-कान्तिपुर गाथा-
चुनावको मुखैमा कनिका उडी दिल्लीतिर। फेसबुकमा देखिने अधिकांश “मिडियोकर” ले सोचेजस्तो रोचक र रोमान्चक थिएन चुनाव उसका लागि। उसको जिन्दगीकै पहिलो चुनाव थियो यो। उ चुनावको रिपोर्टिङ र मतदान पहिलो पटक गर्दैथिइ। निर्वाचन आयोग आचार–संहिता पालन गर्न र गर्न लगाउन सरकारलाई निर्देशन दिन्थ्यो, त्यसै अनुसार, सरकार आचार संहिता पालन गर्न सबैलाई आदेश दिन्थ्यो। त्यसपछि आयोग, सरकार, पक्ष, प्रतिपक्ष सबै आचार संहिता उल्लंघन गर्न लाग्दथे। सरकार र योसँग जोडिएका संस्थाहरुलाई थाहै थिएन – के हो आचार संहिता। निर्वाचन विरोधी दलको नाममा निर्वाचनमा सहभागी दलले बन्दको आव्हान गर्ने, आव्हान हुने वित्तिकै स्वतस्फूर्त ढंगले खुरुरुरुर्र पसलका सटर बन्द गर्ने व्यापारी, सरकारले दिएको निर्देशनभन्दा छिटो बन्दको खुशी मनाउन सडकमा देखिने सुरक्षाकर्मी।कनिका दिक्क भएकी थिइ। उसकी विरामी माइजु दिल्लीको अस्पतालमा उपचार गराउँदै थिइन। उ चुनाव छल्न माइजु भेटने वहाना बनाएर दिल्ली ओर्लेकी थिइ। उ दिल्ली ओर्लिँदा १ बजेको थियो। वातावरणमा उमस थियो। खासै गर्मी थिएन। आकाश तुवाँलोले धुम्म। कनिकाले पहिरेकी वन पीस माथिको पातलो स्वेटरले धानेको थियो मौसमलाई। सिध्दार्थ निवास, करोलबागको बाटो लाग्दा पनि उसलाई गर्मी–जाडो दुवैको अनुभव भएको थिएन। समाचारमा लेखिएजस्तो दिल्लीमा प्रदूषणको चाप धूमधामै बढेको अनुभव पनि गर्नु परेन उसले। तर, करोलबागको प्रवेशव्दारमा स्थापित १०८ फीट अग्ला हनुमानजीको चिउँडोमा प्रदूषणको प्रभाव देखि कनिकाले। उनको चिउँडोको रातोपनमा कालो रंग हावी हुँदै थियो। साँझ कनिकाले करोलबागका रिक्सावाल, टेम्पो चालक र भारवाहकहरुको मुखबाट सुनी, “आम आदमी पार्टी” को सरकारले स्थानीय व्यापारीहरुको यातायात समस्यालाई ध्यानमा राख्दै हनुमानजीको मूर्ति सुविधाजनक ठाउँमा सारेर सडक फराकिलो पार्दैछ।”
यो चर्चा कनिकालाई पत्यारिलो लागेन। उसलाई थाह थियो, धार्मिक प्रवृत्तिका स्थानीय व्यापारीका लागि हनुमानको मूर्ति यहाँ हुनु नै सुविधाजनक हुन्छ। यहाँबाट मूर्ति हटाउनेवित्तिकै उनीहरुको सुविधामा ठूलो कटौति हुन्छ। उसले यो चर्चाको बारेमा स्थानीय अधिवक्ता प्रताप मूलेसँग प्रश्न गरी। मूलेले बडो साम्प्रदायिक भाषामा जवाफ दिए, “आप सरकारका एकजना मन्त्रीले मुसलमानहरुसँग पैसा लिएर बजरंगबलीको मूर्ति सार्न खोजेका थिए। तर, यहाँको व्यापारिक समाजले त्यो काम हुन दिएन। अब अहिले पाइला पाइलामा मूर्ति स्थापना गरेर मन्दिरका नाममा सार्वजनिक जग्गा कव्जा भइ रहेको बेला यहाँ पनि बजरंगबलीको मूर्ति अन्यत्र सार्ने कोशिश हुनु स्वाभाविकै हो।”
कनिका खुशी भइ। मेट्रो सफा थियो। दिल्लीमा मेट्रो बाहेक समयमा चल्ने कुनै मानिस र विषय पनि थिएन। मेट्रो पनि कहिले काहीँ सेकेण्ड मिनेटको हिसाबले ढिलो नहुने चाहिँ थिएन। अर्को रमाइलो, राजीव गान्धीका छोरा राहुल गान्धीले भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्व लिने निर्णय गरेछन्। आमा सोनियाको स्वास्थ्य स्थिति खराब भएपछि आफ्ना समर्थकहरुको व्यापक दवावमा उनी कांग्रेसको अध्यक्षता लिन तयार भएका रहेछन्। अर्को समाचार त अझ रमाइलो थियो। संजय लीला भन्सालीले निर्माण गरेको सिनेमा “पद्मावती” महाराष्ट्र र गुजरात जस्ता राज्यव्दारा प्रतिवन्धित भए। पद्मावतीले अहिलेसम्म सेन्टर सर्टिफिकेट पाएको छैन र प्रदर्शनमा पनि आएको छैन। बेलायतले भने यसको सेन्सर गरेर प्रदर्शनको प्रमाणपत्र दिइसकेको छ।
सरकारले संसदको हिउँदे अधिवेशन नबोलाएकोमा वौध्दिक जगतमा व्यापक चिन्ता फैलिएको थाह पाइ कनिकाले। उसले सोची, यति परिपक्व भनिएको भारतीय लोकतन्त्रको त यो चाला छ भने हाम्रोमा के होला? उसले ठीकै सोचेकी थिइ।
छेउमा स्टारबक्स कफी पसल देखेपछि उसलाई कफीको तालमा सिगरेट तान्न मन लाग्यो। तर उ स्टारबक्स पसिन। छेउमा कफी डे थियो। त्यसको बरण्डामा केही केटा र केही केटी सिगरेटको धूवाँ उडाउँदै थिए। उ त्यसैमा छिरी र अमेरिकानो डवल शट मागी। कफीको मग हातमा आएपछि उसले बिस्तारै सर्भिस व्वाइसँग सोधी, “इज देयर स्मोकिङ स्पेस हियर?”
उसले माथि जाने संकेत गर्यो। कनिका उकालो लागि। भर्याङ चढ्दा चढ्दै उसले सोची, ठाउँ रमाइलो रहेछ। साँच्चै रमाइलो।
साँझ सिजानीसँग डिनरमा निस्किइ उ। सिजानी उसकी साथी थिइ। उ स्थानीय एनजीओमा काम गर्दथी। कुनै टेन्सन लिन्नथी। उनीहरु पुगे साकेत। एउटा चाइनिज रेष्टुराँ ताकेर त्यसैमा पसे। उनीहरुले अर्डर गरेको खाना मिठो थियो। खासगरी डम्पलिङ सारै मीठो। अरु खाना पनि स्तरीय थियो। उनीहरुले सोचे, शेफ चाइनिज होला। दक्ष र अनुभवी। तर, पछि थाह पाए, शेफ नेपाली थियो हण्ड्रेड पर्सेन्ट। उ चुनावमा भोट हाल्न जिल्ला फर्किँदै थियो खोटाङ। रेष्टुराँको मालिक चिन्तित थियो उ नफर्किएसम्म के गर्ने?