पशुपति शम्शेर राणा यतिखेर सिन्धुपाल्चोक क्षेत्र नम्बर दुईबाट चुनावी मैदानमा छन्। पछिल्ला दुई निर्वाचनमा लगातार पराजय भोगेका उनी यसपाला नेपाली कांग्रेससँगको गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा छन्। उनलाई दुई पटक हराइसकेका नेकपा एमालेका शेरबहादुर तामाङ जितमा ह्याट्रिक बनाउने लक्ष्यका साथ सक्रिय छन् भने राणा त्यसलाई रोकेर आफ्नो गुमेको वर्चश्व पुनर्स्थापित गर्ने उद्देश्यका साथ जुटेका छन्। चुनावी अभियानमा रहेका राणासँग पहिलोपोस्टले उनलाई सोध्यो : के यो तपाईँको अन्तिम चुनाव हो?
कुराकानीको अंश :
चुनावी अभियान कसरी अगाडि बढाइरहनुभएको छ?
एकदम राम्ररी बढेको छ। हाम्रो पक्षमा एकदमै राम्रो माहोल बनेको छ।
सिन्धुपाल्चोकबाटै पछिल्ला दुई चुनावमा पराजय भोगिसक्नुभयो। जितका लागि यसपाला अतिरिक्त मेहनत के गर्नुभएको छ त?
दुई तीनवटा फ्याक्टर छ। साविक ३ नम्बरमा म हरेपछि ठोस विकास केही पनि हुन सकेन। त्यसैले ठोस विकासका लागि पशुपति शम्मेशरलाई नै ल्याउनुपर्ने भन्ने जनतामा स्थापित भएको छ। त्यसपछि साविक २ नम्बरमा त २०४६ सालदेखि देखि नै पशुपति शम्शेरलाई प्रतिनिधित्व गराउनका लागि यता ल्याउनुपर्छ भन्दै आएका हुन् मानिसहरुले। त्यसैले यसपालाको निर्वाचनमा व्यापक लहर आएको छ।
चुनाव जित्न तपाईँको रणनीति चाहिँ के छ त?
त्यत्रो ठूलो के गर्नुपर्ने छ र? आफ्नो मत मजवुद राख्ने र अरुबाट चुहिने सक्ने मतलाई अधिकतम लिने नै रणनीति हो। तीन क्षेत्रबाट दुई वटा निर्वाचन क्षेत्रमा समेटिँदा साविक २ नम्बरको धेरै भाग थपिएको छ। त्यहाँ पहिलेदेखि नै धेरै एमाले र माओवादीका मानिसहरु पनि विकासका लागि पशुपति शम्शेर नै चाहिन्छ भन्नेमा छन्। त्यसैले आफ्नो भोटलाई टाइट गर्ने र अरुको भोट तान्ने रणनीति लिएका छौं।
पछिल्ला दुई निर्वाचनले तपाईँलाई निरासमात्र बनायो। तपाईँविरुद्ध चुनावी अभियानमा जुट्ने नेपाली कांग्रेस अहिले जोडिएको छ। त्यसले आशा गर्ने ठाउँ बनाएको हो?
कांग्रेससँग गठबन्धन बन्नु एकदम राम्रो हो। यसले पक्कै पनि चुनावी अभियानलाई बलियो बनाएको छ। तर मैले जित्नुपर्छ भन्ने भावना विशुद्ध मसँग सरोकार राख्ने र मपछि प्रतिनिधित्व गर्नेले काम गर्न नसक्दा भएको हो। उनीहरुले काम गर्न सकेको भए मेरो पक्षमा यति धेरै समर्थन आउँदैन थियो होला।
राष्ट्रिय रुपमा पार्टी फूटले ठूलो असर परेको छ। अर्कोतिर दुई वटा चुनाव चिन्ह हलो यही छ। यसले पनि तपाईँलाई असर पार्छ त?
हो। त्यही कुरालाई लिएर व्यापक मात्रामा घर घरमा टिचिङ गर्नुपर्ने अवस्था आएको छ। दुईवटा मध्ये माथिल्लोमात्र हाम्रो हो भनेर हरेक घरमा बुझाउनुपर्ने अवस्था छ। त्यतिसँगै हामीले परम्परागत प्रचारमा मात्र भर परेको छैनौं। प्रिन्ट मिडियाबाट रेडियो र टेलिभिजन तथा सोसल मिडियाबाट पनि प्रचार गरिरहेका छौं।
स्थानीय निकायको परिणाम र वाम गठबन्धन पक्कै पनि तपाईँका लागि अघिल्ला निर्वाचनमा भन्दा बढी टाउको दुखाइको विषय होला होइन?
स्थानीय निकायको मत हेर्दा वाम गठबन्धन ७/८ हजारले बढी नै छ। त्यो फरक कन्टेस्टको कुरा हो। विभिन्न फ्याक्टरले काम गरेको थियो स्थानीय तहको अवस्थामा। हाम्रै मत कयौं ठाउँमा बिग्रेको हो। तर, म नै उठेपछि भोट सबै यता आउँछ। त्यसपछि न्युट्रल मत जति छन् ती हाम्रो पक्षमा छन्। विभिन्न कारणले मत बढेको छ। साविक २ नम्बर क्षेत्रबाट पनि हामीलाई राम्रो मत आउने पक्का छ।
तपाईँको यो अन्तिम चुनावी प्रतिस्पर्धा पनि भनिन्छ त?
कसले भन्यो?(हाँस्दै) हुँदै होइन।
परिणाम जे जस्तो भए पनि यहाँ तपाईँको राजनीतिक सक्रियता कायम रहन्छ?
विल्सिन चर्चिललाई नै हेर्नुस् न। ८० वर्ष नाघ्दा पनि चुनावमा लागिरहे। म त के तगडा नै छु त। स्वस्थ छ। भाग्यको कुरा के छ भने हिँड्नेमा म अहिले पनि कम छैन। म फिट छु। कुनै रोगले सताएको छैन। राजनीतिबाट किन भाग्नु?
राजनीतिक थकाइ लागेको छैन त्यसो भए?
थकाइ पटक्कै लागेको छैन। सकुन्जेल म सक्रिय राजनीतिमै रहन्छु।
पहिलेभन्दा कठिन चुनावी भिडन्तमा हुनुहुन्छ, जित्ने आशा छ त्यसो भए?
निश्चिन्त हुनुस्।