
रुकुम : रुकुम पश्चिमको मुसीकोट नगरपालिका–६ साँखमा जिप दुर्घटना हुँदा प्रहरी निरीक्षक नवदम्पतीसहित सात जनाको मृत्यु भएको छ।
रुकुमकोटबाट रुकुम पश्चिमको सदरमुकाम खलंगा गईरहेको ग १ ज ४२६० नम्बरको जिप मुसीकोट नगरपालिका–६ साँखमा शुक्रबार राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ।
दुर्घटनामा रुकुम पूर्वी सिस्ने गाउँपालिका–५ रुकुमकोटका नवीन श्रेष्ठ र उनकी श्रीमती अनिता प्रधान, मुसीकोट नगरपालिका–१ का सुदन श्रेष्ठ, उनका बाबु शेरबहादुर श्रेष्ठ र दिदी सुरेखा शाह श्रेष्ठ तथा मुसीकोट–१ भलिबल खेलका राष्ट्रिय रेफ्री जनक शाह र त्रिवेणी गाउँपालिका–१ की यमुना मल्लको मृत्यु भएको हो।
मृतक नविन श्रेष्ठ र उनकी श्रीमती अनिता प्रधान दुबै जना प्रहरी निरीक्षक हुन्। नवीन र अनिताको तीन दिनअघि मात्र विवाह भएको थियो। बिहे सकेर काममा फर्किदै गर्दा जिप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका जिप चालक दाङका प्रेम रजौरिया, सहचालक रुकुम काँफिकोट गाउँपालिका–७ का प्रेम केसी र बर्दियाका टेकबहादुर खत्रीलाई जिल्ला अस्पताल सल्लेबाट थप उपचारका लागि नेपालगञ्ज पठाएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायब उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए।
अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको जानकारी पाएपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, म्यादी प्रहरी र स्थानीयले घाइतेको उद्धार गरेका थिए। मृतक सबैको शव अहिले जिल्ला अस्पताल सल्लेमा राखिएको छ।रासस