काठमाडौः ‘मंसिर ६ गते विवाह छ मेरो। विवाह गरेर चाँडै फर्कन्छु। राम्रोसँग ड्युटी निभाउनु होला,‘
सुर्खेत ट्राफिक प्रहरी कार्यालयका २९ वर्षीय प्रहरी निरीक्षक नवीन श्रेष्ठ यति भनेर हाँस्दै विदा भएका थिए।
चाँडै आउँछु भनेर विदामा गएका नवीन कहिल्यै नफर्किने गरी संसारै छाडेर जाने गरी पो अन्तिम विदा मागेका रहेछन्। यो कुरा न उनलाई थाहा थियो, न अरुलाई नै ।
कार्यालयमा कार्यरत एक सुरक्षाकर्मीले मलीन स्वरमा भने ‘उहाँ कहिले नआउने गरी जानुभएको रहेछ। शुक्रवार जीप दुर्घटनामा उहाँको मृत्युको खबर सुनेदेखि निन्द्रासमेत पर्न सकेको छैन।‘
२०७२ सालमा प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी संगठनका सदस्य बनेका श्रेष्ठलाई गत कात्तिक १२ गतेको सरुवामा सुर्खेत ट्राफिक कार्यालयको जिम्मेवारी दिइएको थियो। कात्तिक २९ गते उनले ट्राफिक कार्यालय पुगेर जिम्मेवारी सम्हालेका थिए।
उनीसँगै कार्यालयमा २८ जना सुरक्षाकर्मी कार्यरत थिए।
नवीनले एउटै पेशा र एउटै पोस्टमा रहेकी प्रहरी निरीक्षक अनिता प्रधानसँग तीन दिनअघि मात्रै लगनगाँठो कसेका थिए।
२०६९ को सहायक प्रहरी निरीक्षकबाट भर्ना भएकी अनिताले २०७२ मा प्रहरी निरीक्षकमा नाम निकालेकी थिइन्। उनको स्थायी घर सुनसरीको इटहरी भए पनि गत भदौ महिनादेखि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत थिइन्।
मंसिर ६ गते बुधबार दुवैले सुनसरीमा विवाह गरे। विवाहको भोलिपल्ट नवीनले अनितालाई रुकुम पूर्वस्थित सिस्ने गाउँपालिका–६, रुकुमकोटमा रहेको घर भित्र्याएका थिए।
बिहीबार नवीनको घरमा विवाह भोज भयो। शुक्रबार बेलुका दुवै जना आ-आफ्नो कार्यक्षेत्रमा फर्किनको लागि आफन्तबाट विदा भए। फेरि छुट्टि मिलाएर आउने वाचा गरेर गएका दुवै जना कहिले नफर्किने गरी विदा भए।
शुक्रबार रुकुम पूर्वका सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको सदरमुकाम खलंगा आउँदै ग १ ज ४२६० नम्बरको जिप मुसीकोट नगरपालिका–६ को कालिमाटीमा दुर्घटना भयो। जिप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो।
नवीनले घटनास्थलमै प्राण त्यागे। ढुकढुकी चलिरहेकी अनिताले पनि उपचारको क्रममा नै अस्पतालमा नै सधैँको लागि आँखा चिम्लिइन्।
दुर्घटनामा मुसीकोट नगरपालिका–१ का सुदन श्रेष्ठ, उनका बाबु शेरबहादुर श्रेष्ठ र दिदी सुरेखा शाह श्रेष्ठ तथा मुसीकोट–१ भलिबल खेलका राष्ट्रिय रेफ्री जनक शाह र त्रिवेणी गाउँपालिका–१ की यमुना मल्लको पनि मृत्यु भयो।