PahiloPost

May 14, 2025 | १ जेठ २०८२

राजविराजमा शक्तिशाली बम विष्फोट गराउने योजना असफल, दुई किलो आरडिएक्स बरामद

राजविराजमा शक्तिशाली बम विष्फोट गराउने योजना असफल, दुई किलो आरडिएक्स बरामद

राधेश्याम पटेल/पहिलोपोस्ट


वीरगंज : सप्तरीमा शक्तिशाली बम विष्फोट गराउने योजना असफल भएको छ। नेपाली सेनाको टोलीले आज बिहान प्रेसरकुकरमा निर्माण गरिएको रिमोट बम निस्कृय गरेको छ।

भीम दल गणको टोलीले सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय रञ्जितपुर नजिक बम निस्कृय गरेको हो। सोमबार मध्यरात बम फेला पारी मंगलबार बिहान सप्तरीको राजविराज–कुनौली सडकखण्डस्थित सीमा सुरक्षा कार्यालय सप्तरी नजिक बम निस्कृय गरिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेश सिंहले बताए।

सप्तरी प्रहरीले पाएको गोप्य सूचनाको अधारमा नहर चोक नजिक शंकास्पद दुई जनालाई चेकजाँच गर्दा अत्याधुनिक रिमोट फेला परेपछि ती दुवैलाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान शुरु गरेको थियो।

रिमोट फेला परेको केही घण्टामा नहर चोक नजिकबाटै शक्तिशाली बम बरामद गरिएको थियो। पक्राउ परेका दुई जनाको विवरण भने गोप्य राखिएको छ।

बमसँगै दुई किलो आरडिएक्स (विष्फोटक पदार्थ) समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। राजविराजका कुनै उम्मेदवार वा नेताको घरलाई लक्षित बम विष्फोट गराउने योजना हुन सक्ने सप्तरी प्रहरीको प्रारम्भिक अनुसन्धान छ।


ट्रेन्डिङ पोस्ट

Ncell