PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण बनाउन सबै पक्षसँग सञ्चारमन्त्रीको आग्रह



पहिलोपोस्ट

दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण बनाउन सबै पक्षसँग सञ्चारमन्त्रीको आग्रह

काठमाडौं : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले प्रतिनिधिसभा तथा प्रदेशसभाको पहिलो चरणको निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको बताउँदै दोस्रो चरण पनि सहज, निर्भय र शान्तिपूर्ण बनाउन सहयोग गर्न राजनीतिक दल, सञ्चारकर्मी र सम्बद्ध सबै पक्षसँग अनुरोध गरेका छन्।

नेपाली कांग्रेसका नेता एवं सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका मन्त्री बस्नेतले मुलुकले अहिले कठिन चरण पार गर्न खोजिरहेको उल्लेख गर्दै यसपछि लोकतन्त्र स्थिर हुने विश्वास व्यक्त गरे।

उनले संविधानको कार्यान्वयन चुनावको महत्वपूर्ण उद्देश्य रहेको र संविधान बनाउन दलहरुबीच एकता कायम भएजस्तै कार्यान्वयनमा पनि एकता हुनुपर्ने बताए।


नेपाल सरकारका प्रवक्ता मन्त्री बस्नेतले नेपाली जनता लोकतन्त्रको पक्षमा रहेको र एकदलीय सोचलाई बारम्बार नकारेको इतिहासको स्मरण गराउँदै भने– ‘यदि कसैले एकदलीय शासनको अपेक्षा राखेको भए त्यो नेपाली जनतालाई अस्वीकार्य भएको बुझ्न आवश्यक छ।‘

सञ्चार मन्त्रालयको आफ्नै कार्यकक्षमा सरकारी सञ्चारमाध्यमका प्रमुखसँग कुराकानी गर्दै मन्त्री बस्नेतले राज्य सञ्चालित सरकारी सञ्चार माध्यमले पत्रकारिता क्षेत्रमा अभिभावकको भूमिका र दायित्व निर्वाह गर्नुपर्ने निर्देशन पनि दिए।

उनले भने – ‘सरकारले गरेका राम्रा काम र नीतिगत निर्णयहरु जनतासमक्ष पुर्‍याउनु मुलुकको समग्र पत्रकारिताको भूमिका हो। यस काममा सरकारी सञ्चार माध्यमले थप सक्रिय भई दायित्व निर्वाह गर्नुपर्छ।’


सरकारद्वारा सञ्चालित सञ्चार माध्यमले निष्पक्ष र तटस्थ शैलीमा समाचार र विचार प्रवाह गर्नुपर्नेमा जोड दिँदै मन्त्री बस्नेतले यी माध्यममा दलीय पक्ष लिएर समाचार सामग्री प्रवाह भएको पाइनु भनेको आफ्नो कर्तव्य नबुझ्नु हो भनेका थिए। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell