PahiloPost

May 15, 2024 | २ जेठ २०८१

राजदूत पद त्यागेका दीपकुमारको भाग्य थपिएका ९ हजार मतदाताको हातमा



चन्द्रकान्त खनाल

राजदूत पद त्यागेका दीपकुमारको भाग्य थपिएका ९ हजार मतदाताको हातमा

बुटवल : कपिलवस्तुमा आगामी मंसिर २१ गते हुने  प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा राजनीतिक दलका प्रभावशाली नेताले उम्मेदवारी  दिएपछि चुनावी सरगर्मी निकै बढेको छ। 

यसअघि पाँच निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा अहिले तीन क्षेत्र कायम गरिएको छ।  स्थानीय निकाय निर्वाचनपछि जिल्लामा  २५ हजार मतदाता थपिएका छन्।

सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर एकमा थपिएका छन्। यस क्षेत्रमा पूर्वराजदूत दीपकुमार उपाध्याय चुनावी मैदानमा उत्रेका छन्। 

तीनै क्षेत्रमा वाम र लोकतान्त्रिक गठबन्धनबीच नै प्रतिस्पर्धा हुने देखिएको छ। मधेशवादी दलका बलियो खम्बा मानिएका वृजेश गुप्ता, ईश्वर दयाल मिश्रा वाम गठबन्धनमा र हालै फोरम परित्याग गरी कांग्रेस प्रवेश गरेका अभिषेकप्रताप साहका कारण कडा चुनावी प्रतिस्पर्धा हुने देखिएको छ।

राजपा र फोरमका ठूला नेता कांग्रेस एमाले प्रवेश गरेपछि विगतमा कपिलवस्तु कब्जा गरेका मधेशवादी दलको अवस्था केहि खस्किए पनि प्रतिनिधिसभामा क्षेत्र नम्बर १ र ३ मा भने उसले पनि कडा टक्कर दिने देखिन्छ। जिल्लामा  कुल ३ लाख ११ हजार ७ सय ६२ मतदाता छन् भने ४ सय १० केन्द्र २ सय ३३ मतदानस्थल तोकिएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ। 

क्षेत्र नम्बर एकमा खनाल र उपाध्यायबीच प्रतिस्पर्धा

क्षेत्र नम्बर एकमा प्रतिनिधिसभातर्फ वाम गठबन्धनबाट  माओवादी केन्द्रका नेता  चक्रपाणी खनाल (बलदेव) र  नेपाली कांग्रेसका नेता तथा पूर्व राजदूत दीपकुमार उपाध्याय प्रतिस्पर्धामा छन्। 

उनीहरुसँगै संघीय समाजवादी फोरमका अब्दुल रसिद खाँ र नयाँ शक्ति नेपालका ५ नम्बर प्रदेश संयोजक तथा पूर्वमन्त्री दानबहादुर चौधरी पनि चुनावी मैदानमा छन्।

यस क्षेकमा बाणगंगा नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिका र कपिलवस्तु नगरपालिकाका केहि वडा जोडिएका छन्।

स्थानीय तह निर्वाचनमा ती क्षेत्रका कांग्रेसले २० हजार ७ सय ५२ मत पाएको थियो भने वाम गठबन्धनले भने २६ हजार ७ सय १ मत पाएको छ। जस अनुसार ६ हजार मतले वाम गठबन्धन अगाडि देखिएको छ। नयाँ शक्ति र राप्रपा लोकतान्त्रिक गठबन्धनमा सामेल भएपनि सबैले आ–आफ्नै उम्मेदवार खडा गरेका छन्। 

अर्कोतर्फ राजपा छाडेका वृजेश गुप्ताको समूहको मतसमेत वाम गठबन्धनमा आउने देखिएकाले वाम गठबन्धन अझ बलियो देखिएको छ। तर सो क्षेत्रमा स्थानीय तह निर्वाचनमा संघीय फोरमका उम्मेदवारले पाएको ७ हजार ३ सय मत र फोरमबाट उठेका उम्मेदवार अब्दुल रसिद खाँ मुस्लिम भएको कारणले पनि उनी बलियो प्रतिस्पर्धी मानिएका छन्। 

मायादेवी गाउँपालिका फोरमले जितेको छ। सो क्षेत्रमा राप्रपाले २४ सय र नयाँ शक्तिले पाएको ३ हजार ३ सय मत रहेका कारणले पनि उक्त मत कता जान्छ भन्ने विषयले पनि निर्वाचनलाई रोचक बनाएको छ।

तर वाम गठबन्धनका नेता खनाल भने आफूहरुले ४ हजारको मतअन्तरले चुनाव जित्ने दाबी गर्छन्।उनी भन्छन्,‘हामीले यसपटक वाम घटक मिलेर  चुनावमा गएका छौं, त्यसकारण चुनाव जित्न सजिलो भएको छ।’कांग्रेस नेता उपाध्याय पनि आफूले चुनाव जित्नेमा ढुक्क छन्।

यसअघि कांग्रेसको आन्तिरिक कारण पराजय भएको बताउँदै अहिले त्यो समस्या  नभएको र अन्य दलको भोटपनि आफूलाई आउने उनको दाबी छ।

क्षेत्र नम्बर दुईमा वृजेश गुप्ता र  सुरेन्द्र आचार्यबीच भिडन्त 

कपिलवस्तु क्षेत्र नम्बर दुईमा बुद्धभूमि नगरपालिका, कपिलवस्तु नगरपालिका, महाराजगंज नगरपालिकाको अधिकांश भाग तथा यशोधरा गाउँपालिका पर्छन्।

यस क्षेत्रमा राजपा त्यागेर वाम गठबन्धनबाट उम्मेदवार बनेका वृजेश गुप्ता तथा कांग्रेस जिल्ला सभापति सुरेन्द्र आचार्यबीच कडा टक्कर हुने देखिएको छ। स्थानीय तह निर्वाचनमा पाएको मतका आधारमा पनि दुबै गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिएको हो।

स्थानीय तह निर्वाचनमा कांग्रेस र फोरम लोकतान्त्रिकले ३१ हजार ४ सय ९९ मत पाएका छन् भने वाम गठबन्धन तथा वृजेश गुप्ता निकटका उम्मेदवारले ३४ हजार ८ सय ५२ मत प्राप्त गरेका छन्। जसमा ३ हजार ३ सय मतले वाम गठबन्धन अगाडि छ।

तर यस क्षेत्रमा रहेको नयाँ शक्तिको २ हजार ७ सय मतका साथै संघीय समाजवादी फोरमको २२ सय मत निर्णायक बन्न सक्ने अनुमान अधिकांश दलको छ। नयाँ शक्तिका यशोधरा गाउँपालिकाका बलिया नेता अब्दुल मोबिन खाँ कांग्रेसमा प्रवेश गर्नु र संघीय फोरमबाट बलिया प्रतिस्पर्धी नहुनुले पनि यहाँ साना दलका मत बाँडिन सक्ने देखिएको छ।

निर्वाचनमा उम्मेदवार बनेदेखि अपराजित यात्रा तय गरेका वृजेश गुप्ता एमालेको सूर्य चिन्ह लिएर उठेपछि उनी यस क्षेत्रमा बलियो देखिएका छन्। 

यता कांग्रेसबाट एमाले प्रवेश गरेका मधेशका प्रभावशाली नेता दीर्घनारायण पाण्डे प्रदेश सभा उम्मेदवार बन्नु र कांग्रेसका महासमिति सदस्य राजु अर्याल प्रदेश सभा २ को ख मा बागी उम्मेदवार बनेपछि प्रतिनिधिसभाका कांग्रेस उम्मेदवार आचार्यलाई चुनौती अझ बढेको छ।

जिल्ला सभापतिसमेत रहेका आचार्य यस अघि क्षेत्र नम्बर चारबाट प्रत्यक्ष निर्वाचित सभासद् हुन्।  उनीहरु दुबैले आफूले जित्ने बताउने गरेका छन्।

क्षेत्र नं ३ मा अभिषेकप्रताप साह र ईश्वरदयाल मिश्राबीच  प्रतिस्पर्धा

कपिलवस्तु क्षेत्र नम्बर तीनमा लगातार फोरमबाट २ पटकसभासद बनेर हालै कांग्रेस प्रवेश गरेका अभिषेकप्रताप शाहको पकड क्षेत्रका तीन वटै स्थानीय तहमा एमाले र स्वतन्त्रसहित माओवादीले विजयी हासिल गरेपछि यतिखेर यस क्षेत्रमा पनि कडा टक्कर हुने देखिएको छ।

मधेश आन्दोलनमा सधैं साथ रहेका त्यस क्षेत्रका प्रभावशाली नेता ईश्वरदयाल मिश्रा वाम गठबन्धनका साझा उम्मेदवार बनेपछि अहिले प्रतिस्पर्धा रोचक हुने भएको छ। संघीय फोरमको बलियो पकड रहेको यस क्षेत्रमा पूराना नेता मंगल गुप्तासमेत उम्मेदवार बनेपछि अहिले भिडन्त त्रिपक्षीय बनेको छ।

स्थानीय तह निर्वाचनमा वाम गठबन्धनले  ३ नम्बर क्षेत्रबाट १५ हजार ७ सय ५५ मत पाएको थियो भने कांग्रेसले ४ हजार ५ सय ३० मत पाएको थियो। तर संघीय समाजवादी फोरमले पाएको २७ सय र राप्रपाले पाएको ५ हजार ३ सय मत निर्णायक बन्ने देखिन्छ। यद्दपि यस क्षेत्रमा शाह परिवारको दबदबा भएका कारण कांग्रेसबाट उम्मेदवार बनेका शाहले व्यक्तिगत भोटसमेत राम्रै पाउने अनुमान गरिएको छ।  

यहाँको विजयनगर गाउँपालिकामा वाम गठबन्धनले ३ हजार ९ सय ६३ र लोकतान्त्रिक गठबन्धनले १२०५ मत पाएका छन्। स्थानीय तह निर्वाचनमा कांग्रेसका बागी उम्मेदवार उठकेका कारण मत बाँडिएको र राप्रपाबाट उठेका अयज थापाको मत पनि व्यक्तिगत भएको कारण ती मत साहलाई अझ जान सक्ने अनुमान छ।

तर फोरम उम्मेदवार मंगल गुप्ता र राजपाका केन्द्रीय उपाध्यक्ष नरसिंह चौधरीसमेत सोही क्षेत्रबाट उम्मेदवार बनेपछि साह संकटमा परेका छन्। १४ हजार मुस्लिम मत रहेको यस क्षेत्रमा साहलाई मुस्मिल विरोधी नेता भन्ने गरिन्छ।

यता वाम गठबन्धनका मिश्राको व्यक्तिगत मत समेत राम्रै रहेको बताइन्छ। कुशहवा, भिल्मी, अजिगरा र पुरुषोत्तमपुर उनको बलियो पकड क्षेत्र मानिन्छ। विजयनगर र शिवराज एमालेले जितेका कारण उनी बलियो मानिएका छन्। वाम गठबन्धनबाट यस क्षेत्रमा मुस्लिम तथा माथिल्लो क्षेत्रमा एमालेका प्रभावशाली युवा नेता अर्जुन केसीलाई प्रदेशसभा उम्मेदवार बनाएपछि सबैको मत पाउने सम्भावना मिश्राको छ। 

२५ हजार नयाँ मतदाता कसका ?

स्थानीय तह निर्वाचन पछि जिल्ला निर्वाचन कार्यालयले गरेको मतदाता नामावली संकलनमा २५ हजार २ सय १४ जना नयाँ मतदाता थपिएका छन्।

सबैभन्दा बढी क्षेत्र नम्बर एकमा मतदाता थपिएका छन्। निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा करिब ९ हजार ५ सय मतदाता थपिएका छन्। 

निर्वाचन क्षेत्र, मतदाता संख्या र मतदान केन्द्र



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell