PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

टाइम्स कलेजलाई अन्तर कलेज फुटसलको उपाधि



पहिलोपोस्ट

टाइम्स कलेजलाई अन्तर कलेज फुटसलको उपाधि

काठमाडौं : टाइम्स इन्टरनेसनल कलेजले प्रथम अल्फा बिटा अन्तरकलेज फुटसल प्रतियोगिताको उपाधि जितेको छ।

शंखमूल फुटसलमा शुक्रबार भएको फाइनलमा टाइम्सले आईडियल कलेजलाई टाइब्रेकरमा ५-४ गोलले पराजित गर्‍यो। निर्धारित समयको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको हो।

जसमा टाइम्सबाट विवेक गुरुङ, सन्तोष महत, अनिश कार्की, अनिल खड्का र आशिष सुनामले गोल गरे। आईडियलबाट उर्केन शेर्पा, सागर स्याङतान, अमित लामा र सुरजज्यू ठकुरीले पेनाल्टीमा गोल गरे।

च्याम्पियन टाइम्सले १ लाख तथा उपविजेता आईडियलले ६० हजार नगद पुरस्कार हात पारे। तेश्रो भएको साइपालले ४० हजार प्राप्त गर्‍यो।

तेश्रो स्थानका लागि शुक्रबारै भएको खेलमा साइपालले कान्जिरोवालाई ९-० को फराकिलो गोलअन्तरले हरायो। साइपाललाई फराकिलो जित दिलाउन मुकेश तामाङ एक्लैले ४ गोल गरे भने अशोक तामाङ, सुजन बस्नेत, निशान माझी, इङग्ला लिम्बू र सागर कटवालले १/१ गोल गरे।

आईडियलका सुरजज्यू ठकुरी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए। प्रतियोगताभर ११ गोल गरेका साइपालका मुकेश तामाङ सर्वाधिक गोलकर्ता बने। दुवैले ट्रफीसहित जनही १० हजार नगद पुरस्कार हात पारे।

विजेतालाई युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी, अल्फा बिटाका कार्यकारी अध्यक्ष द्विराज शर्मा, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगायतले पुरस्कृत गरे। तीनदिने प्रतियोगितामा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell