
काठमाडौं : आइसीसी वुमन्स टी-२० वर्ल्डकप एसिया क्वालिफायरको तेस्रो खेलमा नेपाल युएईसँग ५ रनले पराजित भएको छ। यसअघि दुई खेलमा अंक बाँडेको नेपाल युएईसँग हारेपछि छनोट यात्रा कठिन बनेको छ।
८० रनको सामान्य लक्ष्य नेपालले पूरा २० ओभर खेलेर समेत भेट्टाउन सकेन। नेपाली टोलीले २० ओभरमा ९ विकेट गुमाएर ७४ रन मात्र बनाउन सकेपछि झिनो रन अन्तरको हार बेहोरेको हो।
हारपछि ६ टोली सम्मिलित क्वालिफायरमा नेपाल पाँचौ स्थानमा छ भने ग्लोबल क्वालिफायरमा पुग्ने सम्भावना कठिन बनेको छ।
नेपालका लागि रितु कनौजियाले २२ तथा ज्योती पाण्डेले १२ रन बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। नेपाललाई जितबाट रोक्न यूएर्इकी निशा अलि र हुमारिया तसनिमले २ विकेट लिइन्।
त्यसअघि युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७९ बनाको थियो। युएईका लागि नतासा चरियथले २३, इशा रोहितले २२ र निशा अलिले १७ रन बनाएका थिए। नेपालका लागि कप्तान रुविना क्षेत्रीले ३, रितु कनौजियाले २ र नेरी थापाले १ विकेट लिए।
यसअघिका दुर्इ खेल वर्षाले प्रभावित भएपछि नेपालले आयोजक थाइल्याण्ड र हङकङसँग अंक बाँडेको थियो।
हारपछि नेपालको दुई अंक मात्र छ। थाइल्याण्डमा भइरहेको एसियन जोन क्वालिफायरको शीर्ष दुई स्थानमा रहने टोली अर्को वर्ष जुनमा नेदरल्याण्ड्समा हुने ग्लोबल क्वालिफायरमा छनोट हुनेछ।
समान ५ अंक रहेको थाइल्याण्ड र हङकङ क्रमश: पहिलो र दोस्रो स्थानमा छ। नेपाललाई हराएपछि ४ अंक जोडेको युएई तेस्रो स्थानमा छ भने २ अंक रहेपनि नेपाल भन्दा राम्रो रनरेट रहेको मलेसिया पाँचौ स्थानमा छ।
नेपालले चौथो खेलमा शुक्रबार मलेसियासँग र अन्तिम खेल चीनसँग आइतबार खेल्नेछ।