
- नेत्र तामाङ/चन्द्रबहादुर आले
रसुवा: रसुवामा वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका एमाले नेता एवं पूर्व सांसद् जनार्दन ढकाल बिहीबार ८ बजे बेत्रावती बजारबाट चुनावी र्याली सकेर १० बजे कालिकास्थानमा कोणसभा गर्ने तयारीमा थिए। त्योसँगै दिउँसो ३ बजे राम्चे पुगेर चुनावी सभा राख्ने तय भएको थियो।
तर, स्थानीय प्रशासनले राम्चेलाई सभा तथा जुलुस निषेधित क्षेत्र घोषित गरिदियो। त्यसपछि कार्यक्रम नै रद्द भएको एमाले नेता एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका ढकालले बताए।
‘आज अन्तिम चुनावी सभा राखिएको थियो, तर प्रशासनले हामीलाई आमसभा नै राख्न दिएन्,’ ढकालले भने।
बिहानबाट जम्मा भएका कार्यकर्ता दिउँसो कालिकास्थानबाटै आ-आफ्नो घर फर्के।
यता लोकतान्त्रिक गठबन्धनले पनि राम्चेमै दिउँसो १२ बजे सभा राख्ने कार्यक्रम तय गरेको थियो। एमालेले सोही स्थानमा कार्यक्रम राख्ने भएपछि प्रशासनले कार्यक्रम गर्न रोक लगाएको लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार रहेका कांग्रेस नेता मोहन आचार्यले बताए।
आचार्यले भने, ‘हामीले कार्यक्रम तय गरिसकेको ठाउँमा एमालेले पनि कार्यक्रम राख्ने भएपछि प्रशासनले सभा गर्न रोक लगायो। हामीले कार्यक्रम नै राख्न पाएनौँ।’
तर, आचार्य सुटुक्क राम्चेसम्म पुगेर फर्के।
आचार्य राम्चे पुगेको खबर एमाले उम्मेदवार ढकाललाई आइपुग्यो। उनले प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेलाई फोन गर्दै सोधे, ‘कांग्रेसले त कार्यक्रम गर्न लागेको छ रे नि राम्चेमा, कांग्रेसलाई मात्र कार्यक्रम गर्न दिएर सिन्डिकेट नगर्नुहोला।’
उताबाट जवाफ आयो, ‘त्यस्तो हुँदैन। कुनै पनि कार्यक्रम हुँदैन।’
काठमाडौंबाट उक्त कार्यक्रमबारे समाचार तयार पार्न पुगेका थियौँ हामी। त्यसैले हामी राम्चेतर्फ लाग्यौँ। राम्चे पुग्नै लाग्दा कांग्रेस उम्मेदवार आचार्य दलबलसहित आफ्नो घर उत्तरगयाको लहरेपौवातर्फ फर्कदै थिए। नजिकै रहेका एक कार्यकर्तालाई उनको सभाबारे बुझ्दा आचार्यले केही बेर बोलेको र कार्यक्रम नहुने जानकारी दिँदै फर्केको बताए। राम्चेमा भने एमाले कार्यकर्ता झन्डा फहराउँदै बसेका भेटिए।
दिउँसो १ बजे धुन्चे बजार पुग्दा त्यहाँ कुनै दलको कुनै कार्यक्रम थिएन। लगभग सुनसान जस्तै देखिन्थ्यो। हामी धुन्चे हुँदै साँझ विदुर फर्किदा बाटोमा खासै चुनावी चहलपहल देखिएन।
रसुवामा प्रतिनिधिसभाका उम्मेदवार ढकाल सब-ओभरसियर हुन् भने आचार्य इन्जिनियर हुन्। दुबै उम्मेदवार निर्माण व्यवसायी हुन्। निर्वाचन जित्नेमा दुबै ढुक्कै देखिए।
रसुवामा प्रदेशतर्फ लोकतान्त्रिक गठबन्धनबाट क'मा कांग्रेसका प्रभात लामा र ख'मा नयाँ शक्तिका प्रेम तामाङ चुनावी मैदानमा छन् भने वाम गठबन्धनका तर्फबाट क'मा एमालेका कर्न्याल लामा र ख'मा माओवादी केन्द्रका तर्फबाट इन्द्र गोतामे चुनावी मैदानमा छन्।