PahiloPost

May 14, 2024 | १ जेठ २०८१

आन्दोलनकारी दल प्रचारमा व्यस्त, के गर्दैछन् मधेसमा चुनावविरोधी समूह?



बीपी साह

आन्दोलनकारी दल प्रचारमा व्यस्त, के गर्दैछन् मधेसमा चुनावविरोधी समूह?

काठमाडौं : संविधान संशोधनको माग राखी निर्वाचनको विरोध गर्दै आएका मधेशका मूलधारका पार्टीहरु अहिले निर्वाचनमा होमिएका छन्। तर पहिलो संविधान सभाको निर्वाचनदेखि नै विरोधमा रहेका मधेशका सशस्त्र समूहले भने हालका दिनमा फेरि निर्वाचन विरोधी गतिविधि बढाउन थालेको देखिएको छ।

जयकृष्ण गोइतको नेतृत्वमा २०६१ सालमा स्थापना भएको जनतान्त्रिक तराई मुक्ति मोर्चा हाल अखिल तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले निर्वाचनको विरोधमा विभिन्न स्थानमा बम विस्फोट गराएका छन्।

गोइतले पछिल्लो साता सिरहामा वाम गठबन्धनका उम्मेदवार एवं पूर्वमन्त्री अजयशंकर नायकको चुनावी क्याम्प नजिकै बम विस्फोट गराएका थिए भने आइतबार दिउँसो सिरहा मै प्रहरीसँग झडप हुँदा एक जना म्यादी प्रहरीसहित एक प्रहरी जवान घाइते भएका छन्।

त्यसअघि गोइतले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गरी बम प्रहारको प्रयास गरेका थिए।

गोइतले यस्ता घटनाको जिम्मेवारी लिँदै विज्ञप्ति जारी गर्ने गरेका छन्। पहिलोपोस्टसँगको कुराकानीमा गोइतले भने,‘हामी स्वतन्त्र तराईको पक्षमा छौं। नेपाल सरकारले बन्दूकको बलमा निर्वाचन गराउन खोजेकोले हामीले बन्दूकको जवाफ बन्दूकबाटै दिदै आएका हौँ।’

पहिलो संविधान सभाको निर्वाचनमा गोइतको सप्तरीस्थित गाउँको मतदान केन्द्रमा एउटा पनि भोट खसेको थिएन। 

प्रथम मधेश आन्दोलन ताका मधेशमा कयौं सशस्त्र समूह रहेपनि पछिल्लो समय गोइत समूह बाहेक अन्य समूहहरु सक्रिय छैनन्। अधिकांश समूहका लिडरहरु मारिएका छन् भने राजन मुक्ति र मुकेश चौधरी जेलमा छन्। बाँकी केही नेता सीमा पारी निस्क्रिय बसेका छन्।

के गर्दैछन् सीके राउत ?

डा.सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले चुनावलाई अवसरको रुपमा प्रयोग गर्ने बताउँदै आएको छ। डा.राउतले प्रत्यक्ष रुपमा निर्वाचनको विरोध नगरेपनि ‘राइट टु रिजेक्ट’ अभियान चलाएका छन् जसअनुसार गठबन्धनका कार्यकर्ताहरु घर–घरमा पुगेर प्रचारप्रसार गर्दैछन् र संगठन पनि विस्तार गर्दैछन्।

उनको गठबन्धनले अन्य दल जस्तै चुनावी आम सभा गरेर मत बदर गर्न आग्रह गर्ने गरेका छन्। मधेशका विभिन्न जिल्लामा मत बदरका लागि पर्चा पम्पलेटहरु पनि टाँसिएका छन्।

मत बदर अभियानबारे डा.राउतले आफूहरु लोकतन्त्रमा विश्वास गर्ने भएकोले लोकतन्त्रिक विधिबाटै माग राख्ने प्रयास गरेको बताउँछन्। आफुहरु कुनै पनि निर्वाचनको विरोधमा नभएको बताउँदै निर्वाचनको माध्यमबाटै मधेशमा स्वतन्त्र मधेशका लागि जनमत संग्रह हुने डा.राउतको दाबी रहेको छ।

प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो निर्वाचनको मतदान नजिकिदै जाँदा डा.राउतका कार्यकर्ताहरुले प्रचार प्रसारलाई तीब्रता दिएका छन्। यसक्रममा आधा दर्जनभन्दा बढी कार्यकर्ताहरु पक्राउ परिसकेका छन्।
 
यसअघि स्थानीय निकायको निर्वाचनमा ‘कोठली बाहिर’ मतदान अभियान चलाएका डा.राउतले आफ्नो सप्तरीस्थित गाउँमा ४८ प्रतिशतभन्दा बढी मत बदर भएको दावी गरेका थिए।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell