भक्तपुर : नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का तर्फबाट भक्तपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार अनुराधा थापा मगरले भारतीय दलाल र गुन्डालाई परास्त गरी मुलुकलाई समाजवादमा लैजानका लागि आफ्नो उम्मेदवारी भएको दाबी गरेकी छन्।
सोमबार भक्तपुरको गुन्डुमा घरदैलो अभियानका क्रममा आयोजित कोणसभामा आफ्ना प्रतिद्वन्द्वी कांग्रेस र एमालेका उम्मेदवारप्रति लक्षित गर्दै थापा मगरले भनिन्, ‘भ्रष्टाचारी, गुन्डा र भारतीय दलाल घरदैलोमा आइरहेका छन्। उनीहरुलाई परास्त गर्न मजदुर किसान पार्टीले उम्मेदवारी दिएको हो।’
यस क्षेत्रमा कांग्रेसबाट पूर्व सभामुख दमननाथ ढुंगाना र एमालेबाट पूर्वमन्त्री महेश बस्नेत मगरका प्रतिद्वन्द्वी हुन्।
ठूला दलले गर्दा नै आन्तरिक मामिलामा भारतले हस्तक्षेप बढाएको भन्दै उनले त्यस्ता दललाई खारेज गर्ने कानुन बनाउन आफ्नो दल प्रतिनिधिसभामा पुग्नुपर्ने बताइन्।
भनिन्, ‘स्वाधीन देशमा भारतले लेन्डुप दोर्जेजस्ता व्यक्तिहरु तयार गरेको छ। नेपालको आन्तरिक मामिलामा भारतीय हस्तक्षेप आउन बाध्य पार्ने दलहरुलाई परास्त गर्न चाहान्छौं। अपराधी, गुन्डा, बलात्कारी, भ्रष्टाचारी, तस्करी, माफिया ठूला दलमा छन्। त्यस्ता पार्टीलाई खारेज गर्ने कानुन हामी बनाउँछौं।’
नाकाबन्दीविरूद्ध नेमाकिपाले आवाज उठाएकैले भारत झुक्न बाध्य भएको भन्दै मगरले नेपाल भारतको भरमा बाँच्न नहुने बताइन्।
उनले देश आत्मनिर्भर बनाउन विश्वविद्यालयसम्म शिक्षा निःशुल्क हुनुपर्ने, स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने र ती सबै व्यवस्था नेमकिपाले गर्ने प्रतिबद्धता जनाइन्।
मगरले महिलालाई श्रमशक्तिमा बदल्न हरेक वडामा शिशु स्याहार केन्द्र बनाएर समाजवादी बन्दोबस्ती गर्ने र भ्रष्टाचारीलाई मृत्युदण्ड दिने कानुन बनाउन नेमकिपा संसदमा पुग्नै पर्ने बताइन्।