
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार सञ्चालन हुँदा मुलुकमा निजीकरणका नाममा ३८ उद्योग धराशायी भएका आरोप लगाएका छन्।
एमाले काठमाडौँ निर्वाचन क्षेत्र नं ३ कमिटीले आज बौद्धमा आयोजना गरेको चुनावी सभामा अध्यक्ष ओलीले देशमा उद्योग सकिई रोजगारीको अवसर नहुँदा अहिले ४० लाख युवा विदेशिएर मरुभूमिमा भेडाबाख्रा चराउन बाध्य हुनुपरेको बताए।
ओलीले भने,‘एमाले दल चुनाव लड्ने र सरकार बनाउने काममा मात्र सीमित नरही राष्ट्रिय स्वाधीनताको संरक्षण र जनताको स्वाभिमानलाई उँचो राख्न पनि प्रतिबद्ध छ।’
अध्यक्ष ओलीले ‘देशमा पटक पटक बहुमत ल्याएर पनि नेपाली कांग्रेसले सुशासन र राजनीतिक स्थिरता प्रदान गर्न नसकेकाले’ अब वाम गठबन्धनलाई बहुमत दिन जनतालाई आग्रह गरे। रासस