
सोल : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई आतङ्कवादी गतिविधिमा लगानी गर्ने राष्ट्रको सूचिमा राखेको भन्दै उत्तर कोरियाले त्यसको विरोध गरेको छ।
अमेरिकाले बिना आधार आफूमाथि यस्तो आरोप लगाएको प्रतिक्रिया दिँदै उत्तर कोरियाले यस्तो आरोपलाई अमेरिकाको उत्तेजना फैलाउने कामको संज्ञा दिएको छ।
उत्तर कोरियाले अमेरिकाले यसअघि पनि यस्ता आरोपहरु लगाउने गरेको तर ती प्रमाणित नभएका भन्दै यस खालका प्योङयाङ विरोधी अभियानले आफ्नो देशको आणविक कार्यक्रमको विस्तारका क्षेत्रमा कुनै पनि असर नपर्ने बताएको छ।
यसका साथै उत्तर कोरियाले आफ्नो देशको आतङ्कवादसँग कुनै पनि सम्बन्ध नरहेको स्पष्टीकरण पनि दिएको छ।
उसले भनेको छ, ‘त्यसैले अमेरिकाले हामीलाई आतङ्कबादलाई सघाउने मुलुकको सूचिमा राख्नु र नराख्नुको कुनै पनि अर्थ छैन।’
त्यसैगरी अमेरिकी सैन्य बलले दक्षिण कोरियाका लागि ६ वटा लडाकू जहाज दिने भएको समाचारको पनि उत्तरले कडा शब्दमा विरोध गरेको छ ।
आगामी महिना ती जेट विमानहरु अमेरिकाले दक्षिण कोरियालाई दिने भएको हो। अमेरिका र दक्षिण कोरियाबीच संयुक्त रुपमा हुने सैन्य अभ्यासको लागि प्रयोग गर्न ती लडाकू जेट विमान पठाउन लागिएको हो।
उसले भनेको छ, ‘ती विमानहरु अमेरिकाले दक्षिण कोरियालाई दिएको भन्दा पनि सैन्य अभ्यासमा प्रयोग गर्ने भन्नु उत्तर कोरियाका विरुद्धको अभ्यासमा प्रयोग हुने हुन्।’
अमेरिकी लडाकू विमान जापानको ओकिनावा एयर शिविरबाट कडेना एयर शिविर हुँदै दक्षिण कोरियास्थित दक्षिण कोरिया र अमेरिको संयुक्त सैन्य अभ्यास स्थलसम्म पुर्याइने बताइएको छ।
पछिल्लो समयमा जापान, दक्षिण कोरिया र अमेरिकासँग पनि उत्तर कोरियाको सम्बन्ध विग्रिएको छ।
उत्तर कोरियाले जारी राखेको आणविक कार्यक्रमका कारण यस्तो अवस्था आएको हो। जसले गर्दा अमेरिका र उत्तर कोरियाले एक अर्काका विरुद्धमा निकै कडा अभिव्यक्ति दिंदै आएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पको हालै भएको दक्षिण कोरिया, जापान र चीनको भ्रमणका समयमा पनि राष्ट्रपति टम्पले उत्तर कोरियाको निकै आलोचना गरेका थिए। रासस/एएफपी