PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

कांग्रेसको समर्थन पाएका फोरम अध्यक्ष उपेन्द्रलाई वाम गठबन्धन र स्वतन्त्र उम्मेदवारको चुनौती



रासस

कांग्रेसको समर्थन पाएका फोरम अध्यक्ष उपेन्द्रलाई वाम गठबन्धन र स्वतन्त्र उम्मेदवारको चुनौती

राजविराज : सप्तरी जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा अहिले चुनावी रौनक निकै बढेको छ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य उमेश यादव तथा राजपाका पूर्व सहमहामन्त्री स्वतन्त्ररुपमा उम्मेदवारी दिएका जयप्रकाश ठाकुर चुनावी मैदानमा छन्।

यो क्षेत्रमा मधेश गठबन्धन र वाम गठबन्धन तथा स्वतन्त्र उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएकाले कसले बाजी मार्ला भन्ने सबैको नजर सप्तरी क्षेत्र नं २ प्रति ध्यान गएको देखिएको छ।

यता कांग्रेसका उम्मेदवार सकलदेव सुतिहारले भने मधेश गठबन्धनका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन गरेका छन्।

करिब ७९ हजार २६३ मतदाता रहेको यस क्षेत्रमा फोरम–राजपाको चुनावी गठबन्धन र एमाले–माओवादीबीचको चुनावी तालमेललाई हेर्ने हो भने यी दुई गठबन्धनबीच नै अन्तिम प्रतिस्पर्धा हुने स्थानीय बुद्धिजीविको भनाइ रहेको छ।

तर दुवै गठबन्धनका उम्मेदवारलाई चुनौती दिँदै स्वतन्त्ररुपमा उम्मेदवारी दिएका ठाकुर पनि पछाडि परेका छैनन्। राजपाले टिकट नदिएपछि उनी स्वतन्त्ररुपमा भए पनि उम्मेदवार भएर कडा चुनौतीका साथ चुनावी तालमेलमा उत्रेका छन्।

चुनावी मैदानमा रहेका फोरम अध्यक्ष यादव यसअघि पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा मोरङ र सुनसरीबाट चुनाव उम्मेदवार बनेका थिए।

अध्यक्ष यादवले पहिलो संविधानसभामा मोरङ र सुनसरीको दुवै क्षेत्रबाट विजय प्राप्त गरेका थिए। तर २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा यादव सुनसरीबाट विजयी भएका थिए।

त्यस्तै उनलाई कडा टक्कर दिन चुनावी मैदानमा रहेका माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं पूर्वसिँचाइ मन्त्री उमेशप्रसाद यादवले पनि यसअघि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन सप्तरी क्षेत्र नं ३ बाट फोरमका उम्मेदवार शलेन्द्रप्रसाद साहलाई पराजित गरी निर्वाचित भएका थिए।

यता राजपाका पूर्व सहमहामन्त्री जयप्रकाश ठाकुर मधेश गठबन्धनको विरुद्धमा स्वतन्त्र उम्मेदवार बनेका छन्। उनी पनि यसअघि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन तमलोपा पार्टीबाट चुनाव लडेका थिए।

कांग्रेसको केन्द्रीय परिपत्रअनुसार सप्तरी प्रतिनिधिसभा क्षेत्र नं २ बाट मधेश गठबन्धनका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन गर्न निर्देशन आएकाले फोरम अध्यक्ष बलियो देखिए पनि वाम गठबन्धनका उमेश यादवलाई एमाले र माओवादी केन्द्रको साथ छ।

सप्तरी क्षेत्र नं २ को प्रदेशसभा सदस्यमा पनि गठबन्धन र वाम गठबन्धनबीचको प्रतिस्पर्धा देखिएको छ भने स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा रहेका छन्।

२ को (क)मा राजपा–फोरम गठबन्धनबाट शलेन्द्रप्रसाद साह र नेपाली कांग्रेसबाट रञ्जित कर्ण हुनुहुन्छ। त्यस्तै २ को (ख)मा वाम गठबन्धनको तर्फबाट महेश यादव र राजपा–फोरम गठबन्धनबाट राजपाका महासचिव मनिषकुमार सुमन चुनावी मैदानमा छन्।

यस्तै राजपाले टिकट नदिएपछि असन्तुष्टि जनाउँदै लक्ष्मण यादवले पनि महासचिव सुमनका विरुद्धमा स्वतन्त्र उम्मेदवारी दिएर कडा प्रतिस्पर्धाका साथ चुनावी मैदानमा छन्।

सप्तरी क्षेत्र नं २ मा छिन्नमस्ता, तिलाठी कोइलाडी, महदेवा गाउँपालिका र राजविराज नगरपालिका पर्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell