राजविराज : राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले आगामी प्रदेश र प्रतिनीधिसभा निर्वाचनमा मधेश आन्दोलनमा शहिद भएकाहरुको सपनालाई साकार पार्न मधेसी दलको गठबन्धनलाई जिताउनु आवश्यक रहेको बताएका छन्।
राजपा र संघीय समाजवादी फोरम नेपालको गठबन्धनले आज सप्तरीको राजविराजमा आयोजना गरेको संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै महताेले कांग्रेस, एमाले, माओवादीलाई भोट दिंदा मधेशको अपमान हुने बताए।
महतोले मधेशी दललाई मत दिएर शहीदको सम्मान गर्न आग्रह गरे। उनले सप्तरीको मलेठमा मधेशी जनतालाई गोली हानेर हत्या गर्न आदेश दिने तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिसँग बदला लिन आफूले जनकपुरबाट चुनाव लडेको स्पष्ट पारे।
महतोले मधेसी जनताको अधिकारका लागि शान्तिपूर्ण आन्दोलन गर्नेहरुमाथि गोली हान्न आदेश दिने कांग्रेस, एमाले, माओवादीसँग बदला लिने समय आएको बताए।
चुनावीसभालाई सम्बोधन गर्दै राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई नम्बर प्रदेशमा मधेशी गठबन्धनको सरकार बनाएर मधेशी जनताको सबै अधिकार दिलाउने बताए।