
हरारे : जिम्बाबेको उच्च अदालतले पूर्व राष्ट्रपति रोबर्ट मुगाबेलाई नियन्त्रणमा लिएर शासन सत्ता आफ्नो हातमा लिनु संवैधानिक नै भएको ठहर गरेको छ।
सेनाले अर्का नेतालाई राष्ट्रपतिको रुपमा जिम्मेवारी दिएको भोलिपल्ट अदालतको यस्तो निर्णय आएको हो।
अदालतलाई उदृत गर्दै सरकारी संचारमाध्यमहरुले भनेका छन्,‘पूर्वराष्ट्रपति रोबर्ट मुगाबेको सत्तालाई नियन्त्रणमा लिने सेनाको कदम संवैधानिक नै छ।’
जिम्बाबेका धेरै जनताले पनि सेनाको कदम सही भएको भन्दै देशभरी खुसियाली मनाएका थिए।
जिम्बाबेको सेनाले नोभेम्बर १५ तारिखका दिन ९३ बर्षीय तत्कालिन राष्ट्रपति मुगाबेलाई नियन्त्रणमा लिएर मंगलबार राजीनामा गर्न बाध्य पारेको थियो।
मुगाबेको राजीनामासँगै जिम्बाबेमा मुगाबेको ३७ बर्ष लामो शासन अन्त्य भएको छ भने नयाँ राष्ट्रपतिको रुपमा अर्का नेता इमेर्सन मनाङ्गाग्वाले जिम्मेवारी सम्हालेका थिए। रासस/एएफपी