PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

निःशुल्क उपचार हुने ‘क्षयरोग’, 'जसले दैनिक २० नेपालीको ज्यान लिन्छ'



सागर बुढाथोकी

निःशुल्क उपचार हुने ‘क्षयरोग’, 'जसले दैनिक २० नेपालीको ज्यान लिन्छ'

काठमाडौँ: कालिमाटीस्थित नेपाल क्षयरोय निवारण संस्थामा पुग्दा बिरामीहरु भरिभराउ थिए। रिसेप्सन, जेनेटब ल्याब र ओपिडीमा केही बिरामी लाइनमा थिए। केही डाक्टरसँग परामर्शमा व्यस्त थिए।

क्षयरोय निवारण संस्थाको अस्पताल यस्तो अस्पताल हो जहाँ भर्ना भएका बिरामीको नि:शुल्क उपचार मात्र हैन खाना, खाजा र बस्नका लागि समेत सुविधा छ।



अन्तर्राष्ट्रिय संस्थाहरुको सहयोगमा उपचार गराउँदै अस्पतालले वि.स. २०१० सालदेखि क्षयरोयको उपचार गराउँदै आएको छ।

नेपाल जस्तो न्युन आय भएको देशमा क्षयरोग खतरनाक रुपमा फैलिएको चिकित्सकहरु बताउँछन्। रोगको अनभिज्ञताको कारण वर्षेनि हजारौँ मानिसको ज्यान जाने गरेको छ।

 

के हो क्षयरोग?

क्षयरोग निवारण अस्पतालका डा. चन्दन रमनका अनुसार दुई साताभन्दा बढी समयदेखि खोकी लागिरहने, कहिलेकाहीँ खकारमा रगत देखिने, ज्वरो आउने, तौलमा कमी र खानामा रुचि नहुने जस्ता समस्या भएका मानिसहरुलाई क्षयरोग देखिने सम्भावना बढी हुन्छ।
 

रमन भन्छन्, 'विशेष गरी न्युन आय भएका परिवारमा यो रोग फैलिएको देखिएको छ। कुपोषण, अव्यवस्थित  खानपान र जीवन शैलीका कारण क्षयरोग लाग्छ।'


 

क्षयरोग 'माइक्रोब्याक्टेरियम टयुवरक्लोसिस' नाम गरेको ब्याक्टेरियाले गर्दा हुन्छ। यो ब्याक्टेरियाले मुख्य रूपमा फोक्सोलाई असर गर्छ। तर, क्षयरोग फोक्सोमा मात्रै हुन्न। मिर्गौला, हाड, मस्तिष्क, मेरुदण्ड लगायत शरीरका अन्य अंगमा पनि यो संक्रमणले दुःख दिन सक्छ।

 

कतिको लिन्छ ज्यान

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार, एचआईभीपछि विश्वमा सबैभन्दा बढी मान्छे मार्ने संक्रमण क्षयरोग नै हो। सन् २०१६ मा १० करोडभन्दा बढी (१०.४ मिलियन) मानिसमा क्षयरोग देखियो। तीमध्ये १४ लाख मानिस क्षयरोगका कारण मरे।

डब्लुएचओको अनुसार क्षयरोगका कारण हुने मृत्युको करिव ९५ प्रतिशत हिस्सा न्युन र मध्यम आय भएका मुलुकको रहने गरेको छ। सन् २०१६ मा १० लाख बच्चाहरुमा क्षयरोगको संक्रमण देखिएको थियो। तीमध्ये २ लाख ५० हजार बच्चाहरुको मृत्युको कारण क्षयरोग थियो।

 

जोखिममा को?

डा. चन्दनको अनुसार हावाबाट सर्ने रोग भएकाले क्षयरोगको जोखिम सवै उमेर समूहका मानिसलाई छ। विशेष गरी न्युन आय भएको समाजमा क्षयरोगको संक्रमण बढी देखिएको छ। डब्लुएचओका अनुसार मुख्य रूपमा युवा वयस्कहरूलाई क्षयरोगले प्रभावित पार्छ। १९ वर्षदेखि ४५ वर्षका युवाहरु क्षयरोगको 'रिस्क' जोनमा छन्।
 

एचआईभी संक्रमित व्यक्तिमा अन्य व्यक्तिको दाँजोमा क्षयरोगको जोखिम २५ देखि ३१ प्रतिशत बढी हुन्छ। शरीरको रोग प्रतिरोधक क्षमतामा कमी आएका व्यक्तिमा सक्रिय क्षयरोगले समाउने जोखिम बढी हुन्छ।  त्यसै गरी सुर्तीको उपयोग वा धुमपान गर्ने मानिसहरुमा पनि क्षयरोगको जोखिम उच्च हुने गर्छ। 
 

क्षयरोग हावाका माध्यमले एक व्यक्तिबाट अर्कामा सर्ने गर्छ। फोक्सोको क्षयरोग भएका व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा, थुक्दा क्षयरोगको किटाणु वातावरणमा फैलिन्छ। उक्त किटाणुलाई सासको माध्यमले तान्ने स्वस्थ व्यक्ति क्षयरोगले संक्रमित हुन सक्छ। रोग प्रतिरोधक क्षमता कम भएका व्यक्तिमा क्षयरोग संक्रमणको बढी जोखिम हुन्छ।



