PahiloPost

May 14, 2024 | १ जेठ २०८१

चुनावी मैदानमा विस्फोटको राजनीति, चन्दादेखि बुथ क्याप्चरसम्मको रणनीति



बीपी साह

चुनावी मैदानमा विस्फोटको राजनीति, चन्दादेखि बुथ क्याप्चरसम्मको रणनीति

काठमाडौं : गत शनिबार साँझ जनकपुरधामको रंगभूमि मैदानमा विस्फोट भयो। विस्फोटको चर्को आवाज नसकिँदै केही व्यापारीहरुको फोनमा घण्टी बज्यो।

कहिल्यै नामै नसुनेका संगठन र त्यसका नेता भएको दाबीसहित चन्दाका लागि विस्फोटसँगै फोन बजिरहे। बमसँग फोनको आतंक जनकपुर उद्योग वाणिज्यसंघका पदाधिकारीसम्मै पुग्यो। 

‘जनकपुरधाममा बम विस्फोट भएकै रात चन्दाका लागि फोन आयो नामै नसुनेको संगठनबाट। मलाई त यहाँका उम्मेदवारहरुमाथि नै शंका लाग्यो,’ एक व्यवसायीले पहिलोपोस्टसँग भने, ‘उम्मेदवारकै मान्छे हुनुपर्छ चन्दा माग्ने। सशस्त्र समूहको नाममा चन्दा माग्नसमेत कम भएको बेलामा यस्तो फोन आएको छ। मलाई मात्र होइन अन्य मित्रहरुलाई पनि फोन आउन थालेकाले शंका भयो।’

मधेशका सशस्त्र समूहरुले बम विस्फोटको जिम्मेवारी पहिले पनि लिने गरेका थिए। उनीहरुले बम तथा बन्दुकको त्रास देखाएर चन्दा उठाउँदै आएका पनि थिए। तर निर्वाचन नजिकिँदा त्यस्ता घटना कमै सुनिएका थिए जुन यतिखेर सुनिएको छ। यसपटक निर्वाचन नजिकिँदै जाँदा भूमिगत जयकृष्ण गोइतको समूहबाहेक अन्य समूह सक्रियसमेत देखिएका छैनन तर चन्दाको त्रास फैलिसकेको छ। 

स्थानीय निकायको निर्वाचनताका रुपन्देहीमा एक समूहको चर्चा भएको थियो चन्दाकै लागि तर त्यो समूह केही दिनमै बिलायो। 

राजनीतिक दलका उम्मेदवारले सोझै चन्दा मागेर व्यपारीहरु पहिले नै पीडित छँदैछन्। त्यसमाथि विस्फोटसँगै आउने फोनले आतंकित बनाएको छ। 

धनुषा प्रहरी स्रोतका अनुसार आधिकारिक रुपमा व्यापारीले उजुरी नदिएकाले छानविन प्रक्रिया अगाडि बढाउन सकिएको छैन। तर, बम विस्फोटका घटनामाथि प्रहरीले अनुसन्धान गर्दै सुरक्षा व्यवस्था कडा पारिएको धनुषा प्रहरीको भनाइ छ।

नेपाल प्रहरीका प्रवक्ता डीआइजी मनोज न्यौपाने चुनावको मुखमा त्रास मचाउन केही समूहले विस्फोट गराउने गरेको बताए। बम आतंक मच्चाएर त्रास फैलाउने र त्यसपछि आफ्नो स्वार्थपूर्ति गर्ने प्रवृत्ति रहेको न्यौपानेको भनाइ छ।

सुरक्षाविदहरु निर्वाचनको वर्षमा अपराधिक घटना बढ्ने गरेको बताउँछन्। कतिपय स्थानमा आतंक मच्चाएर निर्वाचनको वातावरण आफ्नो पक्षमा पार्न खोज्नेहरु सक्रिय हुने उनीहरुको तर्क छ। 

प्रहरीको तथ्यांक अनुसार निर्वाचन हुने आर्थिक वर्षमा अपराधिक घटनाहरु बढ्छन्। नेपाल प्रहरीको तथ्यांक अनुसार २०७० को निर्वाचन वर्षमा २१ प्रतिशतले अपराध बढेको छ। त्यसअघिको वर्षमा मात्र चार दशमलव ९ प्रतिशतले अपराधिक घटना बढेको थियो। पुनः निर्वाचन पछिको वर्ष अर्थात २०७१/०७२ मा दुई दशमलब ५ प्रतिशतले मात्र अपराध वृद्धि भएको छ। 

निर्वाचनसँगै बम विस्फोटसहित अपराधका घटना बढ्नुका कारण बारे सुरक्षा विज्ञ गेजा शर्मा वाग्लेले भने, ‘मुख्य त निर्वाचन नचाहनेहरुले आपराधिक घटना गर्ने गरेका छन्। पछिल्लो निर्वाचनहरुमा पनि निर्वाचन विरोधीहरुले बम विस्फोटका घटना गराएका थिए।’

वाग्लेका अनुसार अहिलेका घटनाहरु उम्मेदवार केन्द्रित छ। उम्मेदवार केन्द्रित घटनाहरुले निर्वाचनमा खासै असर नपार्ने उनको दाबी छ। धेरैजसो विस्फोटमा नेत्रविक्रम चन्द 'विप्लव'को समूह संलग्न रहेको देखिनुलाई शर्मा राजनीतिक केन्द्रित मान्छन्। विप्लव समूहले चन्दाका लागि पनि बम विस्फोट गराइरहेको प्रहरी स्रोतको दाबी छ।

निर्वाचनका समयमा यस्तैखाले आतंक सृजना गरेर बुथ कब्जा गर्ने रणनीति पनि हुन सक्छ जसमा उम्मेदवारहरु आफैँ सक्रिय हुनसक्छन्। आफ्नो निर्वाचन क्षेत्रलाई अति संवेदनशील बनाएर मतदातालाई मानसिक त्रास दिन दलका नेता नै लाग्न सक्ने पनि देखिन्छ। 

विस्फोट हुनसक्ने त्रासले मतदाता मतदान केन्द्र नजाने र त्यहाँ बुथ कब्जा गर्ने सम्भावना पनि उत्तिकै छ। सुरक्षाविद वाग्ले मानोवैज्ञानिक त्रास देखाएर बुथ कब्जाका लागि पनि निर्वाचनको समयमा अपराधिक घटना हुने गरेको बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell