PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

कुकुरको पुच्छर सिधा पार्नु र वामपन्थीलाई लोकतन्त्रवादी बनाउनु उस्तै : शेखर कोइराला 



अनन्तराज न्यौपाने

कुकुरको पुच्छर सिधा पार्नु र वामपन्थीलाई लोकतन्त्रवादी बनाउनु उस्तै : शेखर कोइराला 

विराटनगर : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले 'कुकुरको पुच्छर १२ वर्ष ढुङ्ग्रामा राख्दा पनि टेढाको टेढै हुन्छ' भनेजस्तो एमाले र माओवादी जति प्रयास गर्दा पनि लोकतन्त्रवादी हुन नसक्ने टिप्पणी गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा आइतबार विराटनगरमा भएको चुनावी सभामा डाक्टर कोइरालाले नेपाली काङ्ग्रेसले एमाले र माओवादीलाई लोकतन्त्रवादी बनाउन लामो समय प्रयास गरेको बताए।

'तर, कुकुरको पुच्छर १२ वर्षपछि पनि बाङ्गाको बाङ्गै भएजस्तो उनीहरू कहिल्यै सुध्रिएनन्,’शेखरले भने, ‘अहिले माओवादीका अध्यक्ष प्रचण्ड हामीलाई छाडेर वाम गठबन्धन बनाउन एमालेसित मिल्न जानु भयो। मलाई लाग्छ, हाम्रा टाउकामा उहाँहरूको बोझ थियो। अहिले हलुका भएको छ।’

वाम गठबन्धनको प्रयास धेरै पहिलेदेखि भएको उनको ठम्याइ छ।

‘प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा नै उहाँले मलाई भन्नुभएको थियो– अहिले हामीसित दुई तिहाई बहुमत भएको भए एकदलीय शासनमा जाने थियौं,’१० वर्ष पहिलेको कुरा सुनाउँदै डा कोइरालाले भने, ‘मैले सोधेँ, कस्तो हो एकदलीय शासन भनेको? त्यसबेला प्रचण्डको उत्तर थियो, ‘चीनको जस्तो’।’

प्रचण्डसित आफ्नो पहिलेदेखि नै राम्रो सम्बन्ध भएको र बेलाबेलामा लामो कुराकानी हुने गरेको उल्लेख गर्दै उनले त्यस बेलादेखि नै डेढ दुई घण्टासम्म राजनीतिक छलफल हुने गरेको चर्चा गरे।

‘प्रचण्डको उत्तर दिँदै मैले भनेँ, तपाईं अहिले त अन्तरिम संविधानबाट प्रधानमन्त्री हुनुभएको छ। एकदलीय शासन व्यवस्था स्थापना गर्न सक्नुहुन्न,’ कोइरालाको भनाइ थियो, ‘त्यो बेला प्रचण्डको उत्तर थियो, दुई तिहाई बहुमत हामीले पायौं भने एकदलीय शासन स्थापना गरेरै छाडछौं।’

अहिलेको वाम गठबन्धनलाई प्रचण्डको १० वर्ष पहिलेको भनाइसित जोडेर हेर्नु उपयुक्त हुने शेखरको धारणा थियो।

‘अहिले आएर दुवै पार्टीबीच ७ बुँदे सम्झौता भयो,’उनको भनाइ थियो, ‘त्यो ७ बुँदे सम्झौतामा अरू २ वटा बूँदा थिए, त्यो उहाँहरूले हतारहतार मेटाउनु भयो। त्यसमध्ये एक थियो, एउटै चुनाव चिह्नमा चुनाव लड्ने र अर्को थियो, दुवै पार्टीको एकीकरण गरेर एउटै नेपाल कम्युनिस्ट पार्टी बनाउने अनि राष्ट्रपतीय पद्धति, एकदलीय शासन हुँदै साम्यवादी शासनको स्थापना गर्ने।’

