
चितवन : चितवन क्षेत्र नम्बर तीनबाट लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार विक्रम पाण्डेले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्।
चितवन क्षेत्र नम्बर ३ समृद्ध बनाउने अभियान लोकतान्त्रिक गठबन्धनलाई ‘अमूल्य मतदान’ भन्ने नाराका साथ सोही क्षेत्रका प्रदेशसभा सदस्य दिनेश कोइराला र साजनकुमार महतोकोसमेत प्रतिबद्धता रहने गरी १८ बुँदे साझा प्रतिबद्धतापत्र सार्वजनिक गरिएको हो।
प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, विद्युत्, सिँचाइ तथा कृषि, तटबन्ध, युवा तथा रोजगार, पार्क उद्यान, सामाजिक सेवा तथा सुरक्षा समावेश छन्।
त्यसैगरी सुकुम्बासी समस्या, दलित, जनजाति तथा आदिवासी, महिला, एकल महिला तथा बालबालिका, सहकारी, पर्यटन, संस्कृति, मठमन्दिर, तालतलैया, उद्योग व्यवसाय र पुलपुलेसा शीर्षकमा प्रतिबद्धता सार्वजनिक गरिएको छ।
क्षेत्र नं ३ मा सार्वजनिक विश्वविद्यालय स्थापना गर्ने, रामपुरमा त्रिभुवन विश्वविद्यालयको इञ्जिनियरिङ कलेज स्थापना गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ।
समग्र चितवनलाई ‘मेडिकल सिटी’को रुपमा स्थापना गर्ने, शिवनगरमा ५१ श्ययाको अस्पताल, माडीको बघौडा अस्पताललाई सुविधा सम्पन्न अस्पताल बनाउने उल्लेख छ।
नेपाल, भारत र चीन जोड्ने प्रस्तावित केरुङ–ठोरी मार्गलाई भरतपुरबाट कसरा पुल हुँदै लैजान पहल गरिने प्रतिबद्धतामा जनाइएको छ। नारायणी नदी र राप्ति किनारबाट तटबन्धनसँगै बाहिरी हरित चक्रपथ र भित्री चक्रपथको व्यवस्था गर्ने र माडीमा चक्रपथको निर्माण गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ।
सम्पूर्ण प्रशासनिक काम विद्युतीय माध्यमबाट गर्ने, विद्युत् नपुगेका क्षेत्रमा एक वर्षभित्र विद्युत् पुर्याउने, सुख्खाग्रस्त क्षेत्रमा सिँचाइको व्यवस्था गर्ने, युवा पलायन हुनबाट रोक्न स्वदेशी उद्योगको प्रबद्र्धन गर्ने, एक घर एक रोजगारको व्यवस्था गर्ने प्रतिबद्धतामा उल्लेख छ।
सामाजिक सेवा तथा सुरक्षा भत्ता दोब्बर गर्ने, सुकुम्बासीलाई उचित व्यवस्थापन गर्ने, बाँदरझुलाको बस्तीलाई उचित स्थानमा स्थानान्तरण गरी व्यवस्थापन गर्ने, महिलालाई सशक्तीकरण, बालबालिकालाई अनिवार्य शिक्षा र नेपालको पहिलो बखान सहकारीलाई राष्ट्रिय संग्रहालयको रुपमा विकास गर्ने लक्ष्य राखिएको छ।
मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणको काम गर्ने, चितवनलाई पोल्ट्रि राजधानीको रुपमा विकास गर्ने, नारायणी नदीमा दुई स्थानमा पुल निर्माण गर्नेलगायतका प्रतिबद्धता लोकतान्त्रिक गठबन्धनले सार्वजनिक गरेको हो।रासस