
- कृष्णराज गौतम
यस क्षेत्रका अधिकांश स्थानमा दुबै गठबन्धनबाट दिनहुँ हुने राजनीतिक गतिविधि तथा त्यहाँ सहभागी हुने स्थानीयबासीको संख्यालाई आधार बनाउने हो भने कुन दलले चुनावी बाजी मार्ने भन्नेमा अहिले नै यकिन गर्न कठिन छ।
राजधानीको यस निर्वाचन क्षेत्रमा दुई नेवार समुदायका उम्मेदवारबीचको प्रतिस्पर्धालाई उपत्यकाका अन्य निर्वाचन क्षेत्रमासमेत निकै चासोपूर्वक हेरिएको छ।
नेवार समुदायको बढी घनत्व रहेको यस क्षेत्रमा दुबै नेवार उम्मेदवारमा कसले बढी मत लिनसक्छ, उसले नै विजय हासिल गर्नसक्ने भएकाले जातीय मत तान्न प्रतिस्पर्धा चलेको छ।
काठमाडौँ महानगरपालिका केही भाग तथा चन्द्रगिरी र नागार्जुन नगरपालिका पनि केही वडासमेत जोडिएको यस क्षेत्रमा प्रतिनिधिसभामा लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका ध्यानगोविन्द रञ्जित र वाम गठबन्धनबाट नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ मुख्य प्रतिस्पर्धी देखिएका छन्।
निर्वाचन क्षेत्रमा महानगरपालिकाका वडा क्रमशः १२, १४, २१ र २२, चन्द्रगिरी नगरपालिकाका क्रमशः १, १२, १३, १४ र १५ वडा र नागार्जुन नगरपालिका ६, ७, ८, ९ र १० वडा परेको छ। त्यसमा एकजना प्रतिनिधिसभा सदस्य तथा दुई प्रदेशबाट दुई सदस्य निर्वाचित हुनेछन्।
स्थानीय तहमा नेपाली कांग्रेसले सात वडा र एमालेले सात वडामा अध्यक्ष पद जितेका छन्। त्यस आधारमा प्रतिस्पर्धा कडा देखिएको छ।
जनसंख्याका आधारमा कांग्रेस भन्दा एमाले केही मतले अगाडि देखिएको र माओवादी केन्द्रको सहयोगमा निर्माण भएको वामगठबन्धन अझै बलियो देखिएका छन्। स्थानीय तहमा वामपन्थीले लिएको अग्रताका आधारमा उनीहरु उत्साहित देखिएका हुन्।
इतिहासका विभिन्न कालखण्डमा नेताद्वय रञ्जित र श्रेष्ठले जनतालाई विश्वासमा लिएर एक अर्कालाई चुनावमा पराजित गरेको अनुभव छ।
विसं २०४८ मा यो क्षेत्र तत्कालीन क्षेत्र नम्बर ५ मा परेका बेला जनताको बहुदलीय जनवादका प्रणेता नेता मदन भण्डारीले चुनाव जितेको स्थानमा उपनिर्वाचन हुँदा एमाले नेता श्रेष्ठले जितेका थिए।
विसं २०५१ मा श्रेष्ठले कांग्रेसका रञ्जितलाई र २०६४ र २०७० मा भएको संविधानसभा निर्वाचनमा रञ्जितले श्रेष्ठलाई पराजित गरेका थिए।
प्रतिनिधिसभाका उम्मेदवारद्वय रञ्जित र श्रेष्ठ दुबैले जनताको दुःख सुखलाई नजिकबाट अनुभव गरी सद्भाव साटन पाएकाले सेवाको अवसर आफूलाई दिने जिकिर गरेका छन्।
प्रदेशसभाका उम्मेदवारमा वाम गठबन्धनबाट प्रदेश (क) मा नेकपा एमालेका डा अजयक्रान्ति शाक्य र प्रदेश (ख) मा नेकपा माओवादी केन्द्रका केशवप्रसाद पोखरेल छन्। त्यस्तै लोकतान्त्रिक गठबन्धनबाट दुबै प्रदेशमा नेपाली कांग्रेसका (क) मा उम्मेदवार इन्द्रमान तुलाधर र (ख) मा धर्मराज गौतम छन्।
स्थानीय तहमा महानगरका चारै वडामा एमालेले ठूलो मतअन्तरले कांग्रेसलाई जितेका कारण वाम गठबन्धनले सजिलै जित्नसक्ने प्रदेश (क) का नेकपा एमालेका उम्मेदवार शाक्यले बताए।
प्रदेश (ख) मा नेकपा माओवादी केन्द्रका पोखरेलले स्थानीय विकास तथा पूर्वाधार निर्माणका साथै सीतापाइला रामकोट भीमढुंगा हुँदै धार्के सडक खण्ड पूरा गर्न वाम गठबन्धनले प्राथमिकतामा राखेकाले पनि जित निश्चित रहेको बताए।
त्यस क्षेत्रको स्थानीय विकास कार्यमा स्थानीय सहभागिता बढाउने योजना र दृष्टिकोण कांग्रेससँग रहेकाले जित्ने आधार रहेको तुलाधरले बताए।रासस