PahiloPost

Jun 24, 2026 | १० असार २०८३

छिमेकीको नाकाबन्दीमा पनि कतारमा तीव्र आर्थिक बृद्धि कायमै



पहिलोपोस्ट

छिमेकीको नाकाबन्दीमा पनि कतारमा तीव्र आर्थिक बृद्धि कायमै

दोहा: कतारको आर्थिक बृद्धिदर तीव्र गतिले भइरहेको कतारको केन्द्रीय बैंकका गभर्नरले बताएका छन्।

गभर्नर सेख अब्दुल्लाह विन साउड अल थानीले खाडी सहयोग परिषद् (जिसीसी) मा पर्ने देशमध्ये पनि कतारमा सवैभन्दा धेरै आर्थिक बृद्धि भइरहेको जानकारी दिए।

उनलाई उद्धृत गर्दै कतार समाचार संस्थाले कतारका छिमेकी देशहरुले नाकाबन्दी गरिरहेका बेलामा पनि तीब्र आर्थिक बृद्धि भइरहेको समाचार संप्रेषण गरेको छ।

समाचारमा जनाइए अनुसार कतारले नाकाबन्दीपछि पनि आर्थिक अवस्था खस्कन नदिन सतर्कता अपनाएकाले बृद्धिदर तीब्र भएको हो।

कतारले सन् २०१७ मा २.५ प्रतिशत कुल ग्राहस्थ उत्पादन हुने प्रक्षेपण गरेको केन्द्रीय बैंकले जनाएको छ।

गभर्नर अल थानीले आगामी बर्ष आर्थिक बृद्धिदर अझ बढ्ने बताए। अन्तर्राष्ट्रिय मुद्रा कोषले हालै सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०१८ मा कतारको आर्थिक बृद्धिदर २.५ बाट बढेर ३.१ पुग्ने अपेक्षा गरेको उनले जानकारी दिए।

साउदी अरब, बहराईन, इजिप्ट र युनाईटेड अरब इमिरेट्स् (युएइ)ले गत जुन ५ देखि कतारमाथी कूटनीतिक समस्या सृजना गर्दै नाकाबन्दी गरेका छन्।

कतारले आतङ्कवादी र अतिवादीहरुलाई सहयोग गरेको, उनीहरुको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र इरानसँगको कुटनीतिक सम्बन्ध बलियो बनाउँदै लगेको लगायतका आरोप नाकाबन्दी गर्ने देशहरुले लगाएका छन्। तर उनीहरुको आरोपलाई कतारले भने पूरै अस्वीकार गरेको छ।

नाकाबन्दी लगाएका देशहरुले कतारसँगको कूटनीतिक समस्या समाधान गर्दै नाकाबन्दी तोड्न १३ बुँदे माग राखेका थिए।

ती मागमध्ये इरानसँगको सम्बन्ध तोड्नु पर्ने र कतारमा रहेका टर्कीका सेनाहरु फिर्ता पठाउनु पर्ने लगायतका मागहरु मुख्य रहेका छन्। सहमति नभएपछि नाकाबन्दी अझै पनि कायमै छ। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell