
काठमाडौं : सुलेमान शंकरको प्रस्तुतीमा बनेको नेपाली चलचित्र ‘फिर्के’को ट्रेलर सार्वजनिक गरिएको छ। बुधवार राजधानीमा कार्यक्रम गरी ट्रेलर सार्वजनिक गरिएको हो।
कमेडी जनरामा बनेको चलचित्रको ट्रेलर पनि कमेडी नै छ। गाउँदेखि सहर पसेको एक सिधा युवाको कथामा ‘फिर्के’ बनेको छ। पुस २१ गते रिलीज हुने ‘फिर्के’मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, विष्णु सापकोटा, अर्जुन गुरुङ, उज्ज्वल भण्डारी, पुरन थापालगायतका कलाकारको अभिनय रहेको छ।
यो चलचित्रलाई २७ वर्ष कला क्षेत्रमा रहेर काम गरेका रवि डंगोलले निर्देशन गरेका छन्। छ वटा नेवारी (नेपाल भाषा)का चलचित्र निर्देशन गरेर तितो सत्य, जिरे खुर्सानीलगायतका टेलिसिरियलमा ‘बेमान’को नामले परिचित रविले पहिलो नेपाली भाषाको चलचित्र निर्देशन गरेका हुन्।
यसअघि ‘ईकु’ र ‘ईकु २’ चलचित्रका निर्मातासमेत रहेका कलाकार सुलेमान शंकरले ‘फिर्के’मा ईकु भन्दा फरक भूमिकामा अभिनय गरेका छन्। यो चलचित्रका निर्माता ओमलाल गुरुङ् र राजेश श्रेष्ठ हुन्। चलचित्रमा अभिमन्यू निरबीको लेखन रहेको छ।
अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डि। गुरुङको सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ। चलचित्रलाई काठमाडौं उपत्यकामा गोपाल कायस्थ र मोफसलमा एफ डि कम्पनीले वितरण गर्दैछन्।