बिहीबार रसुवाको राम्चे सोझिएको मोटरबाइकलाई नुवाकोटको विदुरस्थित निर्वाचन कार्यालय पुग्नै लाग्दा प्रहरीले 'लेफ्ट' मोड्न निर्देशन दिए।
हामीले सोध्यौ, 'किन? हामी त रसुवा जाने।'
पहिलोपटक रसुवा जाँदै थियौ। हामीलाई बाटो पनि थाहा थिएन। प्रहरीलाई हामी सीधै जान पाउँ भन्ने लाइनमै बाइक अलि अगाडि बढाएँ।
'अगाडि बम छ,' प्रहरीले रोक्न खोजे, 'तपाईकै सुरक्षाका लागि भनेको।'
देब्रेतिरबाट सवारी निस्किरहेकै थियो। जान मात्र नदिएको रहेछ।
'हेर्न जाउँ बम,' पछाडि बसेका फोटोपत्रकार चन्द्र आले बाइक साइड लगाउन नपाउँदै ओर्लिहाले। बाइकलाई लेफ्टतिरैको कुलोतिर तेर्स्याउँदै म पनि बम हेर्न हिडें।
निर्वाचन कार्यालय विदुरमा मतदानका लागि धमाधम सामान लिँदै थिए कर्मचारी। सडकमा सवारी रोकिरहेका थिए प्रहरी। चुनावी गीत बजाएर झन्डा फहराउँदै स्कारपियो जिप दौडिरहेको थियो।
बिहान ८ः४५ बजेको रहेछ।
निर्वाचन कार्यालयभित्र रहेका कर्मचारीलाई सक्दो चाँडो निस्कन आग्रह गर्दै थिए प्रहरी। प्रहरीले आयोग अगाडि रहेको कार्टुनलाई दुईवटा फलामे बारले घेरे।
त्यतिबेला सम्म धेरैले बम कहाँ छ भनेर सोधिरहेका थिए। कतिपयले निर्वाचन सामग्रीभित्रै बम राखिएको भन्दै थिए। मैले पनि त्यही सोचेँ, असरल्ल निर्वाचन सामग्रीमा बम कहिले भेट्ने? मैले जस्तै अरुले पनि प्रश्न गरेका थिए। जब कार्टुनलाई फलामे बारले घेरियो, तब बम निर्वाचन सामग्रीभन्दा बाहिर रहेको पत्तो लाग्यो।
'बिहान ६ बजे बम राखेको हल्ला चलेको भर्खर डिस्पोज गर्न खोजिएको छ। यो बम नै होइन होला, ' एकजना रमितेले भने।
नजिकै पत्रकारहरु पनि त्यही विषयमा कुराकानी गर्दै थिए। कोही लाइभ रिपोर्टिङमा व्यस्त थिए।
केहीबेरमै सेनाको टोली आइपुग्यो। त्यसपछि प्रहरीले रमितेलाई हटाउन थाले। रमिते सडकभन्दा माथिको डिलमा जम्मा भए। त्यहाँबाट पनि अन्तै जान प्रहरीको निर्देशन आयो।
निर्वाचन कार्यालयको ठिक अगाडि बन्दै गरेको भवन सञ्चारकर्मीको रोजाइ बन्यो। भिडियो र फोटो लिन सजिलो देखेर सञ्चारकर्मी त्यो भवनमा उक्लिन थालेपछि अरु रमिते पनि त्यही उक्ले। प्रहरीले एकैक्षणमा त्यहाँबाट पनि सबैलाई हट्न निर्देशन दिए। कतिले मानेनन्।
'बम पड्कदाँ छर्रा आउँछ, लाग्न सक्छ। तपाईहरुकै सुरक्षाका लागि भनेको, ' प्रहरी बम हेर्न आएकालाई भन्दै थिए। नजिकै भेटिइन् बिबिसी नेपाली सेवाकी संवाददाता शक्तिमाया तामाङ। उनी भन्दै थिइन्, 'अर्को ठाउँमा पनि बम राखेको खबर आएको छ।'
झन्डै आधा घन्टाको अलमलमा पनि सेना कार्टुनले छोपेको बम भएको ठाउँ गएनन्। सडक खाली थियो। त्यही बेला नुवाकोटका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव आइपुगे। उनी प्रहरीसँग कुराकानी गर्दै निर्वाचन कार्यालय अगाडिको दैलोमा उभिए।
बम कतिबेला पड्काइने हो भनेर सर्वसाधारण त्यही कार्टुनतिर नजर लगाइरहेका थिए। नुवाकोटमा केही दिन अघिमात्र पूर्वमन्त्री एवं कांग्रेस उम्मेदवार डा रामशरण महतलाई लक्षित गर्दै बम प्रहार गरिएको थियो। घटनामा पाँच जना घाइते भएका थिए।
निर्वाचन नजिकिदै गर्दा सदरमुकाम विदुरमा बम देखिँदा खासै आतंकित भने देखिएनन्। बम भएपनि बम वरपर निर्वाचन सामग्री लिने कर्मचारी र सर्वसाधारण त्यहीँ नजिकबाट हिँडिरहेका थिए। बिहान धेरैले उक्त बमको फोटो नजिकैबाट खिचेको एक प्रहरी बताउँदै थिए। धेरैले फोटो खिचेपछि बमलाई कार्टुनले छोपेको ती प्रहरी जानकारी दिदैं थिए। सेनाले बम डिस्पोजको प्रक्रिया थाल्दा ती प्रहरीले बमको फोटो मोबाइलबाट जुम गरी देखाउँदै थिए। अरु आतंकित नदेखेर होला मलाई पनि खासै डर लागेन।
झन्डै आधा घन्टापछि सेनाले लामो लौरोमा तार जोडेर कार्टुन पन्छाए। सकेट बम रहेछ। हुक लगाउँदै बम उचाल्ने प्रयास गरे। तर प्रयास सफल भएन। त्यसलगत्तै एकजना सेना डाडु खोज्न निस्किए। निर्वाचन कार्यालयको ठीक अगाडि रहेको घरबाट डाडु लिएर निस्के प्रहरी। उनी भन्दै थिए 'यो डाडु पनि भाग्यमानी रहेछ। बम बोक्न पाउने भयो।'
त्यसपछि उक्त डाडुलाई लामो लौरोमा बाँधेर डाडुमा उठाएर बमलाई भवनभन्दा करिब सय मिटर पर केराघारी पुर्याइयो। केराघरी छेवैको झाडीमा सानो ठाउँ बनाए सेनाले। डिस्पोजल टोलीले एकैक्षणमा बम पड्काउने तयारी गरे। एक जवानले चुरोट सल्काए। अनि, बम पड्कने बेला भएको भन्दै सबैलाई बस्न आग्रह गर्दै सेना सडकतिर कान छोप्दै दौडे।
त्यतिबेला बिदुरको सडकमा बम हेर्न बसेका रमितेहरु सडकमा एकैपटक थचक्कै बसे। ड्याम्म.. त्यसपछि केराघारीबाट आवाज आयो। आवाजसँगै धुँवाको मुस्लो पनि उड्यो। बम डिस्पोज हुनासाथ अधीर भएर सडकमा रोकिएका सवारीहरु हर्न बजाउँदै ओहोरदोहोर गर्न थाले। हामी पनि कुलोमा साइड लगाएको बाइक हुइक्याउँदै रसुवाको धुन्चेतिर उक्ल्यौँ।