PahiloPost

May 14, 2024 | १ जेठ २०८१

दल बदलेर चुनावी खालमा हाम फालेका मधेशी नेता को कति सुरक्षित?



चन्द्रकान्त खनाल

दल बदलेर चुनावी खालमा हाम फालेका मधेशी नेता को कति सुरक्षित?

रुपन्देही : पूर्वमन्त्री ओमप्रकाश यादव गुल्जारी रुपन्देही ४ बाट चुनाव लड्दै छन्। उनी यस पटक एमालेको ओतमा छन्। पटकपटक पार्टी परिर्वतन गर्ने उनी राजपा छाडेर प्रतिनिधि सभातर्फबाट वाम गठबन्धनमा आफ्नो भाग्य खोज्दैछन्।

राजपाबाट टिकट नपाउने भएपछि उनी उम्मेदवारी दर्ताको तीन दिनअघि मात्रै एमाले प्रवेश गरेका थिए। अहिले उनी चुनावी अभियानमा छन्।

यसो त पार्टी फेरेर चुनाव लडिरहेका गुल्जारी एक्ला भने हैनन्।

सत्ताका लागि मधेश केन्द्रीत दलमा स्थान र भविष्य नदेखेपछि ती दलमा आवद्ध धेरै नेता यो पटक ठूला दलको शरणमा पुगेका छन्। राजनीतिक अभिष्ट र उदेश्य पूर्तिका लागि दल फेर्नेमा धेरै मधेशवादी दल आवद्ध नेता नै छन्।

कपिलवस्तु ३ मा अभिषेक प्रताप शाह, सोही ठाउँमा ईश्वर दयाल मिश्र, नवलपरासी १ बाट  हृदयश त्रिपाठी पुरानो घर छाडेर नयाँ डेराबाट आफ्नो राजनीतिक जीवनको चित्र कोर्दैछन्।

घरबाट डेरा सरेर चुनावी खालमा हाम फालेका नेता कत्ति सुरक्षित छन्? चुनाव हारे उनीहरुको राजनीतिक भविष्य के होला? धेरैले चासो राख्ने गरेका छन्।

 

सूर्यको भरोसामा हृदयश

नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्यका हृदयश त्रिपाठी राजपा छाडेर सूर्य चिह्नमा चुनाव लड्दैछन्। राजपा छाडेका त्रिपाठी स्वतन्त्र समूहको नाममा एमालेसँग मिलेर चुनावमा होमिएका हुन्।

सत्ता राजनीतिको वरिपरि रमाउन चाहने त्रिपाठी राजपाबाट चुनाव लड्दा हार्ने डरले सुरक्षित हुन वाम गठबन्धनमा सामेल भएको टिप्पणी हुने गरेको छ। पूर्वमन्त्रीसमेत रहेका उनी पार्टी प्रवेश नगरे पनि सूर्य चिह्नको ओतमा लागे। सूर्यको तापले उनलाई कति साथ दिन्छ परीक्षणकै विषय छ।

कुनै समय एमाले मधेश विरोधी पार्टी भएको आरोप लगाउने त्रिपाठी अहिले वाम गठबन्धनले मात्र स्थायित्व दिने भन्दै मत मागिरहेका छन्। यसअघि त्रिपाठी कांग्रेसका देवकरण प्रसाद कलवारसँग नवलपरासीबाटै चुनाव हारेका थिए। अहिले पनि त्रिपाठीका प्रतिस्पर्धी कलवार नै हुन्।

 

दुई नयाँ यादवविरुद्ध पुराना शुक्ला

राजपा उपाध्यक्ष छाडेर रुपन्देही ४ मा एमालेबाट चुनाव लडेका पूर्वमन्त्री ओम प्रकाश यादव गुल्जारी अहिले सूर्य चिह्न अंकित झण्डा फहराउँदै घरघरमा घुमिरेहका छन्। चुनाव जित्नैकै लागि पार्टी छाड्ने गुल्जारी यसपटक चुनौतीका चाङमा छन् । मधेश केन्द्रीत दलको पकड क्षेत्रमा अंक गणितका हिसाबले उनी डेन्जर जोनमा छन्।

यो क्षेत्रमा राजपाका नेता सर्वेन्द्रनाथ शुक्लाको दबदबा छ। प्रतिनिधिसभा निर्वाचनमा रूपन्देही ४ मा वाम गठबन्धनबाट गुल्जारी, नेपाली कांग्रेसका प्रमोद यादव र राजपाका नेता सर्वेन्द्रनाथ शुक्लाबीच त्रिपक्षीय भिडन्त रहेको छ। पहिले पनि मधेश केन्द्रित दलहरुले चुनाव जित्दै आएका थिए।

