति या पार्टी भन्ने बहस तीब्र छ। बाबुराम एक्लैले जितेर केही गर्न नसक्ने एकाथरीको तर्क छ भने अर्काथरी बाबुरामले जति नारायणकाजीले गोरखाका लागि नगरेको तर्क। दुवै पक्षका नेता/कार्यकर्ता आक्षेपको बाढी लगाउन उद्दत छन्।बाबुरामको विरोधमा वाम बुद्धिजीवीहरुले संयुक्त विज्ञप्ति नै निकाले। तर बाबुरामको पार्टीको नाम नयाँ शक्ति हुनुपर्नेमा जनशक्ति भएकोले विज्ञप्तिकै बिल्ला भयो। बाबुराम पनि कम भएनन्, उनले पनि आफ्ना प्रतिस्पर्धीलाई 'वडाध्यक्ष हुन लायक' भन्दै टिप्पणी गरे। पहिलोपोस्टसितको कुराकानीमा बाबुरामले नारायणकाजीलाई बलीको बोको बनाइएको बताए।
जनमत दुवैतिर बाँडिएको छ। व्यक्तिका रुपमा बाबुरामको उचाईलाई नारायणकाजीले भेट्न सक्ने अवस्था छैन। जनतासँगको घुलमिलमा बाबुराम अब्बल देखिएका छन्। भाषणकलामा पनि बाबुरामको मुकावला नारायणकाजीले गर्न सक्दैनन्। तर, चुनाव प्रचारका दृश्यले जति देखाउँछ त्यतिलेमात्र चुनावमा प्रभाव पार्दैन। अदृश्य घटनाक्रममा जसले बढी शक्ति लगाउँछ चुनावी नतिजा उसकै पोल्टामा जाने निश्चित छ।