
काठमाडौँ : नेपाली कांग्रेसले निर्वाचनका समयमा लोकतान्त्रिक विधि, मूल्य मान्यता, संस्कार र संस्कृतिअनुरुप आफ्ना व्यवहार प्रदर्शन गर्न र हिंसाको राजनीतिमा नउत्रन वाम गठबन्धनका नेता र तिनका कार्यकर्तासँग आग्रह गरेको छ।
लोकतन्त्रमा शान्तिपूर्ण एवं निर्वाधरुपमा आफ्ना चुनावी कार्यक्रम गर्न पाउने अधिकारमाथि गठबन्धनमा आबद्ध नेता तथा कार्यकर्ताले विभिन्न जिल्लामा कांग्रेस कार्यकर्तामाथि साङ्घातिक आक्रमण गरेको जनाउँदै यस्तो क्रियाकलाप नदोहर्याउन कांग्रेसले माग गरेको छ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलद्वारा जारी विज्ञप्तिमा कांग्रेस कार्यकर्तामाथि साङ्घातिक आक्रमण गर्नेलाई कानुनको दायरामा ल्याउन र घाइतेको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरिएको छ।
आज बिहान नवलपुर जिल्ला प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा क्षेत्र नं १ का कांग्रेस उम्मेदवार विष्णु लामिछाने चढेको सवारी साधनलाई लक्षित गरी हुप्सकोट गाउँपालिका वडा नं ५ गोजापोखरी नजिक वाम गठबन्धनका कार्यकर्ताले बम प्रहार गरेको कांग्रेसले जनाएको छ।
साथै ओखलढुङ्गा चिसंखुगढी गाउँपालिका वडा नं ३ का कांग्रेस चुनाव प्रचारप्रसार समितिका संयोजक राजकुमार ढुंगानालगायत अन्यलाई गएराति गठबन्धनका कार्यकर्ताले सांघातिक आक्रमण गरेका विज्ञप्तिमा उल्लेख छ।रासस