PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

निर्माण सुरु भएको नौ वर्षपछि जयरामघाट पुल सञ्चालन, खोटाङ राष्ट्रिय सडक सञ्जालमा जोडियो



पहिलोपोस्ट

निर्माण सुरु भएको नौ वर्षपछि जयरामघाट पुल सञ्चालन, खोटाङ राष्ट्रिय सडक सञ्जालमा जोडियो

  • केदार मगर 
खोटाङ :  खोटाङको प्रमुख नाका जयरामघाटस्थित दूधकोसी नदीमा निर्माण गरिएको पक्की पुल सञ्चालनमा आएको छ। खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामघाटमा निर्माण गरिएको पुल आज बिहानदेखि सञ्चालनमा ल्याइएको हो। 

सम्झौता अबधि सकिएको पाँच वर्षपछि मात्र निर्माण कार्य सकिएको जयराम पुलमा बिहीबार एकै पटक तीनवटा ठूला ट्रकमा १५० टनको लोड राखेर गरिएको परीक्षण सफल भएपछि सञ्चालनमा ल्याइएको ठेकेदार कम्पनीले जनाएको छ। 

यातायात सेवा सञ्चालन भएको दश वर्षपछि प्रमुख नाका दूधकोसीस्थित जयरामघाटको पक्की पुल सञ्चालनले खोटाङका जनतामा ठूलो आशा जगाएको छ। 

करिब दश करोड रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको पक्की पुल आज बिहान ९ बजेदेखि सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले जानकारी दिए। 

‘खोटाङका जनताको लामो पर्खाइपछि पुल सञ्चालनमा आएको छ’ उनले भने,‘अहिले निर्वाचन आचारसंहिता लागू भएको छ। औपचारिक उद्घाटन गर्दा आचारसंहिताले नदिने भएकाले उद्घाटन नगरी सञ्चालन गरिएको हो।’ 

जयरामघाटको पक्की पुल सञ्चालनमा आएपछि जिल्लामा समृद्धिको बाटो खुला भएको पूर्व सांसद तथा नेकपा एमालेका नेता पाँचकर्ण राईले बताए। 

दूधकोसीमा पक्की पुल निर्माण गर्ने जिम्मा हुलास इञ्जिनियरिङ र कालिका कन्स्ट्रक्सनले लिएका थिए। २०६८ साल असारसम्ममा पूरा गर्ने शर्तमा दुबै कम्पनीले साझेदारीमा काम गर्नेगरी २०६६ साल भदौमा सम्झौता गरेका थिए। 

करिब १५० मिटर लामो पक्की पुल नेपालकै नमूना भएको र निर्माणमा पनि ढिला भएको आयोजना प्रमुख इञ्जिनियर उद्धव रानामगरले बताए। पुल सञ्चालनमा आएसँगै खोटाङ जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ।

मध्यपहाडी लोकमार्गमा पर्ने जयरामघाटमा पुल सञ्चालन भएपछि राजधानी काठमाडौंलगायत तराईका विभिन्न जिल्लासँग सिधा यातायात सञ्चालनमा सहज भएको यातायात व्यवसायी संघ खोटाङका महासचिव रामकुमार हिङमाङले बताए। 

यसअघि २०६४ सालमा हेलिकप्टरबाट ल्याइएको बेलिब्रिज जडान गरेर यातायात सञ्चालनमा गरिएको थियो। यसरी पक्की पुल नहुँदा हिउँदको समयमा वैकल्पिक व्यवस्थाका लागि अस्थायी बेलिब्रिज जडान गरेर आवतजावत गर्ने गरिएको थियो।

जयरामघाटमा अस्थायी बेलिब्रिज जडान गर्दा वार्षिक ६० लाख बढी राज्यकोषको रकम खर्च हुने गरेको थियो।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell