
सोल : संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिकालगायत संसारका धेरै देशको विरोध हुँदाहुँदै उत्तर कोरियाले बुधबार शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ।
विश्व समुदायाको आग्रह र निन्दाकाबीच उत्तरले बुधबार बिहान क्षेप्यास्त्र प्रहार गरेको हो। उत्तर कोरियाले दक्षिणी प्रान्त प्योङ्यानको प्योङसोङबाट क्षेप्यास्त्र हानेको बताइएको छ।
उत्तर कोरियाले अहिलेसम्म गरेका यसअघिका सबै परिक्षणहरुमध्ये यो पछिल्लो क्षेप्यास्त्र सबैभन्दा शक्तिशाली रहेको विश्लेषकहरुले बताएका छन्।
उत्तर कोरियाले गरेको दाबीअनुसार यो अमेरिकी महादेशसम्म नै मार हान्नसक्ने शक्तिको रहेको छ। उक्त क्षेप्यास्त्र ५ हजार ४७५ मिटरको उचाइसम्म पुगेको थियो। यो क्षेप्यास्त्र करिब ५३ मिनेटमा ९५० किलोमिटर टाढासम्म पुगेको थियो।
क्षेप्यास्त्र यसअघि जस्तो जापानी भूभागको माथिबाट नगएपनि जापानी समुद्रमा भने खसेको अनुमान गरिएको छ।
क्षेप्यास्त्रले पार गरेको दूरीको बारेमा केही बताइएको छैन। तर विश्लेषकहरुले उत्तर कोरियाले संयुक्त राज्य अमेरिकाको भूमिसम्म मार हान्ने क्षमताका क्षेप्यास्त्रहरुको विकास उसले गरिरहेकोले यस पटकको परीक्षण पनि यस्तै शक्तिको भएको जनाएका छन्।
यसअघि गत अप्रिल महिनामा पनि उत्तर कोरियाले एउटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो। त्यो क्षेप्यास्त्र पनि निकै शक्तिशाली भएको बताइएको थियो।
उसले यो वर्षको जुलाई महिनामा पहिलो पटक अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो। उत्तर कोरियाको आणविक कार्यक्रमबारे विश्वव्यापी रुपमा नै तनाव बढिरहँदा यो फेरि अर्को क्षेप्यास्त्र हानेको छ।
क्षेप्यास्त्र परीक्षणको विश्वव्यापी रुपमा विरोध भएको छ। अमेरिका, दक्षिण कोरिया, जापान र संयुक्त राष्ट्रसंघले पनि यसको निन्दा गरेका छन्।
हामी आणविक शक्तिराष्ट्र भयौँ– उन
यसैबीच उत्तर कोरियाली नेता किम जोङ उनले आफू आणविक शक्तिराष्ट्र भएको घोषणा गरेका छन्। उनले बुधबार उत्तर कोरियाले गरेको आणविक परीक्षणको निरीक्षणपछि यस्तो घोषणा गरेका हुन्।
निरीक्षणपछि उनले भने– आजको परीक्षण निकै शक्तिशाली छ, यसले अमेरिकाको सबै भूभागसम्म हान्न सक्छ, त्यसैले म आज गर्वका साथ यो भन्न सक्छु कि हामी अब भने आणविक शक्तिराष्ट्र भएका छौँ।
यसले आफ्नो देशलाई अमेरिकाको जस्तोसुकै आक्रमणका विरुद्धमा पनि बचाउन सक्ने अवस्था रहेको पनि उनले बताएका थिए।
बुधबार परीक्षणपछि उनले ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणस्थलको निरीक्षण गर्नुका साथै यसको क्षमताको बारेमा पनि जानकारी लिएका थिए।
त्यस क्रममा उनले उक्त क्षेप्यास्त्र परीक्षणमा संलग्न अधिकारीहरुलाई धन्यवाद पनि दिएका उत्तर कोरियाली समाचार समिति, केसिएनएले जनाएको छ।
संयुक्त राष्ट्रसंघीय महासचिवको विरोध
यसैबीच, उत्तर कोरियाले गरेको परीक्षणको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले कडा शब्दमा विरोध गरेका छन्।
उनले बारम्बारको संयुक्त राष्ट्रसंघ तथा विश्व समुदायको आग्रहको बेवास्तागर्दै गरेको यो आणविक परीक्षण विश्व शान्तिका लागि पनि एक चिन्ताजनक घटना भएको बताएका छन्।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ– यो विश्व शान्तिको राष्ट्रसंघीय मान्यताको पूरै रुपमा विरुद्धमा छ र यसले राष्ट्रसंघ तथा विश्व समुदायको शान्तिको चाहनाको अपमान गरेको छ।
यस क्षेप्यास्त्र परीक्षणको घटनाको विश्वव्यापी रुपमा विरोध भएको छ । अमेरिका, दक्षिण कोरिया, जापान र संयुक्त राष्ट्रसंघले पनि यसको निन्दा गरेका छन्।
जापान र दक्षिण कोरियाले त ती देशका रक्षासम्बन्धी आकस्मिक बैठकहरु पनि आह्वान गरेका छन्। बुधबार मन्त्रिपरिषदका आकस्मिक बैठकहरु पनि बोलाइएको जनाइएको छ। रासस/एएफपी