PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

भारतको सुन्दरपुर गाउँकै आमा अर्थात् कविता भट्टराई



पहिलोपोस्ट

भारतको सुन्दरपुर गाउँकै आमा अर्थात् कविता भट्टराई

सुन्दरपुर गाउँका मानिसहरु कविता भट्टराईलाई 'आमा' भन्छन्। यहाँ सञ्चालित आश्रममा आश्रित १ सय ४० कुष्ठरोगीका लागि उनी डाक्टर, सल्लाहकार र साथी हुन्।

जसलाई समाजले बहिस्कार गर्छ त्यसको साहरा हुन् कविता भट्टराई। कविता तिनै हुन् जो नेपालमा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा उनका स्वकीय सचिव थिइन्। 

उनी यहाँका १० बर्षे बच्चाका लागि आमा नै हुन् भने ६० भन्दा बढीका वृद्धले पनि उनलाई आमा नै भन्छन्। 

सन् १९६१ फेब्रुअरी २८ मा नेपालको उच्च घराना परिवारमा जन्मिएकी कविता भट्टराईले हार्वड विश्वविद्यालयको केनडी स्कुल अफ गवर्नमेन्टबाट जन प्रशासनमा स्नातकोत्तर गरेकी छिन्।

उनले त्रिभुवन विश्वविद्यालय र बैंकको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा पनि अध्ययन गरेकी छिन्। नेपालको ब्याडमेन्टिन टीममा समेत उनी जोडिएकी थिइन्। 

कविता भट्टराई पछिल्लो आठ वर्ष सुन्दरपुरमा नै रहँदै आएकी छिन्। यो ठाउँ पूर्वी चम्पारन जिल्लाको रक्सौल खण्डमा पर्छ। भारत-नेपाल समीमा बसेको सुन्दरपुर नो म्यान्स ल्यान्डको नजिकै छ।

कुष्ठ रोगीहरुको यो आश्रम लिटल फ्लावर लेप्रोसी वेलफेयर एसोसिएसनले संचालनमा ल्याएको हो जहाँ नेपाल र भारतका कुष्ठरोगीहरु उपचारका लागि आउँछन्। यहाँ कुष्ठरोगीसँग उनीहरुका आफन्त पनि बस्छन्। 

कविता भट्टराईसँग करिअरको राम्रा विकल्पहरु थिए तर उनले कठीन काम नै चुनिन्। यो विषय हामीले जान्न चाह्यौं : आखिर शहरको सुखी जीवन छाडेड किन उनी गाउँमा कुष्ठरोगीसँगै बस्छिन?

कविता भट्टराई भन्छिन्, 'हाम्रो अप्रोच नै गलत छ। गरिबलाई हामी नराम्रो सेवा दिन्छौं। यसले उनीहरुको गरिबी घट्दैन, बरु बढ्छ। त्यसले गर्दा उनीहरु मानसिक दवावसँग संघर्ष गर्न बाध्य हुन्छन्। उनीहरु जसोतसो ठीक होलान तर उनीहरुको जीवनस्तर सुधार हुँदैन। यस्तो अवस्था देखेपछि मलाई केही गरुँ भन्ने लाग्यो। यिनीहरुका लागि मेरो आवश्यकता छ।'

उनको ब्रदर किस्टो दाससँग सन् २००९ मा भेट भयो र सुन्दरपुर पुगिन्। 'अब मेरो जिन्दगीको लक्ष्य यिनै कुष्ठरोगीहरुको सेवा गर्नु हो। म व्यवसायिक समाजसेवी होइन। म परिवर्तनका लागि काम गर्छु,' उनले भनिन्। 

भैरोगञ्ज बगहाकी नयान मुसमातको घरमा कोही छैन। उनको खुट्टामा कुष्ठरोग देखिएपछि उनी छोरीसँगै यहाँ आइन्। उनले सुन्दरपुरमा नयाँ जीवन मिलेको बताइन्। 

बकौल रुक्मिणी जिन्दगीदेखि निराश भइसकेकी थिइन् तर यहाँ आमा (कविता भट्टराई)लाई भेटेपछि बाँच्नुका लागि आशा जागेको छ। विरामी ठीक भएपछि पनि उनी यही बसेर रोगीको सेवा गर्न चाहन्छिन्। 

कविता भन्छिन् 'उनको जीवनमा महात्मा गान्धी र नेपालका पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको प्रभाव' छ।

उनका अनुसार प्रधानमन्त्री कार्यालयमा बसेर समाजको मुहार फेर्ने सबैखाले काम गर्न सकिन्न। त्यसका लागि उनले समाज सेवा थालिन र अन्तर्राष्ट्रिय फोरममा सक्रिय रहिन्। उनी क्यानडाको लेजर फाउन्डेसनसँग जोडिइन्। त्यहीबाट उनले लिटल फ्लावर लेप्रोसी वेलफेयर मिसनबारे जानकारी पाइन्। 

स्थानीय पत्रकार दीपक अग्निरथका अनुसार यो आश्रम सन् १९८१ मा खुलेको हो। सन् १९७० को दशकमा सुन्दरपुरमा धेरै कुष्ठरोगबाट पीडित थिए। त्यतिखेर कोलकातामा रहेको मिसनरीमा पुगेर यहाँका मानिसहरु उपचार गराउँथे। 

त्यतिखेर भएको एक दुर्घटनामा मदर टेरेसाले क्रेस्टो दासलाई यहाँ पठाइन्। त्यहीबाट लिटल फ्लावरको स्थापना भयो। संस्थापक क्रेस्टोको सन् २०११ मा निधन भयो त्यसपछि संस्थाको प्रमुखमा कविता भट्टराई रहँदै आएकी छिन्। 

यहाँ कुष्ठरोगीका लागि १ सय ४० बेडको अस्पताल छ, उनीहरुको बच्चाका लागि स्कुल र स्वावलम्बन कार्यक्रम अन्तर्गत विभिन्न सीपमुलक तालिम पनि सञ्चालन भइरहेको छ। 
(बीबीसी हिन्दीमा आएको सामग्रीबाट अनुदित)
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell