
राजविराज : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेसले धनुषा क्षेत्र नम्बर ३ बाट विमलेन्द्र निधिको उम्मेद्वारी फिर्ता लिए मात्र लोकतान्त्रिक गठबन्धन सम्भव रहेको बताएका छन्। 'यदी धनुषा–३ मा कांग्रेसले उम्मेदवारी फिर्ता लिन्छ भने अझैपनि लोकतान्त्रिक गठबन्धन सम्भव छ।’
मधेसी गठबन्धनको एउटा घटक रहेका फोरम नेपालका अध्यक्ष यादवले राजविराजमा संचारकर्मीसँग कुरा गर्दै कांग्रेसकै घमण्डका कारण लोकतान्त्रिक गठबन्धन बन्न नसकेको दोहोर्याए। तर उसले अझैपनि गठबन्धनका लागि प्रयास गरिरहेको यादवले बताए।
‘धनुषा–३ मा राजपा नेता राजेन्द्र महतोजी हुनुहुन्छ। हामी कुनैपनी हालतमा सम्झौता गर्न सक्दैनौं' यादवले स्पष्ट पारे। 'यदी कांग्रेसले निधीको उम्मेदवारी फिर्ता लिन्छ भने गठबन्धनको सम्भावना सकिएको छैन।’
धनुषा–३ मा राजपाबाट नेता राजेन्द्र महतो प्रतिनिधिसभा सदस्यको चुनाव लड्दै छन्।
यही मंसीर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा यादव फोराम–राजपा गठबन्धनका तर्फबाट बाट सप्तरी–२ बाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बनेका छन्।
मधेसी गठबन्धनसँग गठबन्धन गर्ने प्रयास गरिरहेको कांग्रेसले पनि यसलाई सकारात्मक रुपमा लिएको र कांग्रेसले धनुषा–३ बाट फिर्ता हुने प्रस्तावलाई स्वीकार गर्ने संकेत देखाएको फोरम अध्यक्ष यादवले बताए। ‘यसका लागि अहिले पनि वार्ता जारी रहेको छ, अहिले नै केहि भन्न सकिन्न।’
यादवले अहिलेको चुनावलाई सामान्य चुनाव मात्र नरहेको प्रतिक्रिया दिए। मधेसी जनताको हक अधिकारका लागि लड्दै आएका आन्दोलनरत पक्ष र सक्षापक्षवीचको प्रतिस्पर्धाका रुपमा यो चुनाव रहेको उनले बताए। सप्तरी–२ मा आफ्नो कसैसंग कुनै प्रतिस्पर्धा नरहेको समेत उनको भनाइ छ।
मधेसी गठबन्धनले धनुषा क्षेत्र नम्बर ३ का उम्मेद्वार राजेन्द्र महतोको पक्षमा मतदानका लागि आह्वान गर्न यही मंसिर १६ गते जनकपुरमा विशाल चुनावी सभा समेत आयोजना गरेको छ।
चुनावी सभालाई राजपाको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, नेता राजेन्द्र महतो, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।