दम, निमोनिया, क्यान्सर, एचआइभी र सुगर रोगीहरुलाई क्षयरोगले सताउने सम्भावना भएको डाक्टर चन्दन बताउँछन्।

अन्य क्षयरोगभन्दा जीर्ण क्षयरोग धेरै खतरनाक हुन्छ। डब्लुएचओको तथ्यांक अनुसार ६ लाख 'रिम्पासिस' औषधि प्रतिरोधात्मक क्षयरोगका नयाँ बिरामीहरु पाइएको छ। यस्ता क्षरोगको बिरामी निको हुने औसत दर ४५ प्रतिशत मात्रै छ।
 

डाक्टर चन्दन भन्छन्, ‘क्षयरोगका बिरामीहरु नियमित औषधि नखाने र उपचारको बीचमा हराउने भएका कारण पनि यो रोग नियन्त्रण हुन सकेको छैन्।’
 

क्षयरोग प्राणघातक रोग भए पनि समयमै उपचार गरे यसबाट बच्न सकिन्छ।  गत १६ वर्षमा ५ करोड ३० लाख मानिसहरु क्षयरोगको उपचार गरेर बाँचेका छन्।
 

अन्य देशहरुमा भन्दा भारतमा क्षयरोगीहरु धेरै छन्। इन्डिनेसिया पाकिस्तान र दक्षिण अफ्रिका जस्ता देशहरुले भारतलाई पछ्याइरहेका छन्। नेपालमा यो रोगको संक्रमण र मृत्युदर बढ्दै गएको छ।

 

नेपालमा क्षयरोग

'नेपालमा करिब ८० प्रतिशत क्षयरोग फोक्सोकै कारणले हुने गरेको छ। २० प्रतिशत संक्रमण छात्तीबाहेक अन्य अंगमा हुने गर्छ।
 

चन्दन भन्छन्, 'क्षयरोगको परीक्षण र औषधि देशभर निःशुल्क पाइन्छ। बेलैमा उपचारमा गएर नियमित रूपमा औषधि खाने गरे यसबाट डराउनु पर्दैन।'
 

हाल देशमा १ लाख भन्दा बढी व्याक्तीहरुमा  कुनै न कुनै क्षयरोगको संक्रमण रहेको डाक्टर चन्दन बताउँछन्। ३० हजारभन्दा बढी मानिसहरुले क्षयरोग भए पनि उनीहरुले चेकजाँच गराएका छैनन्। नेपालको कुल वयस्क जनसंख्याको ६० प्रतिशतलाई कुनै न कुनै समयमा क्षयरोगले संक्रमित तुल्याएको छ।
 

नेपालमा क्षयरोगका वर्षेनी ४५ हजार नयाँ बिरामी थपिने गरेका छन्। तीमध्ये ७ हजार यही रोगको कारण मरेका छन्। उक्त तथ्यांक अनुसार दैनिक २० जना क्षयरोगकै कारणले मर्ने गर्छन्। यो अत्यन्तै ठूलो तथ्यांक हो।

 

कसरी बच्ने, उपचार के?

डाक्टर चन्दनका अनुसार क्षयरोगबाट बच्न भीडभाड भएको ठाउँमा र खोकी लागेको मानिसको नजिक जाँदा मास्क लगाउनु पर्छ। हावाबाट सर्ने रोग भएको कारण बाहिर हिड्दा मास्क लगाउँदा राम्रो हुन्छ। त्यसै गरी खानपान सरसफाई र बसोबास गरेको ठाउँमा ध्यान पुर्‍याउने हो भने क्षयरोगको संक्रमण हुने खतरा कम हुन्छ।
 

चन्दनका अनुसार क्षयरोगले नोक्सान भइसकेको फोक्सोको कार्य क्षमता पुनः स्वस्थ व्यक्तिजस्तो हुन सक्दैन। त्यसैले क्षयरोगले फोक्सो बिग्रनुभन्दा पहिला उपचार गराउनु पर्छ।

क्षयरोगीका बिरामीहरुले सुर्ती, धुमपान, मद्यपानबाट एकदमै बच्नुपर्छ। नशा उत्पन्न गर्ने कुनै किसिमको पदार्थ लिनु हुन्न। अन्य खानेकुरा आफूले चाहेको अनुसार नै खान सकिन्छ।
 

फोक्सोको सामान्य क्षयरोगमा ६ महिना औषधि सेवन गर्नुपर्ने भए पनि विशेष परिस्थितिमा चिकित्सकले केही बढी समयसम्म समेत औषधि प्रस्तावित गर्न सक्ने डा. चन्दन बताउँछन्।  क्षयरोगको प्रकृति हेरेर उपचार गर्ने उनको भनाई छ। सामान्य खालको क्षयरोगमा डट्स क्लिनिकमा नियमित २ महिना औषधि खाँदा ठीक हुन्छ भने कडा खलको क्षयरोगको लागि अस्पताल नै भर्ना हुनु पर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell