काठमाडौं : पहिलो चरणमा मंसिर १० गते भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा मतदान भएका सबै ३१ जिल्लाका मतपेटिका जिल्ला सदरमुकाममा संकलन भइसकेका छन्। अब बाँकी रहेको डोल्पा जिल्लाका ९ वटा मतदान स्थलका मतपेटिका सदरमुकाम ल्याउने कार्य भइरहेको छ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार कूल २ हजार ९१७ मतदानस्थलमध्ये डोल्पा जिल्लाबाट ९ मतदान स्थलका मतपेटिका आउन बाँकी रहेको छ।
डोल्पाका ६६ मतदान स्थलमध्ये से–फोक्सुन्डोबाट ३ वटा र थार्का ताङसोङ्काबाट ६ वटा मतदान स्थलका मतपेटिका लिन हेलिकोप्टर सदरमुकाम पुगे पनि अत्यधिक हावा चलेका कारण उडान हुन नसकेकाले भोलि बुधबार मात्र ल्याउने जानकारी प्राप्त भएको छ।