
काठमाडौं : थाइल्याण्डमा भइरहेको आइसीसी वुमन्स टी-२० वर्ल्डकप एसिया क्वालिफायरमा युएईले हङकङलाई पराजित गरेपछि शीर्ष दुईमा पर्ने नेपालको झिनो सम्भावना अझै बाँकी छ।
शुक्रबार नेपालले पहिलो जित हात पार्ने क्रममा मलेसियालाई ३३ रनले हरायो भने युएईले हङकङलाई ८ विकेटले पराजित गर्यो। हङकङले दिएको ८१ रनको लक्ष्य युएईले १८ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो। यस्तै आयोजक थाइल्याण्डले चीनलाई चीनलाई पनि ८ वकेटले हरायो।
युएईले तेस्रो जित हात पारेपछि शीर्ष दुईमा पर्ने होडमा अझै चार टिम छन्। चार खेल सकिदा अपराजित थाइल्याण्ड ७ अंकका साथ शीर्ष स्थानमा छ भने पहिलो पटक प्रतियोगिता खेलिरहेको युएई ४ खेलबाट ६ अंकका साथ दोस्रो स्थानमा उक्लेको छ। ५ अंक जोडेको हङकङ तेस्रो स्थानमा छ भने ४ अंक रहेको नेपाल चौथो स्थानमा छ।
२ अंक जोडेको मलेसिया र अंकविहिन रहेको चीन भने एक खेल खेल्नुअघि नै शीर्ष दुईको होडबाट बाहिरिसकेका छन्।
अन्तिम चरणको खेल बाँकी रहदा शीर्ष दुईको होडमा चार टिम छन्। तर नेपालको सम्भावना भने एकदमै कम छ। नेपाल शीर्ष दुई स्थानमा रहनका लागी युएई र हङकङ दुवै पराजित हुनुपर्नेछ भने नेपालले चीनलाई आफुअनुकुल नतिजामा हराउनुपर्नेछ।
आइतबार नेपालले चीनसँग खेल्दैछ। यस्तै थाइल्याण्डले हङकङ तथा युएईले मलेसियासँग खेल्नेछ। यी तीन समिकरणमध्ये एक मात्र पनि नेपालको पक्षमा नआए नेपाल शीर्ष दुईमा अटाउने छैन।