
काठमाडौं : प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत पहिलो चरणको निर्वाचनमा भाग लिन निर्वाचन आयोगले अनुरोध गरेको छ। भोलि बिहान ७ बजे देखि ५ बजे सम्म निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरिएको हो।
शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर मतदाताको नाममा सम्बोधन गरेका प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराए। उनले मतदानमा सरिक भएर आफूले चाहेको उम्मेदवार तथा राजनीतिक दललाई मतदान गर्न अनुरोध गरे।
निर्वाचन आचार संहिताको पूर्ण पालना गर्न राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालाहरुलाई अपील गरे। उनले भने, 'निर्वाचन हुँदैन भनी यस अघि फैलाइएका भ्रम यस निर्वाचनले अन्त्य गरेको छ।'
आयुक्त यादवले अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, असक्त वा विरामी मतदातलाई मतदानको लागि प्राथमिकता दिन मतदान अधिकृतलाई निर्देशन गरे। दृष्टिविहीन वा शारीरिक अशक्त भएका मतदाताले भने निर्वाचन अधिकृतको सहयोगमा परिवारको सदस्य मर्फत मतसङ्केत गर्न सक्ने छन्।
निर्वाचनपछि संविधानको कार्यन्वयन र विद्यमान संक्रमणकालको अन्त्य हुने विश्वास गरिएको छ। उनले भने, 'अब मुलुक दिगो आर्थिक विकास र समवृद्धितर्फ लम्किने छ।'
३२ जिल्लामा हुने पहिलो चरणको निर्वाचनमा ७०२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। २ हजार ९१० मतदान स्थल र ४ हजार ४६५ मतदान केन्द्रमा ३१ लाख ९१ हजार ९४५ मतदाताले मतदान गर्नेछन्। निर्वाचनको लागि प्रतिनिधि सभा सदस्यतर्फ ३७ र प्रदेश सभा सदस्यतर्फ ७४ निर्वाचन क्षेत्र निर्धारण गरिएको छ।
निर्वाचनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले पर्यवेक्षण गर्नेछन्। निर्वाचन आचार संहिता पालना गर्न निर्वाचन आयोगले सबैलाई आग्रह गरेको छ।