PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

भक्तपुरमा निर्वाचन आयुक्तले गरे चुनाव प्रचारप्रसारको अनुगमन



पहिलोपोस्ट

भक्तपुरमा निर्वाचन आयुक्तले गरे चुनाव प्रचारप्रसारको अनुगमन

काठमाडौं : निर्वाचन आयुक्त सुधीरकुमार शाहले भक्तपुरमा प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको उम्मेदवारबाट भएको प्रचारप्रसारको स्थलगत अनुगमन गरेका छन्।

आयुक्त शाहले शुरुमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर त्यहाँको निर्वाचनको तयारी, निर्वाचन व्यवस्थापन र समग्र सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए। उनले निर्वाचन आचारसंहिताको पालना कडाइका साथ गराउन, आचारसंहिता विपरीतका प्रसार सामग्री हटाउन र मतदाताले भयरहित वातावरणमा मतदान गर्ने वातावरण सिर्जना गर्न निर्देशन दिएका थिए।

अनुगमनका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै निर्वाचन आयुक्त शाहले दलले आचारसंहिता विपरीत प्रचारप्रसार सामग्रीको प्रदर्शनले मतदातालाई अलमल बनाउने भएकाले त्यस्ता प्रचारप्रसारका सामग्रीलाई तत्काल हटाउन प्रहरी प्रशासनलाई निर्देशन दिएको बताए।

उनले भने– ‘मतदाता कुनै पनि किसिमले प्रभावित हुनुहुँदैन, सडक, सहर र चोकमा भएको भद्दा प्रदर्शनले नगरलाई कुरुप बनाउने काम भएको छ भने निकै मात्रामा प्रसार सामग्री टाँगिएको र प्रदर्शन भएको पाइयो। यो आचारसंहिता विपरीतको कार्य हो।’ धेरै प्रचार प्रसारले मात्रै मतदाता आकर्षित हुन्छन् भन्ने सोच गलत हो भन्दै आयुक्त शाहले मतदाताले आफ्नो अमूल्य मत दिन स्वतन्त्र र स्वविवेकले पाउनु पर्ने धारणा राखेका थिए।

अनुगमनका क्रममा राजनीतिक दलले सडक नै ढाक्ने गरी पार्टीका झण्डा, निर्वाचन चिह्नको तोरण बनाएर सडकको टाँगिएको पाइयो। टोलीले आचारसंहिता विपरीतका त्यस्ता सामग्रीलाई सांकेतिक रुपमा हटाएको छ।

अनुगमन टोलीमा भक्तपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत भोजराज शर्मा, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, जिल्लाका प्रहरी प्रमुख किरण राना, निर्वाचन आयोगका भक्तपुरका लागि खटिएका केन्द्रीय अनुगमनकर्ता पद्मप्रसाद पाण्डे, निर्वाचन अधिकृत उत्तम सिलवाल, जिल्ला निर्वाचन अधिकारी उमेशकुमार राईलगायत सहभागी भएका थिए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell