
कास्की : प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्टहरुले वाम गठबन्धनको नाममा राज्यसत्ता कब्जा गरी एकतन्त्रीय तानाशाही व्यवस्था लागू गर्न खोजेका आरोप लगाएका छन्।
पोखराको अमरसिंहचोकमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र र कम्युनिष्ट शासनमध्ये कुनै एक रोज्ने अधिकार जनताको हातमा रहेको बताए।
‘यदि वाम गठबन्धनको नाममा कम्युनिष्टहरुले बहुमत ल्याए भने एकतन्त्रीय तानशाही व्यवस्था लागू गर्छन्, त्यसमा जनतालाई लेखपढ गर्ने अधिकार हुँदैन, आफ्नो सम्पति माथिको अधिकारसमेत हुने छैन’ प्रधानमन्त्रीले भने,‘मुलुकको समृद्धि र विकास चाहने हो भने कांगे्रसलाई जिताउनुको विकल्प छैन।’
प्रधानमन्त्रीले कम्युनिष्ट शासन आए बोल्न–लेख्न नपाइने र आफूमाथि अन्याय हुँदा पनि सहेर बस्नुपर्ने अवस्था आउने बताए।
कांग्रेसले मुलुकमा बहुदलीय लोकतन्त्र स्थापना गरेको भन्दै मुलुकको विकास र समृद्धिका लागि कंँग्रेसलाई बहुमतसहित जिताउन आग्रह गरे।
जनतालाई डर–त्रास र आतंकमा पिल्सिने शासन नरोज्न आग्रह गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रको रक्षाका लागि कांग्रेसलाई जिताउन सवै लोकतन्त्र पक्षधर एक हुनु पर्नेमा जोड दिए।
२००७ सालमा तानाशाही राणा शासन हटाएको, पञ्चायती व्यवस्था फालेर प्रतातन्त्र पुनः स्थापना गरेको भन्दै प्रधानमन्त्रीले तत्कालिन राजा ज्ञानेन्द्र शाहले शासन सत्ता हातमा लिएपछि कांग्रेसकै नेतृत्वमा सुरु भएको आन्दोलनले मुलुकमा गणतन्त्र स्थापना गरेको बताए।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांगे्रसको अगुवाईमा मुलुकमा राजनीतिक स्थायित्व आएको दाबी गर्दै अब समृद्धिको अभियान चलाउने बताए।
पौडेलले कम्युनिष्टहरुले नेपालमा जातीय साम्प्रदायिकता फैलाउन खोजेको आरोप लगाए।