भद्रपुरः झापामा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाका लागि ४९ वटा मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मतदाता र मतदानस्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थलको वर्गीकरण गरेको हो। जिल्लामा २८३ मतदानस्थल र ६९२ मतदान केन्द्र कायम भएकामा १०४ संवेदनशील र १३० मतदान स्थललाई समान्य रहेको प्रहरीले जनाएको छ।
पाँच निर्वाचन क्षेत्र रहेको झापामा निर्वाचनबाट पाँचजना प्रतिनिधिसभा र १० प्रदेशसभाका प्रतिनिधि निर्वाचित हुने र यसका लागि झापामा पाँच लाख ८५ हजार १६६ जनाले मतदान गर्ने भएका छन्।
यसैगरी, प्रत्येक मतदान केन्द्रका लागि खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई हिजोदेखि तालिम दिन सुरु गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचनमा करिव पाँच हजार ५०० कर्मचारी खटिने निर्वाचन अधिकृत गोपाल आचार्यले जानकारी दिए।रासस