तेह्रथुम : प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न चुनावमा जनताले कम्युनिष्टहरुलाई बहमुत दिए फेरि नेपालमा चुनाव नै नहुने बताएका छन्।
तेह्रथुमको म्याङ्लुङमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कांग्रेसले हारे लोकतन्त्रले नै हार्ने बताए।
प्रधानमन्त्रीले भने,‘लोकतन्त्रमा नागरिकले स्वतन्त्रतापूर्वक बाँच्न पाउने, लेख्न पाउने, बोल्न पाउने, फरक विचार राखेर आन्दोलन गर्न पाउने अधिकार राख्छन्, तर कम्युनिष्टको साम्यवादी शासनमा नागरिकले स्वतन्त्ररुपमा हिँडडुलसमेत गर्न पाउँदैनन्।’
वाम गठबन्धनले बहुमत पाए अहिलेको संविधान खारेज गरेर साम्यवादी कम्युनिष्ट शासन लागू गर्ने योजनामा रहेकासमेत प्रधानमन्त्रीले दाबी गरे।
‘नेपाली कांग्रेसबाहेक बहुदलीय प्रजातन्त्रमा विश्वास गर्ने कुनै पनि प्रजातान्त्रिक पार्टी छैन, प्रधानमन्त्री देउवाले भने,‘नेपाली कांग्रेसले हार्दा प्रजातन्त्र हार्छ, त्यसैले यो चुनाव जित्न आवश्यक छ।’
उनले कांग्रेसले जनतालाई मालिक मानेर सर्वसत्ता सम्पन्न अधिकार दिएको तर कम्युनिष्टहरुले जनतालाई सधैँ डर त्रासमा राखेर शासन गर्न खोजेको आरोपसमेत लगाए।
सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनबाट देशमा अनिष्ट आउने दाबी गर्दै कम्युनिष्टहरु सधैँ हिंसाको बाटोतर्फ अग्रसर रहने अरोप लगाए।रासस