PahiloPost

Dec 5, 2024 | २० मंसिर २०८१

असुरक्षित छन् छोरीहरु

असुरक्षित छन् छोरीहरु

सागर बुढाथोकी/पहिलोपोस्ट


फोटोहरु : गगन थापा

जर्सिङपौवा स्थित कालिका स्कुलमा पचाँस जना भन्दा बढी किशोरीहरु तालिम लिइरहेका छन्। उनीहरुको हाउभाउ हेर्दा प्रष्ट हुन्छ - मार्सल आर्ट, कम्फु र बक्सिङ एकैपटक सिकेका छन्। तपाईँलाई लाग्ला यिनीहरु कुनै प्रतिस्पर्धाको तयारीमा छन्। कुनै राष्ट्रिय वा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको तयारी हुँदैछ भन्ने सोच्नुभयो भने पनि गलत नै हुनजान्छ। यिनीहरु मार्सल आर्ट त बाँच्नका लागि मात्रै सिकिरहेका थिए। अर्थात् आत्मरक्षा तालिम। 

तालिमको पहिलो दिन – उनीहरु एकले अर्कोलाई हेर्दै अनुहार रातो पिरो पारेका छन्।



त्यतिकैमा कसैले सोध्छ, ‘तिमीहरु कसैलाई कसैले नराम्रो व्यवहार  गरेको छ? तिमीहरुले कसैले आफू हिंसामा परेको महसुस गरेका छौँ?’

सबैजसो किशोरीहरु मुख रातो पिरो पारेर भूइँमा हेर्छन्।

स्कुलको हल पिन ड्रप साइलेन्स हुन्छ। 

केही छिनपछि एउटी किशोरी उठेर भन्छिन्, ‘मलाई स्कुल जाँदा सधै गाडीमा जथाभावी छुन्छन्। नराम्रो बोल्छन्।’

त्यही भिडबाट अर्की किशोरी उठेर लजाउँदै भन्छिन्, ‘हाम्रोतिर त एक्लै घाँस काट्न जान डरमर्दो छ। स्कुल जाँदा होस् या अन्य कामले सुनसान ठाउँमा एक्लै हिड्न हामी सक्दैनौं, डर लाग्छ। अस्ति नै हाम्रो गाउँमा नराम्रो घटना घट्यो।’

उनले घटनाको बेलिबिस्तार लगाइन्। 

सन्दर्भ : महिला हिंसा अन्त्य दिवश


त्यसपछि अन्य किशोरीहरु खुल्दै गए। आफ्नो समस्याहरु सुनाउँदै गए। अधिकांश  किशोरीहरुको एउटै आशय थियो- उनीहरु सुरक्षित छैनन्। हरेक दिन उनीहरु कुनै कुनै न हिंसा सहन बाध्य छन्। 

त्यसैले उनीहरु यहाँ तालिम लिन आएका छन् – ज्यान जोगाउनका लागि।  

डरलाग्दो तथ्याङ्क

नेपाल प्रहरीमा गत आर्थिक वर्षमा २ हजार १ सय ५६ वटा महिला हिंसाको उजुरी परे। जसमा ८ सय १५ वटा घटना जर्बजस्ती करणीका छन्।  २०७३ सालअघि ५ वर्षमा १२ हजार ६ सय ३० वटा महिला हिंसाको उजुरी परेका थिए। जसमा ३ हजार ९ सय ४९ वटा जवर्जस्ती करणीका छन्।

प्रहरीको तथ्यांक अनुसार अधिकांश महिला हिंसामा पर्ने किशोरीहरु बढी देखिन्छन्। यो तथ्याङ्क त 'टिप अफ आइसवर्ग'मात्र हो। यस क्षेत्रका अभियन्ता भन्छन्, 'प्रहरीमा पुग्ने त समुन्द्रको माथि देखिएको हिउँमात्र हो, समुन्द्रभित्रको पहाड कत्रो छ भन्न सकिन्न।'

कसरी हुन्छ हिंसा?

'मेरो नाम अम्बिका तामाङ (नाम परिवर्तन) हो। मलाई ४ वर्षअघि आफ्नै मामाको छोराले यौन दुर्व्यवहार गरे। घरमा बताउँदा घटना बाहिर ल्याउन रोके। त्यतिकै मिलाए। मैले उल्टो दुर्व्यवहार सहनुपर्यो। बुवा आमाले पनि मेरो साथ दिएनन्। मलाई धैरै तनाव भयो। पढाइ बिग्रियो। 
 (पिडितको आग्रहमा उमेर,क्लास, गाउँ र वास्तिविक नाम उल्लेख गरिएको छैन्।)

उस्तै अर्को कथा

विना कार्की (नाम परिवर्तन) अहिले पारिवारसँग रमाइरहेकी छिन्। उनको विगत पीडादायी छ। उनी माओवादी जनयुद्धमा सक्रिय थिइन्। युद्धकै बेला सेनाले समात्यो। सेनाले दिएको यातना सम्झिँदा उनी अझै भक्कानिन्छिन्। भन्छिन्, ‘मलाई सेनाले पटकपटक मारे। रक्ताम्य पारे। जीवन माया मारेको मान्छे बाँचेँ।’



विना देशमा शान्ति छाएपछि माओवादी राजनीतिमा सक्रिय भइन्। राजनीतिबाट सांसद हुँदै राज्यमन्त्री समेत बनिन्। 

अहिले पनि उनले समाजमा महिला तथा किशोरी असुरक्षित देखिरहेकी छिन्। 

प्रतिकारको छैन विकल्प

विनाका अनुसार जबसम्म महिलाहरु नै हिंसाको बारेमा खुलेर बोल्दैनन् तबसम्म समाजमा महिला हिंसा कम हुँदैन। भन्छिन्, ‘मेरो पनि छोरी छे। हामी सबैको छोरीहरु असुरक्षित छन्। छोरीहरुको सुरक्षाको लागि हामीले घरबाट नै हिंसाको विरुद्धमा बोल्न सक्ने बनाउनुपर्छ।’

मानव अधिकार आयोगका सदस्य मोहना अन्सारी समाजमा किशोरीहरु सुरक्षित नरहेको बताउँछिन्। जुनसुकै क्षेत्र तथा वर्गका किशोरीहरु कुनै न कुनै हिंसाबाट पीडित भएको उनको कथन छ।



नायिका केकी अधिकारी भन्छिन्, ‘अहिलेसम्म जेजति किशोरीहरु हिंसामा परे उनीहरुले सेल्फडिफेन्स तालिम लिएको भए त्यति धेरै पीडित हुँदैन थिए होला। त्यही भएर सेल्फ डिफेन्स तालिम हरेक किशोरीहरुको लागि जरुरी हुन्छ।’

आत्मरक्षामा के सिक्छन्?

आत्मरक्षा तालिममा अपराधीको नियत कसरी पत्ता लगाउने, त्यसको समाना कसरी गर्ने किशोरीहरुले सिकिसकेका छन्। 

१६ वर्षिय मीना तामाङ (नाम परिवर्तन ) आफू असुरक्षित भएकाले नै तालिम लिन आएको बताउछिन्। 



तालिम लिएपछि आत्मविस्वास बढेको उनको कथन छ। अब केही आपत परे नडराउने बताउँछिन्।

त्रिचन्द्र कलेजमा स्नातक दोस्रो वर्षमा विज्ञान पढिरहेकी आरजु केसी लप्सीफेदीबाट नै कलेज धाउँछिन्। सधैं बसमा यात्रा गर्नुपर्ने उनको बाध्यता हो। हरेकदिनको बस यात्रामा उनले सधै सास्ती बेहोर्नपर्छ। 

‘हात समात्ने, पछाडिबाट टाँसिने, हात राखेको ठाउँमा छुने, बस खाली हुँदा पनि ठेलठाल गर्ने सधैंजसो हुन्छ,’ केसी भन्छिन, ‘पहिले डर लाग्थ्यो, अहिले डर हराएको छ।’

शारीरिक र मानसिक प्रशिक्षण

आत्म सुरक्षा तालिम सिकाउन २ जना मुख्य प्रशिक्षक छन्। शारीरिक र मानसिक दुवै पक्षको तालिम दिने प्रशिक्षकहरुलाई ३ जना सहायक प्रशिक्षकले सहयोग गरिरहेका छन्।



उनीहरुलाई तालिम दिइरहेका प्रशिक्षक भन्छन्, ‘नानीहरु सुरुमा धेरै लजाए पनि अहिले धेरै खुल्दैछन्। धेरै हिंसा सहन उनीहरुमा बानी परिसकेका रहेछ। यस्ता तालिम सबैतिर आवश्यक देखियो।’

प्रशिक्षकका अनुसार उनीहरुलाई दिने तालिम मुलत: मार्सल आर्ट होइन। आत्म रक्षाका लागि आवश्यक सबै स्किल किशोरीहरुले सिक्न सक्छन्। 

प्रशिक्षक अभिनव भट्टराई किशोरीहरुले हिंसालाई सामान्य लिएकोमा अचम्ममा छन्। तालिमले उनीहरुमा देखिएको परिवर्तनप्रति सन्तुष्टपनि।

उनी भन्छन्, ‘शहरी क्षेत्रमा पार्किङ लट र ३० सेकेन्डभित्रमा कोही नपुग्ने ठाउँमा हिंसा भएको देखिएको थियो। यहाँ त हरेक ठाउँमा डराउनुपर्ने उनीहरुको कुरा छ।’

यहाँ जस्तै अन्य ८ वटा जिल्लाका  स्कुल र कलेजमा गरेर ५ हजार भन्दा बढी किशोरीहरुलाई आत्म सुरक्षा तालिम दिएको अभिनव सुनाउँछन्।



घरमा पनि अभ्यास

रेणु तामाङको घरमा पुग्दा उनी घरायसी काम गर्दै थिइन्। उनका २ छोरीहरु १९ वर्षीया ज्योति र १३ वर्षीया जेनी सेल्फ डिफेन्सको टेक्निकहरु अभ्यास गरिरहेका थिए।

‘देश जति विकासित भए पनि छोरीहरु कहिल्लै सुरक्षित नहुने भए। अलिकति साँझपर्दा आफ्नै गाउँमा एक्लै हिड्न सक्ने अवस्था छैन्,’ रेणुले भनिन्, ‘अन्य ठाउँमा जस्तै हाम्रो छोरीहरु असुरक्षित छन्।’ 

कुटपिट हातपात र सामान्य झैझगडालाई महिला हिंसा नै नमान्ने प्रचलन छ। रेणु भन्छिन्, ‘यस ठाउँका धेरै छोरीचेलीहरु गायव छन्। भूकम्पपछि हराएका अझै आएका छैनन्। पहिला हराएका दशौं वर्षपछि फर्केका थिए।’

हिंसा न्युनिकरणका लागि के त?

नेपाल प्रहरी महिला सेलका डिआइजी पुष्करलाल रेग्मी विगत केही वर्षदेखि महिला हिंसा न्युनिकरण गर्न योजना बनाएर लागिपरेको बताउँछन्।

भन्छन्, ‘तथ्यांक हेर्ने हो भने अहिले महिला हिंसा बढेको सत्य हो। दिनहुँ त्यस्ता घटनाहरु घटेको समाचारहरु आएका छन्। तर, पहिला घटनाहरु लुकाइन्थे भने अहिले उजुरी गर्ने चलन बड्दो छ।’

रेग्मीका अनुसार घटना भएको उजुरी भयो भने प्रहरीले तत्कालै  कारवाही गर्छ। उनले भने, ‘कहाँ के घटना भएको छ। कहाँ घटना हुँदै छ। केही शंका लागे खबर गर्नुस् हामी कारवाही गर्छौं।’



महिला हिंसाको घटना कम गर्न सार्वजानिक यातायातमा सेफ्टी पिन अपरेसन लगायतका अन्य धेरै कामहरु गरेको रेग्मी बताउँछन्।

मोहना अन्सारी सरकारले हिंसा न्युनिकरणका लागि गर्नुपर्ने हो त्यति काम नै नगरेको बताउँछिन्। भन्छिन्, ‘जे जति हिंसा भएको छ। नबोलेर प्रतिकार नगरेर भएको देखिन्छ। त्यसैले घरबाट के गर्दा हिंसा हुन्छ सिकाउने र प्रतिकार गर्न सक्ने बनाउनुपर्छ। त्यसैगरी स्कुलमा अनिवार्य रुपमा आत्मरक्षा समबन्धी छुट्टै कोर्ष बनाउनुपर्छ।’

 


ट्रेन्डिङ पोस्ट

Ncell