काठमाडौँ : पूर्वसभामुख दमननाथ ढुंगानाले राजनीतिलाई पेशा नबनाउन दलका नेतासँग आग्रह गरेका छन्।
नेपाली कांग्रेस, बालकोट इकाइ समितिद्वारा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै ढुंगानाले राजनीति कमाइ गर्ने पेशा नभई सामाजिक सेवा भएकाले राजनीतिबाट कमाउन चाहनेले राजनीतिलाई प्रदूषित हुनबाट जोगाउनुपर्ने बताए।
ढुंगानाले निर्वाचनमा हारजित जुनसुकै पक्ष विपक्षको भएपनि राजनीतिभित्र भ्रष्टाचार मौलाउँदै गएकाले नैतिक चरित्र बोकेका नेतालाई मतदान गर्न आग्रह गरे।
उनले निष्ठा, पारदर्शिता र चरित्रवान नेताको समाजमा अभाव देखिएकाले नेताप्रति जनताको विश्वास घट्दै गएको बताए। ढुंगानाले खर्चालु चुनावलाई नरोके युवा भ्रष्ट हुने र कालान्तरमा समाजमा निष्ठाको राजनीति हराउँदै जाने बताए।
लोकतान्त्रिक गठबन्धनबाट भक्तपुर क्षेत्र नम्बर दुईमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार ढुंगानाले माओवादी र सरकारबीच मध्यस्तकर्ता भई माओवादीलाई वार्तामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
भक्तपुरको क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ लोकतान्त्रिक गठबन्धनबाट ढुंगाना र वाम गठबन्धनबाट पूर्वमन्त्री महेश बस्नेतको उम्मेदवारी परेको छ भने नेमकिपाबाट अनुराधा थापा मगर चुनावी मैदानमा छिन्। रासस