कांग्रेस उम्मेदवार यादव पनि हालसालै कांग्रेस प्रवेश गरी टिकट पाउने नेता हुन्। यादवलाई प्रवेश गराउन सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल महामन्त्री डा. शशांक कोइराला लगायतका नेता रुपन्देही आएका थिए। व्यवसायमा आवद्ध यादव राजनीतिमा नयाँ अनुभव भएका कारण त्यति सजिलो छैन।

स्थानीय तहको निर्वाचनमा यहाँ कांग्रेसले १० हजार ५०९, एमालेले २ हजार ३०९, माओवादी केन्द्रले २ हजार २६४, संघीय समाजवादी फोरमले १० हजार २६६, राप्रपाले १० हजार २६६ र फोरम लोकतान्त्रिकले ७ हजार ८०१ मत पाएका थिए।

 

चारतारा कि एक सूर्य

फोरम उपमहासचिव छाडेर नेपाली कांग्रेस प्रवेश गरेका कपिलवस्तु क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार अभिषेक प्रताप शाह पुख्र्यौली राजनीतिक वातावरणमा हुर्किएका नेता हुन्।

उनी २०६४ र ०७० को संविधानसभा सदस्य निर्वाचनमा कपिलवस्तुबाट विजयी भएका थिए। उनी अजयप्रताप शाहका छोरा हुन्। अजय प्रतापले राप्रपाबाट २०५६ सालमा सोही क्षेत्रबाट चुनाव जितेका थिए। सम्पत्तिका हिसाबले सम्पन्न शाह शक्ति केन्द्रमा आफ्नो प्रभुत्व कायम राख्न चाहन्छन् । फोरमबाट टिकट नपाउने भएपछि उनले कांग्रेसको साथ खोजेका हुन्।

नवप्रवेशी शाहका प्रतिस्पर्धी पनि नवप्रवेशी नै छन्। राजपा छाडेर सूर्यको ओत लगेका ईश्वर दयाल मिश्र शाहका प्रतिस्पर्धी हुन्। राजपा छाडेर वामपन्थीको शरणमा पुगेका मिश्र २०४९ सालमा कुसुहवा गाविसवाट अध्यक्ष हुँदै राजनीतिमा उदाएका हुन्। ०६४ मा उनी तमलोपाबाट संविधानसभा सदस्य बनेका थिए।

बावुराम भटराई प्रधानमन्त्री हुँदा भौतिक पूर्वाधार मन्त्रालयको राज्यमन्त्री रहेका मिश्र सत्ता राजनीतिकै वरिपरि बस्न चाहन्छन्। मतदाताबीच छुटै परिचय बनाएका मिश्रले वामपन्थीहरुको साथ पाएपछि बलियो प्रतिस्पर्धी बनेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले १४ हजार ९९८, एमालेले १५ हजार ५७८, माओवादीले ६ हजार ८९८, राप्रपाले ४ हजार ११८ र समाजवादी फोरमले ९ हजार १८० मत पाएका थिए।

 

बृजेशलाई तताउला सूर्यले?

स्थानीय तह निर्वाचन बहिस्कार गर्ने राजपाको निर्णयविरुद्ध उभिएका नेता हुन् बृजेश कुमार गुप्ता। हृदयश त्रिपाठीसँगै स्वतन्त्रको नाममा वाम गठबन्धनको टेकोबाट कपिलवस्तु क्षेत्र नम्बर २ बाट गुप्ता चुनावमा भिड्दैछन्।

गुप्ता पनि पुख्र्यौली राजनीतीबाट उदाएका हुन्। २०३८ र ०४३ सालमा राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित उनका बाबु भगवान दास गुप्ताको निधनपछि बृजेश राजनीतिमा आएका हुन्।

इन्जिनियरङ अध्ययन गरेको गुप्ता २०५६ को संसदीय निर्वाचनमा विजयी भइ  राजनीतिक यात्रा शुरु गरेका हुन्।

बृजेश मधेश आन्दोलनको अगुवाइमा थिए। उनी कपिलवस्तु ३ बाट २०६४ र ०७० मा निर्वार्चित भए। गुप्तासँग कानुनमन्त्रीको जिम्मेवारी समालेको अनुभव छ। उनले कांग्रेसका सुरेन्द्रराज आचार्य र संघीय समाजवादी फोरमका रामनरशे यादवको सामना गर्नुपर्नेछ।

स्थानीय तह निर्वाचनमा कांग्रेस र फोरम लोकतान्त्रिकको गरी ३१ हजार ४९९ मत पाएको छ। वाम गठबन्धनले ३४ हजार ८५२ मत प्राप्त गरेका छन्। जसमा ३ हजार मतले वाम गठबन्धनअघि देखिएको छ।

सो क्षेत्रमा रहेको नयाँ शक्तिको २ हजार ७ सय मतका साथै संघीय समाजवादी फोरमको २२ सय मत निर्णायक बन्न सक्ने अनुमान अधिकांशको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell