
काठमाडौं : थाइल्याण्डमा भइरहेको आइसीसी वुमन्स टी-२० वर्ल्डकप क्वालिफायर एसियाको अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले पराजित गरेको छ। तर अर्को खेलमा युएईले मलेसियालाई पराजित गरेपछि नेपालको शीर्ष दुईमा रहदै ग्लोबल क्वालिफायरमा छनोट हुने सम्भावना सकिएको छ।
नेपाललाई शीर्ष दुईमा पुग्न चीनलाई हराउनु पर्ने थियो भने मलेसियाले युएई तथा थाइल्याण्डले हङकङलाई हराउनु पर्ने थियो। तर युएई विजयी भएपछि नेपाल शीर्ष दुईमा बटाउन असफल भएको हो।
मलेसियालाई ३४ रनले पराजित गरेको युएई ८ अंक जोड्दै शीर्ष दुईमा रहन सफल भएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०२ रन बनाएको थियो। नेपालका लागि कप्तान रुविना क्षेत्रीले नटआउट १८ रन जोडिन् भने काजोल श्रेष्ठले १६ तथा नेरी थापाले ११ रन बनाइन्। चीनकी झाङ जिएङजुले ३ विकेट लिइन्।
जवाफमा १०३ रनको लक्ष्य पछ्याएको चीनले १८.२ ओभरमा अलआउट हुँदै ५२ रन मात्र बनाउन सक्यो। चीनका लागि हान लिलिले सर्वाधिक १५ तथा सायुन जाउले १० रन जोडिन्। अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।
नेपालका लागि कप्तान रुविना क्षेत्री र सवनम राईले ३-३ तथा सीता राना मगरले २ विकेट लिइन्। सवनमले लगातार ३ विकेट लिदै प्रतियोगिताको पहिलो ह्याट्रिक लिने खेलाडी बनिन्। दोस्रो ओभरको अन्तिममा पहिलो विकेट लिएकी सवनमले चौथौ ओभरको पहिलो र दोस्रो बलमा लगातार विकेट झारेकि थिइन्।