PahiloPost

Nov 22, 2024 | ७ मंसिर २०८१

ब्याटल अफ मधेश : ‘मधेशवाद’लाई श्रद्धाञ्जलि !



बीपी साह

ब्याटल अफ मधेश : ‘मधेशवाद’लाई श्रद्धाञ्जलि !
फोटो साभार : IANS

२०६३/०६४ को मधेश आन्दोलनबाट नेपाली राजनीतिमा स्थापित भएको शब्द हो ‘मधेशवाद। ‘मधेशवाद’ बारे हालसम्म कुनै आधिकारिक दस्तावेज अथवा अवधारणा आएको छैन। तर, ‘मधेशवाद’ को अनुसरण तथा अनुयायी लाखौंको संख्यामा छन्। यसको जगमा भएका आन्दोलनहरूमा सयभन्दा बढीले सहादत पाइसकेका छन्।

मधेशको  आधुनिक राजनीतिको सुरुवातसँगै अर्थात् सन् १९५१ मा वेदानन्द झा नेतृत्वको तराई कांग्रेससँगै मधेशवादका तत्वहरूमाथि बहस सुरु भएको थियो। हुन त त्यसअघि तराई मुक्ति मोर्चा, जनक्रान्ति दल लगायतका राजनीतिक समूहहरूले मधेश मुद्दालाई राजनीतिक मार्गमा डोर्‍याउने प्रयास गरेका थिए।

तराई कांग्रेसले स्वायत्त तराईको माग उठाउँदा उसले विभिन्न अवधारणाहरू अगाडि बढाएको थियो। तर, नेपाली कांग्रेसबाट विभाजित भएकाले उसको मुख्य राजनीतिक आधार स्तम्भ प्रजातन्त्र नै थियो। र, त्यसबेला मधेश शब्द उच्चारण गर्नु पनि वर्जित सरह नै थियो। गोर्खा साम्राज्यको दस्तावेजहरूमा मधेश शब्द प्रयोग भएता पनि राजनीतिक शब्द बनिसकेको थिएन। जसकारण ‘मधेशवाद’ को चर्चा ‘मधेशवाद’ नै भनेर नभएको हुनसक्छ। किनकी तराई शब्द प्रचलनमा भएको हुँदा ‘तराईवाद’ भन्न मिल्दैन। किनभने तराईले एउटा भूमिको अवस्थाको मात्र चित्रण गर्दछ। तराईको अर्थ हिमाल अथवा पहाडको फेदको समतल घाँसे मैदानलाई बुझाउँछ। ठाउँको नाममा मात्र ‘वाद’ बन्ने हो भने नेपालमा ‘हिमालवाद’, ‘पहाडवाद’, ‘काठमाडौंवाद’ बन्न सक्छ। 

कतिपयले ‘मधेशवाद’ अफवाह हो भन्दै आलोचना गर्ने गरेका छन्। ठाउँको नाममा पनि वाद हुन्छ भन्ने प्रश्न गर्छन्। किनभने तिनको मस्तिष्कको सन्दुकमा मधेश भनेको भूभाग मात्रै हो भन्ने छ। उसले दहेज प्रथा, बोक्सी र भारतीय आप्रवासी बस्ने ठाउँको रुपमा मात्र मधेशलाई चिनेको छ। मस्तिकमा तराई शब्दको चित्रण राखेको छ।

सन् १८१६ र १८६० मा इस्ट इण्डिया कम्पनीले मधेशका भूभाग तत्कालीन गोर्खा साम्राज्यको जिम्मा लगाएपछि मधेशलाई कर उठाउने थलोको रुपमा स्थापित गरेको ‘मधेशको मालको सवाल’ दस्तावेजबाट प्रस्ट हुन्छ। तर, आर्थिक र सांस्कृतिक दोहनका लागि सरकारले ‘तराई’ शब्दलाई अधिक प्रचलनमा ल्यायो। किनभने मधेश एउटा भूभाग मात्रै होइन एउटा समग्र ‘राष्ट्र’ हो। राष्ट्रका लागि आवश्यक भूभाग, जनता, संस्कृति र विचार मधेशमा कायमै थियो र छ। पश्चिमा राज्यहरूमा ‘राष्ट्र राज्य’को अवधारणाबाट मुलुक विखण्डन हुँदा नेपालभित्रका ‘राष्ट्र’हरूलाई क्रमिक रुपमा दबाउने प्रयास हुँदै गयो। 

मधेशलाई केन्द्रमा राखेर राजनीतिक गर्ने दलहरूले पुनः ‘मधेश राष्ट्र’को बहसलाई अगाडि सारेका छन्। तर, तिनीहरूले पहिचानको मुद्दालाई घुमाउरो पाराले स्थापित गर्न मधेश राष्ट्रको चर्चा गरेका छन्। अर्थात् आत्मनिर्णयको अधिकार र स्वायत्ताको कुरालाई ओझेलमा पार्न बहुराष्ट्रिय राज्यको चर्चा मधेश केन्द्रित दलले गर्न थालेको देखिन्छ।

मधेश केन्द्रित दलहरूले ‘मधेशवाद’लाई उचाइमा ल्याएर छाडेका छन्। ती दलहरूले नेपाललाई ‘बहुराष्ट्रिय राज्य’को अवधारणा अन्तर्गत व्याख्या गर्न थाल्नुले यसको पुष्टि गर्छ। जसअनुसार मधेश एउटा राष्ट्र रहेको दाबी उनीहरूले गर्दैछन्। नेपाल बहुराष्ट्रिय राज्य अन्तर्गत मधेशमा मधेशवाद स्थापित गर्ने मनसाय उनीहरूमा देखिएको छैन।

नेपालीले संविधान सभाको आडमा पहिलो पटक पाएको संविधानलाई स्थापित गर्न भइरहेको निर्वाचनमा मधेशकेन्द्रित दलहरू संघर्ष गर्दैछन्। किनभने जारी निर्वाचन प्रक्रिया अग्रगमनभन्दा पनि पश्चगमनलाई बल पुर्‍याउन हुँदैछ। जसमा परिवर्तनका मुद्दाहरूलाई यथास्थितमा राख्ने प्रयास निर्वाचनले गर्नेछ। दोस्रो जनआन्दोलन र मधेश विद्रोहका बलमा अन्तरिम संविधानमा समेटिएका परिवर्तनका विषयलाई नयाँ संविधानले समाप्त पार्दैछ। र, उक्त उपलब्धिहरूलाई समाप्त पार्न भइरहेको निर्वाचनमा समाप्त हुने त्रास मधेश केन्द्रित दलहरूसँग छ।
तसर्थ उनीहरू पनि आफ्नो राजनीतिक रक्षाका लागि राष्ट्रिय एजेण्डा बोक्न बाध्य भएका छन्। क्षेत्रीय राजनीतिक दलका रुपमा उदय भएको मधेशवादी दलहरू राष्ट्रिय दल बन्ने कसरतमा लागेका छन्।  

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन प्रयोगका लागि संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को चुनावी घोषणापत्र तयार पारेका छन्। उक्त घोषणापत्रहरूले ‘मधेशवाद’लाई लत्याएको छ।
 
चुनाव कुनै पनि राजनीतिक एजेण्डा र विचार स्थापित गर्ने भिड हो। जहाँ सहजै कुनै पनि वाद र एजेण्डा स्थापित हुन्छ। सोही अवसरमा मधेश केन्द्रित दलले मधेशवादलाई गौण पारेका छन्। अर्थात् उनीहरू मधेशवादबाट पन्छिँदैछन्।

मधेशमा आधार भएका मुख्य दुई दल फोरम नेपाल र राजपाले आफूलाई राष्ट्रिय चरित्रको बनाउन मधेशवादलाई गौण बनाए। अर्थात् मुख्य राजनीतिक दलले नै मधेशवादलाई समाप्त गर्ने प्रयास गरेपछि मधेशवाद मृत्युको संघारमा पुगेको छ।

तर मधेशवादका लाखौं अनुयायी भएकोले मधेशवाद मर्ने देखिँदैन। मधेशवादको जगमा अन्य कयौं राजनीतिक दलहरू स्थापित हुने सम्भावना बढ्दैछ। मधेश राजनीतिका लागि उर्बर भूमि भएकाले मधेशवाद स्थापित हुनेछ। किनभने मधेशवाद भने कै मधेश बारे चिन्तन र चर्चा गर्नु हो। जो सकिने कुरा नै होइन।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell