PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

अर्थशास्त्री राजन भन्छन्- पपुलिष्ट राष्ट्रवाद देशभक्ति होइन, यस आर्थिक वृद्धिमा समेत असर गर्छ



पहिलोपोस्ट

अर्थशास्त्री राजन भन्छन्- पपुलिष्ट राष्ट्रवाद देशभक्ति होइन, यस आर्थिक वृद्धिमा समेत असर गर्छ

नयाँ दिल्ली : प्रख्यात अर्थशास्त्री एवं भारतीय केन्द्रिय बैंक (आरबिआई) का पूर्वगभर्नर रघुराम राजनले पपुलिष्ट (लोकप्रियतामुखी) राष्ट्रवादले आर्थिक वृद्धिमा नै गम्भिर असर पार्ने उल्लेख गरेका छन्। जनसंख्यामा बहुमत रहेको जाति विशेषलाई पपुलिष्ट राष्ट्रवादले धेरै छुने उनको भनाइ छ।


नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा यस्तो राष्ट्रवाद विश्वभर नै हाबी भएको र भारतलाई समेत त्यसले गाँजेको उनले बताए। 'पपुलिष्ट राष्ट्रवादले आर्थिक वृद्धिमा संकुचन ल्याउने मात्र होइन अर्थतन्त्रलाई नै उल्टो दिशामा उन्मुख गराउन सक्छ, उनले भने- किनभने यसले समाजमा विभाजन ल्याउँछ। यसले बहुमत जातिलाई अल्पमत विरुद्ध उग्र हुन उकास्छ।' साधारणतया राजनीतिक विषयमा टिप्पणी नगर्ने राजनले एक प्रश्नको जवाफ दिँदै यसो भनेका हुन्।


'भारत मात्र होइन विश्वभर नै पपुलिष्ट राष्ट्रवाद हाबी भएको छ र व्यक्तिहरुले यसलाई शोषण विरुद्धको बदलामा प्रस्तुत गरिरहेका छन्' उनले थपे। पिछडिएको जाति तथा वर्गले पाएको आरक्षण यस्तो भावनाको एक कारकको रुपमा रहेको उनको भनाइ छ।

 

'यसलाई सम्बोधन गर्न रोजगारी लगायतका आर्थिक समस्यामा केन्द्रित हुन जरुरी छ, उनले भने- वर्षौँदेखि भेदभावमा परेका निम्न वर्गका जातिले केही अवसर र आरक्षण पाएकै भरमा बहुसंख्यक तथा उच्च वर्गले बदलाको भाव राख्नु राम्रो होइन।' राजनले पपुलिष्ट राष्ट्रवादलाई अन्तर्मुखी सोचमा व्याख्यासमेत गरेका छन्। तर, नीति निर्माण हुँदा भने 'ग्रोथ'लाई केन्द्रमा राखिने उनको भनाइ छ। 'पपुलिष्ट राष्ट्रवाद भनेको देशभक्ति होइन यसले विभाजन ल्याउँछ। यो गम्भिर पनि हुन्छ, उनले भने- तर, त्यस्तो भन्दैमा यस्ता व्यक्तिहरुलाई दबाउनु पर्छ भन्ने पनि होइन।' उनीहरुको पहिचानको आवाजलाई सुनिदिनु पर्ने उनको भनाइ छ।



यी सबै यथार्थका बीच पनि लोकतन्त्र भारतको सबलता भएको उनले बताए। 'लोकतन्त्रका विभिन्न उतार चढाव हुन्छन् तर, समग्रमा यी सबैका लागि फाइदाजनक छ, उनले भने- यो समतावादी हुन्छ। जनतालाई साथसाथ लैजाने र बजार प्रणालीको कमजोरी पहिचान गर्ने एक श्रेष्ठ व्यवस्था हो।' सिकागो विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक रहेका राजनले उदार लोकतन्त्रलाई सबल राजनीतिक नेतृत्वको रक्षा कवचको संज्ञा दिए।

 

'केही अपवादलाई छाडेर व्यवसायिक नेतृत्वले राजनीतिक नेतृत्वलाई झुकाइ रहेको हुन्छ, उनले भने- त्यसरी विजनेश र राजनीतिक नेतृत्वको स्वार्थ मिलेको अवस्थामा उदार लोकतन्त्र क्रोनी क्यापिटलिजमा परिणत हुन जान्छ।' सिमित व्यक्तिले ठूलो स्रोत साधनमा कब्जा जमाएको अवस्थालाई क्रोनी क्यापिटलिजमको रुपमा बुझ्नु पर्ने उनको भनाइ छ। आमसञ्चार कर्पोरेटहरुको कब्जामा परेको अवस्थामा व्यवसायी र राजनीतिक नेतृत्वमा स्वार्थी सम्बन्ध झाङ्गीने उनले सुनाए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell