PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रकाश पत्नी बीनालाई पत्र : सिर्जनालाई न्याय देऊ



पहिलोपोस्ट

प्रकाश पत्नी बीनालाई पत्र : सिर्जनालाई न्याय देऊ
बीना मगरको फोटो उनको फेसबुकबाट

  • देवकी बिष्ट –
प्रिय नेता बीना मगर,

यतिखेर हामी १६ दिने महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसमा छौं। यसैका कारण हुनुपर्छ मैले आफूलाई रोक्न सकिनँ र लेख्न बाध्य भएँ। यसलाई राजनीतिक र व्यक्तिगत रुपमा नलियोस्। हुन त लाग्ला देशमा यति धेरै महिलाहरु छन् उनीहरुका बारेमा किन लेखिनँ भनेर। तर, तिम्रा बारेमा लेख्नुको पनि कारण छ। तिमी अहिले सबैकी आकर्षणको रुपमा हिँडिरहेकी छौ। तिमीले जे गर्छौ, त्यही अरु महिला र छोरीले सिक्ने छन्। तिम्रा राम्रो पहलमा हाम्रो कञ्चनपुरवासीले धेरै कुरा सिक्नेछन्। भोलि छोरी होस् त बीना मगर जस्तो भन्दा मलाई पनि गर्वको विषय बनोस्। अहिले मैले तिम्रो घाउ कोट्याएजस्तो लाग्ला तर समय आएपछि आफै थाहा पाउनेछौ। 

बीना, तिमी पनि कञ्चनपुरकी छोरी म पनि कञ्चनपुरकी छोरी। तिमी देशको नेतृत्व सम्हाल्नका लागि ती मतदान गर्न योग्य महिला, युवती र ती पुरुषको वर्गको साथका लागि संघर्ष गरिरहेकी छौ। म देशका कुना काप्चामा गएर ती महिला र युवतीका पीडा बुझेर कलम र क्यामेराको माध्यमबाट दु:ख–सुखका कथा ल्याउने कोसिस गरिरहेकी छु। म पनि देशका ७० जिल्ला पुगिसकेँ। तिम्रो र मेरो यात्रामा फरक शब्दको मात्र छ। तिमी राजनीतिक यात्रामा छौ। म पत्रकारिताको। परिवर्तन आफैबाट शुरु गर्नु पर्दछ भन्ने उक्ति मभन्दा पनि तिमीलाई थाहा होला। किनभने तिमी यो पीडाको माहोलमा पनि आफ्ना आँसु लुकाएर देशको मुहार परिवर्तन गर्न हिँडेकी छौ। यो आँसुलाई शक्तिमा परिवर्तन गरिरहेकी छौ। 

केही दिनदेखि समाजिक सञ्जाल र अनलाइन नियालिरहेकी छु। सोचिरहेकी छु के भनुँ? के लेखुँ? मलाई पनि प्रतिक्रिया दिन मन लागिरहेको छ तर लेख्नको लागि यी औंला चलिरहेका थिएनन् तर लेख्नै पर्ने अवस्था आयो। कारण- तिमी पनि "कञ्चनपुरकी छोरी म पनि कञ्चनपुरकी छोरी"। 

प्रचण्ड र सीतालाई परेको पुत्रशोकले धेरैलाई पीडा दिएको छ। प्रचण्ड र सीता त पानीबिनाको माछा झै भएका छन्। जवान छोराको मृत शरीर आँखा अगाडि देख्दा कुन आमाबुवालाई भक्कानो फुट्दैन र? मैले सम्बोधन गरिरहँदा न उनी पार्टीका अध्यक्ष हुन् न त पूर्व प्रधानमन्त्री। मात्र एक पिता। प्रकाशबिना दाहाल परिवारमा अँध्यारो भएको छ। प्रचण्ड चुनावी माहोलमा हिँडिसकेका छन् तर अँध्यारो छ, प्रकाशबिना। 

प्रकाशको मृत्युपछि चर्चाको शिखरमा चुलिएको सम्बन्ध हो ‘बीना मगर र सिर्जना त्रिपाठीको’। तिम्रो र सिर्जनाको तस्वीर राखेर समाजिक संजालदेखि संचार माध्यमका विभिन्न प्रसङ्गहरु पढिरहेकी छु। प्रकाशको मृत्युपछि प्रचण्डलाई बीना र सिर्जनाको कथाले झनै गाह्रो भएको छ। 