‘तपाईंहरूलाई थाहा होला, नोमिनेसन गर्ने बेलामा भर्खरै एमालेका अध्यक्ष केपी ओलीजीले के भन्नुभएको छ ?’, डा. शेखरको भनाइ थियो, ‘त्यो बेला विराटनगर र झापा दुवै ठाउँमा ओलीले संसदीय र बहुदलीय व्यवस्था निर्विकल्प व्यवस्था होइन भन्नुभएको छ। त्यसैले वाम गठबन्धनको प्रयास र उद्देश्यलाई म १० वर्ष अघिको प्रचण्डको कुराकानीसित जोड्न चाहन्छु।’

वाम र लोकतन्त्रवादी गठबन्धनका बीचमा अहिले निर्वाचन होइन जनमत सङ्ग्रह भइरहेको छ भत्रे धारणा प्रकट गर्दै उनले यो मन्त्री र सरकार बनाउने चुनाव मात्र नभएर मुलुकमा कस्तो शैलीको शासनपद्धति स्थापना गर्ने चुनाव हो भन्ने विचार व्यक्त गरे।

‘दश वर्षअघि प्रचण्डजी प्रधानमन्त्री हुँदा मलाई एक पटक बोलाउनु भयो,’पुरानो घटना स्मरण गर्दै शेखरले बताए, ‘उहाँले म प्रधान सेनापति रुक्माङ्गद कटुवाललाई हटाउँछु, गिरिजाबाबुलाई भनिदिनु प¥यो भन्नुभयो। मैले भनेँ– गिरिजाबाबुले के भन्नुहुन्छ, त्यो मलाई राम्रो थाहा छ। अहिल्यै भनिदिन्छु, गिरिजाबाबुले हुन्न भन्नुहुन्छ। तपाईं यो काम नगर्नूस्। आखिर प्रचण्डजीले मान्नुभएन। रुक्माङ्गदजीलाई हटाउन खोज्नुभयो। आखिर के भयो, तपाईंहरू सबैलाई थाहा छ।’

प्रचण्डले प्रधानमन्त्री भएका बेला पशुपतिको मूलभट्टलाई पनि हटाएको र फेरि पुनःस्थापना गर्नुपरेको प्रसङ्ग उल्लेख गर्दै कोइरालाले धर्म र संस्कृतिमा धावा बोल्ने कोही उँभो लाग्न सक्तैनन् भत्रे विचार व्यक्त गरे।

वाम गठबन्धन बनाउने बेलामा पनि प्रचण्डले आफूसित सोधेको कोइरालाले खुलासा गरे।

‘एमालेले हामीलाई ४० प्रतिशत दिँदैछ, हामीले त वाम गठबन्धन बनाउने भयौँ भन्दै प्रचण्डजी पछिल्लो पटक मसित आउनु भयो,' शेखरले सुनाए, ‘उहाँले हामीसित पनि ४० प्रतिशत सिट माग्न खोज्नुभएको थियो। मैले भनेँ, तपाईंहरूलाई ४० त के २० वा १० प्रतिशत पनि दिन सक्तैनौँ। अँ, बरु तपाईंसहित तपाईंका ७/८ जना नेतालाई चुनाव जिताइदिने जिम्मेवारी लिनसक्छौँ।’

कोइरालाले भने, ‘त्यसो भए तपाईंहरूसित हामी रहन सक्तैनौँ, एमालेसित जान्छौँ भत्रे जबाफ प्रचण्डजीले फर्काउनु भयो।’

‘जानुहुन्छ भने जानूस् हाम्रो बोझ नै हलुका हुन्छ, काँधमा कति बोक्ने तपाईंहरूलाई’, शेखरको कथन थियो, ‘मेरो उत्तर यस्तै थियो। मैले भनेँ, लोकतन्त्रवादी बनाउन तपाईंहरूलाई हामीले धेरै काँध थाप्यौँ। तर सकेनछौँ। जानूस्, राम्रै हुन्छ। हाम्रै काँध हल्का हुन्छ।’ 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell