काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले लोकतान्त्रिक गठबन्धन विधिको शासनमा विश्वास राख्ने शक्ति भएको बताएका छन्।
नेपाली कांग्रेस, भक्तपुर क्षेत्र नं २ युवा परिचालन समितिद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खाँणले मेलमिलाप र एकतामा राष्ट्रियता बलियो हुने बताए।
नेपाली कांग्रेस निर्वाचन परिचालन समितिका संयोजकसमेत रहेका नेता खाँणले महेन्द्रपथीय खोक्रो राष्ट्रवादले मुलुक समृद्ध नहुने भन्दै युवालाई संयम हुँदै कार्यकर्ताको घरदैलोमा पुग्न आग्रह गरे।
क्षेत्र नं २ का प्रतिनिधिसभाका कांग्रेस उम्मेदवार दमननाथ ढुंगानाले आफू भक्तपुर–२ को शान र मान राख्ने कुचिकार उम्मेदवार भएको बताए।
ढुंगानाले देशमा व्याप्त दोहनको राजनीतिलाई जनमोहनमा बदल्नुपरेको भन्दै भक्तपुरको ऐतिहासिक, सांस्कृतिक र लोकतन्त्रको संस्थागत विकासमा आफू सदैव लागिपर्ने बताए।रासस