राजनीतिमा निकै अव्वल मानिन्छन् पुष्पकमल दाहाल ‘प्रचण्ड’। वास्तवमा भन्ने हो भने उनी जहिले पनि राजनीतिक गोटी चालमा बादशाह नै हुन्। तर, प्रचण्ड घरको बादशाह बनेर गोटी कहिले पनि आफू अनुसार चाल्न सकेनन् कि? चाल्न सकेको भए आज यो अवस्थाले पिरोल्थेन होला। तिमी दुई (सिर्जना र बीना) को सम्बन्धमा प्रसंग र प्रश्न डिजिटल संचार माध्यमदेखि विभिन्न व्यक्तिको मुखमा बसिरहेको बेला तिमीले एकै छिनमा मत्थर पार्न सक्थ्यौ। प्रचण्डलाई परेको संकट तिमीले एकै पटकमा निवारण गर्न सक्थ्यौ। 

तिम्रो विगत धेरै नकोट्याउँ। तिमीले तिम्रो स्थानमा गरेको संघर्षलाई सराहना गर्छु। तर, तिमीले गल्ती गरेकै हौ। यो तिमीले स्वयम् समीक्षा गर्नुपर्छ। सौता भन्ने शब्द हाम्रो समाजमा ठूलो शत्रुसरह बसेको छ। यो शब्द र सम्बन्धलाई जहिले पनि नराम्रोसँग प्रस्तुत गरिएको छ। सायद सिर्जनामाथि सौता आउनु नै तिम्रो ठूलो गल्ती थियो। प्रेम अन्धो हुन्छ भन्थे। त्यो देखियो। तर तिमीले गल्ती सुधार्ने मौका पनि आएको छ। सिर्जनापट्टी ७ वर्षका र तिमीपट्टी दुई वर्षको छोरा छन्। यिनीहरुको अधिकारका बारेमा सबैको चर्चा छ।

तिमीले प्रकाशलाई धेरै प्रेम गर्छौ तर त्यो भन्दा बढी सायद सिर्जनाले गर्छिन्। जसले श्रीमानको साथ नपाउँदा पनि सधैं उसलाई नै पर्खिरही। प्रकाशको मृत शरीर देखेर नर्भिकमा ढलेकी सिर्जनाको प्रेमको परीक्षा कसैले पनि लिन सक्दैन। उसको प्रेम समुन्द्र झै गहिरो रहेछ। त्यसैले कसैले पनि मापन गर्न सकेनन् र अनुमानसमेत लगाउन सकेनन्। एक पटक सोचेर हेर। तिमी सिर्जनाको ठाँउमा भएको भए के गर्थ्यौ?

प्रकाशको मृत्युपछि केही दिन सिर्जनाको बास लाजिम्पाटमा हुँदा त्यसभित्रका कथा बाहिरभन्दा पनि नजिक बस्नेलाई थाहा छ। जुन सोच्दा पनि अफशोस लाग्छ। त्यसपछि मंसिर ८ गते लाजिम्पाटबाट सिर्जनाको बहिर्गमनले ठूलै खलबली मच्चियो। अति नै भएपछि सिर्जनाले पोखरा पुगेर संचारमाध्यमा अभिव्यक्ति नै दिइन्। त्यसपछि फेसबुकमा समेत लेखिन् “बुवा (प्रचण्ड) को सल्लाहमा आएको”। सिर्जना कहिले पनि अदालत गइनन्। उनका लागि प्रचण्ड न्यायका मूर्ति हुन्। जहिले पनि प्रचण्डको मुख हेरर उनकै  सल्लाहमा चुप लागिरहिन्। सायद, अब समय आएको छ। प्रचण्डले न्याय दिने।

विगत जे भयो भयो। अब सिर्जना र बीना प्रचण्डका दुई हात बन्नु पर्दछ। उनका दुई नाति प्रचण्ड र सीताका ज्योति हुन्। पीडा त बीना, तिम्रो र सिर्जनाको एउटै हो। प्रकाशकै लागि बीना पनि रोइरहेकी छिन् भने सिर्जना पनि। सुखमा तिमी दुवै जनासँगै हिँडेनौ। दुःखमा त सँगै हिँडेमा दुवै जनालाई बाटो सहज हुन्थ्यो होला। प्रकाशको चिता दनदनी बलिरहँदा पशुपति आर्यघाटमा आँखामा आँसु र हातले अभिवादन गर्दै जसरी प्रचण्डले पिता र नेताको भूमिका निभाए, बीना, के तिमी सिर्जनासँगको सम्बन्धमा हामी आशा राख्न सक्छौ? तिमी राजनीतिकी प्रतिमूर्ति हौ भने सिर्जना सहनशीलताकी प्रतिमूर्ति हुन्। यो वातावरण  सहज बनाउन बीना तिमीले सहजिकरण गर्नुपर्छ। सिर्जनाले अहिलेसम्म गरेका त्याग हेर बीना, सौताको रुपमा होइन। एक पटक तिम्रो दिदीको रुपमा हेर। तिम्रा अफ्ठ्यारा सबै मत्थर हुनेछन्। तिम्रो नजर परिर्वतन गरेर हेर। तिमीलाई पहाड पनि मैदान लाग्नेछ। 

तिमी एक साधारण महिला हुँ भन्दै जसरी कञ्चनपुरको दक्षिण भेगमा भोट माग्दै हिड्छ्यौ। त्यसरी साधारण महिला भएर एक महिलाको अवस्थालाई बुझ्ने कोसिस गर। तिमीलाई सबै सहज लाग्नेछ। हाम्रो यो समाजमा धेरै महासयले भन्ने गर्छन् - ‘महिला नै महिलाको खुट्टा तान्छन्।’ उखानलाई उल्टो प्रमाणित गरिदेऊ। यो समाजलाई तिमी नयाँ उदाहरण दिएर अगाडि बढ। कञ्चनपुरमा तिमीले म प्रचण्डको बुहारी भएर निर्वाचन लडेकी होइन भनेर भाषण गरेको सम्झना होला। तिमी यदि साँच्चै आफ्नै योग्यता र बलमा यो निर्वाचनमा प्रतिस्पर्धा गर्दैछौ भने किन तिमी आफ्नै घरमा सिर्जना आउँदैमा डराउनु पर्ने भयो?

बीना कञ्चनपुर क्षेत्र नम्बर १ का ८८ हजार ५९ मतदाताहरुको आशा बन्न चाहन्छौ? वास्तवमै हो भने, तिमी उनीहरुको लागि सामाजिक न्यायको मूर्ति बन्ने कि हिंसाकी प्रतीक? प्रश्न तेर्सिएको छ। तिमी दक्षिणी भेगका जनताका लागि सडक पुर्‍याउनेदेखि हिंसामुक्त समाजका लागि भनेर निर्वाचन लडिरहेकी छौ। यदि तिमी साँच्चै महिला मुक्तिका लागि अगाडि बढिरहेकी छु भनेर नारामा मात्र सीमित रह्यौ भने प्रश्न तिमीप्रति नै सोझिएको छः घरको समस्या सुल्झाउन नसक्नेले देशको नेतृत्व सम्हाल्न सक्छ? के यो न्यायको लडाइँलाई तिमीले लाजिम्पाट निवासबाट शुरु गर्न सक्छेउ? के तिमीले सिर्जनालाई आफूसँगै चुनावी मैदानमा लगेर हिँड्न सक्छेउ? के तिमीले प्रकाशले गर्न नसकेको न्याय अबका दिनमा दिन सक्छेउ? के तिमीले यो समाजलाई महिला साँच्चै न्याय, ममता र शक्तिकी स्वरुप हुन् भनेर प्रमाणित गर्न सक्छेउ? के तिमी आफूले गरेका गल्तीलाई सुधार्ने मौका दिन्छेउ? के तिमीले यो समाजलाई बीना मगर जस्ती छोरी हुनु भनेर आशीर्वाद दिने उदाहरण कि पात्र बन्न सक्छेउ? 

शुभकामना तिमीलाई
घर देखि देश परिवर्तनका लागि
लाजले होइन गर्वले भन्न सकुँ म कञ्चनपुरकी छोरी भनेर

उही तिम्रो शुभचिन्तक 
देवकी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell